पर्यटनमन्त्रीको प्रश्न: लुम्बिनीमा किन पवित्र काम भएन?

डिसी नेपाल
१५ माघ २०७९ १८:११
60
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गरेका छन्।

मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम गर्ने प्रयास भएको टिप्पणी गरे। राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने उनको भनाइ छ।

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गौचरन र फोहरले लुम्बिनी भरिएको गुनासो रहेको पनि पर्यटनमन्त्रीले बताए। “देश–विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन्। यो विश्वभरिको बौद्धधर्मावलम्बीहरूको मुटुको ढुकढुकी हो। मुस्लिमहरूले मक्कमदिनालाई के बनाइसके? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरन बनाइएको छ, तर तपाईँहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरैफोहर र धुलैधुलो राख्ने”, उनले भने।

पर्यटनमन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राखे। प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उनले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरे।

मन्त्री किरातीले भने, “यो कुनै स्टन्ट होइन, अहिले हामी सुरुमा स्टन्ट देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रियता कमाउने पक्षमा छैनौँ। कर्मचारीले विगतमा के गरेको छ तर अब आजैदेखि ऊ सुध्रिनुपर्छ। कामको सम्पादन क्षमताको मूल्याङ्कन अब सुरु, भयो अब काम चाहियो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *