बेलायतका मन्त्रीले प्रयोग गर्ने सरकारी कारमा चिनियाँ लोकेशन ट्रयाकर भेटियो

डिसी नेपाल
२४ पुष २०७९ १७:१८
108
Shares

काठमाडौं । बेलायतको सरकारी कारमा चिनियाँ लोकेशन ट्र्याकर फेला परेको छ । बेलायती मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र कूटनीतिज्ञहरूले यो कार प्रयोग गर्थे। यो ट्रयाकर भेटिएको कारको भाग चीनबाट आयात गरिएको थियो। यस्तो अवस्थामा चीनले बेलायती मन्त्री र अधिकारीमाथि ठूलो मात्रामा निगरानी गरिरहेको आशंका गरिएको छ ।

यो खुलासापछि कन्जरभेटिभ पार्टीका वरिष्ठ सांसद इयान डंकन स्मिथले अब चीनलाई खतराका रूपमा हेर्ने समय आएको बताएका छन् । यसैबीच, चिनियाँ दूतावासले यी आरोपहरूको खण्डन गरेको छ। दूतावासका प्रवक्ताले भने कि हामी चिनियाँ कम्पनीहरूमाथि लगाइएका यस्ता आरोपको विरोध गर्छौं।

बेलायतको न्युज आउटलेट आइन्युजको रिपोर्ट अनुसार धेरै सरकारी गाडीमा जासुसी उपकरण भएको आशंकामा चेकजाँच गरिएको थियो। यी सवारी साधनहरू पूर्ण रूपमा खोलिएका थिए र प्रत्येक भाग अलग गरिएको थियो। साना नट र बोल्ट पनि जाँच गरियो। यस क्रममा कारको एक भागमा एउटा सिम भेटियो जसले कारको लोकेशन ट्र्याक गरेर चीनमा डाटा पठाउन सक्छ। यो भाग चीनबाट ल्याइएको हो र कार कम्पनीले फिट गरेको हो।

चीनबाट आएको यो पार्ट वारेन्टी र अन्य सम्झौताका कारण नखोल्ने गरी गाडीमा जडान गरिन्छ । त्यसैले भित्र ट्र्याकर रहेको जानकारी पाउन सकिएको थिएन । तर चेकिङका क्रममा गाडीको सानो भाग खोल्दा त्यसभित्र सिम रहेको पाइयो । यस्तो यन्त्रमार्फत सरकारी सवारीसाधनलाई लामो समयसम्म निगरानी गर्न सकिन्छ । कारमा चलिरहेको कुराकानी यस उपकरणबाटै सुन्न सक्ने आशंका पनि थियो ।

पछिल्ला केही महिनाहरूमा बेलायतमा धेरै नयाँ सुरक्षा उपायहरू ल्याइएका छन्। अब मन्त्रीहरूका लागि काम गर्ने कर्मचारीहरू रसिया वा चीनसँग कुनै पनि सम्बन्धको लागि छानबिन गरिनेछ। मन्त्रीहरूलाई कम्प्युटर नेटवर्कबाट चिनियाँ उपकरणहरू हटाउन सल्लाह दिइएको थियो।

सुरक्षा स्रोतहरूले कार उद्योगमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा चिन्ता व्यक्त गरेका छन्। सबैभन्दा चिन्ताको विषय इलेक्ट्रोनिक कन्ट्रोल इकाइहरू हुन्। यी धेरैजसो चीनबाट मात्र आयात हुन्छन्। स्रोतका अनुसार यी पार्ट्सलाई सिमकार्डसहित ट्र्याकिङका लागि पठाइन्छ ।

बीएमडब्लु, भक्सवागन, भोल्भो र जगुआर, ल्याण्ड रोभर जस्ता कम्पनीहरूले चाइनिज युनिकमसँग गाडीहरूका लागि फाइभजी कनेक्टिविटी विकास गर्न काम गरिरहेका छन्। यसले पनि जासुसीको सम्भावना बढाएको छ। यो कम्पनीलाई राष्ट्रिय सुरक्षामा खतरा देखिएपछि अमेरिकाले २०२१ मा प्रतिबन्ध लगाएको थियो।

अमेरिकी सिनेटले राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै एउटा विधेयक पारित गरेको छ । जसमा सरकारी कर्मचारीले टिकटक चलाउन प्रतिबन्ध लगाउने भनिएको छ । अमेरिकी अधिकारी र दुबै प्रमुख दलका नेताहरूले टिकटकको काम गर्ने तरिकामा धेरै प्रश्न उठाएका थिए ।

अस्ट्रेलिया, फ्रान्स र बेलायतलगायत १५ देशका सांसद र विधायकहरूको समूहले केही चिनियाँ कम्पनीहरूसँगको व्यापार बन्द गर्न माग गरेका छन् । तिब्बत, उइगर र अन्य धेरै क्षेत्रका अल्पसंख्यकहरूको डीएनए सङ्कलन गर्न चिनियाँ सरकारलाई सहयोग गर्ने यी कम्पनीहरू हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *