प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै एमालेले मन्त्री बनाउने

डिसी नेपाल
३ माघ २०७९ ९:५८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन्। नयाँ मन्त्रीको सपथ ग्रहण कार्यक्रम आजै दिउँसो एक बजेलाई राखिएको छ।

सोमबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्ता साझेदार दलले पाउने मन्त्रालयको टुंगो लगाएको थियो। जस अनुसार नेकपा एमालेले आठ मन्त्रालय पाउने तय भएको छ। यसअघि नै एमालेले एक उपप्रधानमन्त्रीसहित चार जनालाई सरकारमा सहभागी गराइसकेको छ। अब चार जना मन्त्रीले आज सपथ लिँदै छन्।

एमालेले लगातार दुई पटक चुनाव जितेका र यसअघि अवसर नपाएकालाई मन्त्री बनाउने नीति लिएको छ। साथै यसले पहिलो चरणमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ।

एमाले उच्च स्रोतका अनुसार आज कास्की-२ बाट चुनाव जितेकी विद्या भट्टराई,  पर्वतबाट चुनाव जितेका पदम गिरी, झापा-२ बाट चुनाव जितेका देवराज घिमिरे,  रुपन्देही-१ बाट चुनाव जितेका छविलाल विश्वकर्मा र लमजुङबाट चुनाव जतेका पृथ्वी सुब्बा गुरुङ मन्त्री बन्ने संभावना छ। यद्यपी घिमिरे, गुरुङ र विश्वकर्मा सभामुखमा आकांक्षी हुन्।

‘मन्त्री छान्ने जिम्मा अध्यक्ष कमरेडलाई नै दिइएको छ,’ अध्यक्ष केपी ओली निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘छविलालजीले सभामुख नपाउने अवस्था भयो भने उहाँ मन्त्री हुने पक्का छ। पिएस कमरेड र देवराज घिमिरेको पनि मन्त्री बन्ने चर्चा छ।’ यद्यपि मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई नै दिएका कारण अन्तिम अवस्थामा यी नाम हेरफेर हुन सक्ने स्रोतले जनाएको छ।

यसअघि एमालेले सातै प्रदेशबाट मन्त्री बनाउने बताएको थियो। तर अहिले प्रदेशमा पनि एमालेले सरकारको नेतृत्व गरेको र कतिपय प्रदेशमा सरकरमा सहभागी भएकाले प्रदेशै पिच्छे मन्त्री हुने संभावना नरहेको जनाइएको छ।

एमालेले प्रत्यक्षतर्फ कर्णाली प्रदेशमा एक सिट पनि जितेको छैन। र, समानुपातिकलाई मन्त्री बनाउने तत्काल नीति नभएका कारण कर्णाली प्रदेशबाट मन्त्री हुने संभावना छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *