प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की

आजै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी

डिसी नेपाल
२४ पुष २०७९ ११:३४

काठमाडौं । प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज बेलुकी ५ बजेभित्र दाबी गर्न आह्वान गरेका छन्।

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजात तयार भइसकेको र दिउँसोसम्ममा दाबी पेश गरिने एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले डिसी नेपाललाई जानकारी दिए। ‘हामीलाई माओवादी, राप्रपा र जसपाको समर्थन हुन्छ । कागजातहरुको तयारी सकिएको छ । साँझसम्म दाबी पेश गर्छौं,’ उनले भने ।

मुख्यमन्त्रीको दाबी पेशसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिएको सांसद अधिकारीले जानकारी दिए। त्यसका लागि आजै गठबन्धनबीच छलफल हुँदैछ । एमालेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा रहेका सत्तारुढ दलहरू बाँकी मन्त्रालय र सभामुख उपसभामुखको भागबन्डाको तयारीमा छन् ।

प्रदेश १ प्रदेशसभामा ९३ सांसद छन्। सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ । एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेशसभा सांसदको समर्थनमा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *