चुनावपछिको राजनीति र सरकारको संरचना

शंकरप्रसाद रिजाल
४ माघ २०७९ १०:३५

२०७९ सालको आम चुनाव पछि नेपालको राजनीतिमा केही फेरबदल आएर मुलुक र जनतो केही राहत र परिवर्तनको अनुभव गर्छन् भन्ने थियो, तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गरेको मन्त्रिपरिषद विस्तारपछि जनताको आशा र अपेक्षमा तुषारापात भएको छ।

नयाँ राजनीतिक दलप्रति जनताले निकै भरोसा गरेका थिए। उनीहरुको भनाइ र गराइमा एकरुपता होला भन्ने अनुमान गरेका थिए। तर, सत्तामा सहभागी भएसँगै उनीहरुप्रति अब जनताले भरोसा गर्न बेकार हुने स्थिति देखिएको छ।

भ्रष्टाचार र सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका नयाँ राजनीतिक दलले विभागीय मन्त्रीको जिम्मेवारी दिँदा गरेको बेवास्ताले जनतामा निरासशा उत्पन्न भएको छ। ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली आहानलाई चरितार्थ गर्दै नयाँ राजनीतिक दलले मन्त्री नियुक्त गरेपछि जनताको मनमा चिसो पस्नु स्वभाविकै हो।

राजनीतिमा नैतिकता र इमान आवश्यक मानिन्छ। तर नेपालमा सत्तालाई सबैथोक मान्ने परिपाटी विगतदेखि नै हावी छ। सत्तामा पुग्न जेसुकै र जस्तो सुकै निर्णय गर्न पछि नपर्ने राजनीतिक दल र नेतृत्वबाट अब जनताले के अपेक्षा गर्ने?

चुनावमा एउटा गठबन्धनबाट चुनाव जित्ने र निर्वाचन परिणाम पछि अर्को गठबन्धनमा सहभागी भएर सरकार बनाउने गैरजिम्मेवारपन नेतृत्वमा रहेसम्म देशमा विकासको गति अगाडि बढ्न सक्दैन।

प्रधानमन्त्री नपाएपछि अर्को गठबन्धनमा गएर इखै इखले बनेको सरकारको रंग न ढंगको संरचना र बेढंगको भाषणले अब जनताको चाहना पूरा हुँदैन।

राजनीतिलाई उन्नत तरिकाले लैजाने हो भने कांग्रेस ‘कांग्रेस’ भएर रहनुपर्छ। सिद्धान्त र बिचारमा अडिग रहनु पर्दछ। एमाले ‘एमाले’ भइ एकजुट भएर आफ्नो सिद्धान्तमा अडिग रहनु पर्दछ र अन्य नयाँ पार्टीहरु पनि आ–आफ्नो दर्शन अनुसार हिड्नु पर्दछ।

चुनावमा पैसाको खोलो बगाउने र आर्थिक र भौतिक प्रलोभनमा पारेर जनमत आफ्नो पक्षमा पार्दै चुनाव जितेर आउने दलका उम्मेदवारसँग अब के अपेक्षा गर्ने?

चुनावअघिसम्म केपी ओलीलाई प्रगितगनमो नाइकेका रुपमा प्रस्तुत गर्दै जनतामा गएर चुनाव जितेर आएपछि अहिले फेरि तीनै ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड सत्ता र शक्तिको लागि जे पनि गर्न पनि नपर्ने नेताका रुपमा चित्रण भएका छन्।

तै पनि प्रचण्डले यो कार्यकाल जनताले सम्झन लायक बनाउने बताएपछि जनताका आशाको सञ्चार भएको थियो। मंगलबार मन्त्रिपरिषद विस्तारमा उनले समेटेका केही विवादित अनुहार हेरेपछि यो सरकारबाट धेरै अपेक्षा गर्नु मुर्खता मात्रै हुने हो कि भन्ने चिन्ता बढेको छ।

ठेकेदारलाई शहरी विकास मन्त्रालय र म्यानपावर एजेन्टलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएपछि यो सरकारबाट थप अपेक्षा गर्नु उचित हुँदैन।

कांग्रेससँगको गठबन्धन १५ वर्षसम्म अगाडि लैजाने वाचा गरेका प्रचण्ड आज एमालेसँग गठबन्धन गर्न आइपुगेका छन्। प्रचण्ड भोलि कुन बेला एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग मिल्न जाने हुन् ओलीलाई समेत थाहा नहुन सक्छ।

आफ्नो आर्दश र नौतिकतालाई तिलाञ्जलि दिन माहिर प्रचण्डले यो पटक पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिए भने सपथ ग्रहणमा दौरा सुरुवाल लगाउन तयार भए।

यसलाई कतिपयले माओवादीको पतनका रुपमा लिएका छन्। तर, यो प्रचण्डको परिपक्व निर्णय थियो। कमसेकम राष्ट्र निर्माताको महत्व दश वर्षे जनयुद्धका कमाण्डर प्रचण्डले बुझेछन्।

कतिपयले प्रचण्डको यो रवैयाले देशमा लोकतन्त्रिक गणतन्त्र छ कि राजतन्त्र भनेर छुट्याउन गाह्रो भएको टिप्पणी गरेका छन्। अहिले नयाँ गठन भएका राजनीतिक दल र आफूलाई फरक राजनीतिक दलका रुपमा व्याख्या गर्ने दल पनि सरकारमा सहभागी भएका छन्।

उनीहरुले केही फरक काम गरेको देखाउन सार्वजनिक बसमा यात्रा गरेर चटक देखाउन थालेका छन्। यो सरकारलाई कतिसम्म आइसञ्चो छ भने प्रतिपक्षमा बस्नु पर्ने नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ। अब संसद प्रतिपक्षविहीन हुने अवस्थाको सृजना भएको छ। यो कस्तो राजनीति हो? यो कस्तो लोकतन्त्र, यो कस्तो गणतन्त्र हो?

संसार आज हाम्रो राजनीतिक संस्कार, चरित्र र संस्कृति देखेर छक्क परेको छ। आज सरकार भित्र अनेकौं मतमतान्तर रहेका पार्टीहरु एकत्रित भै खिचडीको रुपमा प्रस्तुत भएका छन्। आफ्नो एजेण्डा छोडेर सरकारमा बसेर चिच्याइरहेका छन्।

सरकारको नेतृत्व माओवादीले लिए पनि यो कसको सरकार भन्ने कुरा आज भित्र गर्भमा लुकेको छ। जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल मात्र यो सरकारको बिपक्षमा खरोसँग उभिएका छन्।

के संसदमा दुई जनाको आवाजले प्राथमिकता पाउला? यो सबै हेर्दा आजको चुनाब पछिको राजनीति र सरकारको संरचना झन् एउटा भिडको राजनीति र भिडकै सरकारको संरचना बन्न पुगेको छ।

प्रजातन्त्र आएको ७२ वर्षपछि पनि देशको राजनीति र सरकारको संरचनाले बिष वमन गरिरहेको देख्दा आज राजतन्त्रका राजनेता राजा महेन्द्र, कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई माथि आकासमा रोइरहेका होलान्।

प्रजातन्त्रको लागि जीवन आहुति दिने सहिद गंगालाल, शुक्रराज, धर्मभक्त र दशरथ चन्दहरु छाती पिटी पिटी रोइरहेका होलान्। कमुनिष्ट आन्दोलनका प्रखर नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीर जीवित नेता राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीहरु के सोचिरहेका होलान्?

यहाँ कसको पछि को लाग्ने र कसको कसको कुरा कसले सुन्ने हो, कसको राजनीति कसले बुझ्ने र कसको मतिभित्र को पस्ने हो छुट्याउनै गारो छ।

त्यस्तै यहाँका कांग्रेस र कम्युनिष्टका प्रखर भुइँ नेता तथा विद्वानहरु “किम कर्तब्य बिमुढ” बनी घोत्लिइरहेका होलान्, चुनाव पछिको राजनीति र सरकारको संरचना हेर्दा।

यो सबै राजनीतिको कुरूप दृश्य र सरकारको संरचनाको अनमेल समागमनले भोलिको परिणाम के निस्किन्छ। कसैले पनि अन्दाज लगाउन सक्ने स्थिति छैन।

प्रधान न्त्री प्रचण्डको ढुलमुले नीति, सिद्धान्तविहीनको राजनीति, अन्तिम प्रधानमन्त्री बन्ने जालसाजी र सबै पार्टीको बीच बीचमा टेकेर हिँड्ने प्रबृत्ति, केपी ओलीको जालसाजीको राजनीति, शेरबहादुर देउवाको उदेक र उराठ लाग्दो बेहोसको राजनीति, हालैको माधवकुमार नेपालको मुसा प्रवृत्तिको राजनीति र तराइका बिभिन्न स्वार्थी पार्टीहरुको खाली सरकार भित्र घुस्ने राजनीतिले देशको समष्टिगत राजनीतिको रंगमञ्चमा के परिवर्तन आउँछ, त्यो कसैले पनि अनुमान गर्न सक्तैनन्।

यस्तो राजनीतिक प्रवृत्तिले आजका कुन चाहीँ नेतालाई विश्वाश गर्ने हो र भोलि यिनीहरुको गति के हुने हो ? हिजोको कांग्रेस आज माओवादीमा मिल्ने, हिजोको गणतन्त्र ल्याउन कसम खाएका माओवादी कांग्रेसमा मिल्ने, त्यस्तै हिजोको एमाले र एमालेका नेताहरु बीच सिद्धान्तमा नभई रिस र तुसमा भिन्न रहने र सधैं वाकयुद्ध गरी एकले अर्कालाई गन्दै नगन्ने प्रवृत्तिले देशको राजनीतिको बिकास कहिले र कुन रुपमा हुने हो यो आजका यूट्युबे राजनीतिक विश्लेषकको अन्दाज र अड्कलमा मेल नखाने कुरा सिद्ध भएको छ।

आजको नेपालको उदेक लाग्दो राजनैतिक समीकरणले बनेको सरकार र बाँडी चुँडी अढाइ अढाइ बर्षको प्रचण्ड र केपी ओलीको नेतृत्वको सरकार बीच बीचमा च्याँखे थाप्ने कांग्रेसको लोभी प्रवृत्तिले देशको राजनीति र सरकारको संरचना स्थिर रहन्छ भन्नेमा विश्वास गर्न सकिँदैन।

यदि यस्तै रवैयाको गति बढ्दै जाने र नेताहरुको सोचमा कुनै फेरबदल नाउने हो भने भोलिका दिनमा नेपालमा राजनीति र सरकारप्रति जनताको भरोसा टुट्ने देखिन्छ।

तसर्थ राजनीतिलाई उन्नत तरिकाले लैजाने हो भने कांग्रेस ‘कांग्रेस’ भएर रहनुपर्छ। सिद्धान्त र बिचारमा अडिग रहनु पर्दछ। एमाले ‘एमाले’ भइ एकजुट भएर आफ्नो सिद्धान्तमा अडिग रहनु पर्दछ र अन्य नयाँ पार्टीहरु पनि आ–आफ्नो दर्शन अनुसार हिड्नु पर्दछ।

अनि राष्ट्रियताको सवालमा सबै सधैं एक हुनुपर्छ। र, बिदेशीको इशारामा न चली आफ्नै बलबुतामा देशको बिकासमा लागेमा देशको राजनीति र सरकारको संरचनामा पनि ब्यापक सुधार आउन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *