खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल

डिसी नेपाल
१३ माघ २०७९ २२:१५

काठमाडौं । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा उनले मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सीपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गासिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्वपूर्ण हुने उल्लेख गरिन् । अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताइन् । पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उनले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा ‘नारमिन’ का महासचिव खीमबहादुर थापा, राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेल, महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीलगायतले खाद्य सुरक्षा विषय र समाधानका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सरोकारवाला विज्ञ सम्मिलित समूहगत छलफल हुनुका साथै नेपालको खाद्य सुरक्षा र अधिकारको अवस्थाका बारेमा विभिन्न प्रस्तुति गरिएको थियो ।

विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) (जीएचआई) कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा भोकमरीको विस्तृत रुपमा मापन र अनुगमन गर्न विकसित गरिएको एउटा वार्षिक प्रतिवेदन हो । जीएचआईको उद्देश्य विश्वभरिबाट भोकमरी अन्त्य गर्नेतर्फ कदम चाल्न उत्प्रेरित गर्नु हो । सन् २०२२ को जीएचआई प्रतिवेदन वार्षिक शृङ्खलामा १७औँ हो । यसले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय भोकमरी स्थितिको बहुआयामिक मापन प्रस्तुत गर्दछ । सन् २०२२ को विश्वव्यापी भोकमरी सूचकाङ्क (जीएचआई) मा नेपाल १२१ राष्ट्रहरूमध्ये ८१औँ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *