राष्ट्रपतिको निर्वाचनमा माओवादीको अग्निपरीक्षा

डिसी नेपाल
२० माघ २०७९ १३:२४

काठमाडौं। निर्वाचन आयोगले फागुन २५ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुटेका छन्।

राष्ट्रपतिको निर्वाचनमा दलहरुको समीकरण बदलिने चर्चा समेत चुलिएको छ। सत्ता साझेदार दलभित्रै राष्ट्रपतिमा एक मत हुन सकेको छैन।
एमाले राष्ट्रपतिमा आफ्नो दाबी कायम रहेको सार्वजनिक रुपमा बताइरहेको छ। तर, माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने शर्त अगाडि सारेको छ।

राष्ट्रपतिको निर्वाचनमा संघ र प्रदेशका सांसदहरु मतदाता रहने ब्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन आउँछ।

सोही मतभार अनुसार राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ।

नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ। कांग्रेसका उम्मेदवारलाई विजयी हुन करिब दश हजार मत आवश्यक पर्दछ। यसमा अन्य साना दलको मतभार जोड्दासमेत उसलाई जितको लागि अपर्याप्त हुन्छ।

यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ। एमालेका उम्मेदवार विजयी हुन समेत माओवादीको मत र अन्य साना दलको मत अपरिहार्य देखिन्छ।

माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ। अहिलेको निर्वाचनमा माओवादीको मत निर्णायक देखिएको छ। उसले जसलाई समर्थन गर्दछ। सोही उम्मेदवार विजयी हुने हालको अंकगणितले दर्शाउँछ।

अन्य साना दलहरुको मतभारले समेत निर्णायक भूमिका खेल्ने भएपनि मतभार का दृष्टिले माओवादीको मत निर्णायक हुने तथ्यले दर्शाएको छ।
यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ। अहिलेको सत्ता गठबन्धनमै रहेको हुँदा रास्वपाको मत गठबन्धनकै उम्मेदवारलाई जाने हालसम्मकै अवस्थाले देखिन्छ।

सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ। सरकारमा सहभागी हुन शर्त अगाडि सारेको उसले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्छ यकिन छैन।

निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग चिढिएको जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। यही अंकगणितका आधारमा सम्भावित विजयी उम्मेदवारको जितको आँकलन गर्दै जोडघटाउमा जुटिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *