समुन्द्रमा हराएपछि २४ दिन ‘केचप’ को सहारामा बाँचेको फ्राँस्वाको दावी

डिसी नेपाल
६ माघ २०७९ ६:४६
436
Shares

बोगोटा, कोलम्बिया। क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार गर्नुअघि ‘केचप’ खाएर समुद्रमा हराएको २४ दिन बाँचेको बताएका छन्।

कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्राँस्वाले अङ्ग्रेजी भाषामा बताएका छन्, “मसँग खाना पनि थिएन। डुङ्गामा केचपको बोतल, लसुनको धुलो र चाउचाउ थियो। चाउचाउ पहिलो एक दुई दिनमा नै सकियो। त्यसैले समुद्रमा २४ दिनसम्म बाँच्नका लागि मैले केचपलाई पानीमा मिसाएँ र आवश्यकता अनुसार पुर्‍याएर खाएँ।”

ला ग्वाजिराको उत्तरी विभागमा प्यूर्टो बोलिभरबाट १२० नटिकल माइल उत्तरपश्चिममा फेला पर्दा डुङ्गाको बाहिरी भागमा ‘सहयोग’ को लागि याचना गरि लेखिएको थियो।

फ्राँस्वाले आफूले अन्य डुङ्गाहरू त्यहाँबाट ओहोर दोहोर गरिरहेको देखेको र आफ्नो डुङ्गामा आगो बालेर सहयोगका लागि सङ्केत गरेको तर तिनीहरूले आफुलाई नदेखेको बताए।
फ्राँस्वाले डुब्नबाट जोगिन डुङ्गामा जम्मा भएको पानीलाई निरन्तर खालि गरिरहेका थिए।

’अन्तिम दिन, जनवरी १५ तिर, मैले एउटा विमान देखेँ। मसँग एउटा ऐना थियो। म केही सङ्केतहरू पठाइरहेको थिएँ,” उनले भने। उनले सूर्य प्रकाशलाई परावर्तन गराएर जहाज र नजिकका डुङ्गामा पठाएपछि सहयोगका लागि कोही आएको बताए।

उनले थपे, “अन्तिममा उहाँहरू (उद्धार गर्ने व्यक्तिहरू) पछि डुङ्गाबाट दुई पटक ओहोरदोहोर गरे, त्यसैले उहाँहरूले मलाई देखेको मैले महसुस गरेँ। उहाँहरूकै कारण आज जीवित भएकोमा म उहाँहरूप्रति कृतज्ञ छु।”

प्राप्त जानकारी अनुसार विमानका चालक दलले नौसेनालाई उद्धारका लागि सूचना दिएका र त्यसपछि एक व्यापारिक जहाजको मद्दतले फ्रान्कोइसलाई उद्धार गरिएको थियो।
फ्राँस्वाले थप्नुभयो, “२४ दिन, कुनै जमिन छैन। कुरा गर्ने कोही छैन। के गर्ने थाहा छैन। आफू कहाँ छु थाहा छैन। यो कठोर थियो। घरिघरि मैले आशा गुमाएँ। तर पनि मैले आफ्नो परिवारको बारेमा सोचेर आफूलाई सम्हालिरहेँ।

नौसेनाले सार्वजनिक गरेको भिडियोमा एक जना चिकित्सकले फ्रान्कोइसको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ।

“यो धेरै कठिन थियो । मलाई थाहा छैन म आज कसरी जीवित छु तर म जीवित छु । र म यसको लागि आभारी छु,” फ्रान्कोइसले भने।

गत वर्षको डिसेम्बरमा नेदरल्यान्ड्स एन्टिल्सको क्यारेबियन टापु सेन्ट मार्टेनमा रहेको एक बन्दरगाहबाट सेलबोट मर्मत गर्ने क्रममा मौसम खराब भएपछि उहाँलाई समुद्रमा बगाएको नौसेनाले जनाएको छ।

“नेभिगेसनको कुनै ज्ञान नभएकोले उहाँ समुद्रमा हराउनुभएको थियो र विचलित हुनुभएको थियो। डुङ्गा र डुङ्गामा रहेका उपकरणहरू चलाउने उहाँको प्रयास सफल भएन,” विज्ञप्तिमा भनिएको छ।

फ्राँस्वाले आफ्नो सेल फोनमा कल गर्ने प्रयास गरेपनि टावरले नटिपेपछि निराश बनाएको थियो। सेनाका अनुसार उहाँलाई आफ्नो देश फर्कन समन्वय गर्न सजिलो होस् भनेर अध्यागमन अधिकारीहरूलाई सुम्पिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *