मधेश प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्री थपिए, माओवादीले लिएन भागमा परेको मन्त्रालय

डिसी नेपाल
२० माघ २०७९ १९:५५

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा शत प्रतिशत विश्वासको मत पाएका यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

शुक्रबार नियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा (माओवादी केन्द्र) भित्रमा समझदारी नमिलेपछि माओवादी केन्द्रको भागमा परेको उद्योग पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले आफै राखेका छन्।

शुक्रबार मन्त्रिपरिषद् विस्तारमा महेशप्रसाद यादवलाई शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय, सुरिता साहलाई समाजिक विकास मन्त्रालय, शत्रुधनप्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालय, सिंगासन साह कलवारलाई खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, राजकुमार लेखीलाई कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय, मोहम्मद जयद आलमलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी शेख अबुल कलाम आजादलाई समाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्य मन्त्री र सञ्जयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुखको कार्यालयमा आजै साँझ आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मन्त्रीलाई एकै साथ शपथ ग्रहण गराएका हुन्।

मन्त्रीहरुले शपथ ग्रहण गरेपश्चात मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको उपस्थितीमा तिनै जना राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *