नरेन्द्र मोदीको विषयमा बीबीसीले बनाएको डकुमेन्ट्री हेर्दा १० जना विद्यार्थी निलम्बित

डिसी नेपाल
१५ माघ २०७९ १३:३०

काठमाडौं । अजमेर जिल्लामा रहेको राजस्थानको केन्द्रीय विश्वविद्यालयले गणतन्त्र दिवसमा प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा बनेको बीबीसीको डकुमेन्ट्री ‘इन्डियाः द मोदी क्वेस्चन’ हेर्ने आफ्ना १० विद्यार्थीलाई १४ दिनका लागि निलम्बन गरेको छ ।

फिल्म हेरिसकेको एक दिनपछि शुक्रबार विश्वविद्यालयका प्राक्टरले जारी गरेको आदेशमा उक्त निर्णय भएको जानकारी दिइएको हो ।

यस आदेश अनुसार प्राक्टोरियल बोर्डले छानबिन गरेपछि विश्वविद्यालयको अध्यादेश नं ४७ बमोजिम यी विद्यार्थीहरूलाई तत्काल प्रभावबाट १४ दिनका लागि अध्ययन गतिविधि र छात्रावासबाट निलम्बन गरिएको छ ।

यी सबै विद्यार्थीले मोबाइलमा यो वृत्तचित्र हेरिरहेका थिए । विश्वविद्यालय प्रशासनले यसलाई प्रशासनिक कार्य भनेको छ ।

प्राक्टरले विद्यार्थीको नाममा जारी गरेको एडभाइजरीमा क्याम्पसमा शान्ति सुरक्षा कायम गर्न र नाराबाजी नगर्न विद्यार्थीलाई आग्रह गरिएको छ ।

यसैबीच विश्वविद्यालयका रजिष्ट्रारले जारी गरेको अर्को आदेशमा सक्षम अधिकारीले यस वृत्तचित्रको प्रदर्शनमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेकोले सबै विभागका प्रमुखले आफ्ना विद्यार्थीलाई यसबारे सचेत गराउनुपर्ने बताएको छ ।

यो आदेशमा यो पनि भनिएको छ कि कुनै पनि शैक्षिक गतिविधिमा मानिसहरू भेला हुन आवश्यक छ भने, रजिस्ट्रारबाट अनुमति लिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *