शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँः प्रधानमन्त्री

डिसी नेपाल
२० माघ २०७९ १५:०१

सिन्धुपाल्चोक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।

शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा प्रधानमन्त्रीले भने, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ। म नेपाल सरकार एवं मेरो तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”

प्रधानमन्त्री प्रचण्डले चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको बताए । उनले भने , “विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।”

सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको बताउँदै उनले अगाडि भने, “जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँग सँगै छु। म तपाईहरूसँग ऐक्यवद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईहरूकै साथमा हुनेछ।”

नेपालको अर्थतन्त्रमा गम्भीर समस्या रहेको र तेस्रो कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको जनाए । उनले भने, “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *