राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्ने दलसँग सहकार्य गर्ने माओवादीको निर्णय

गृहमन्त्रीको बारेमा रास्वपाको धारणा बुझ्ने र अघि बढ्ने

डिसी नेपाल
२१ माघ २०७९ १७:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र सहमति नभए विचार, दृष्टिकोण, उद्देश्य मिल्नेसंग सहमति खोज्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सहमतिको कोशिस गर्ने र सहमति नभए बिचार, दृष्टिकोण, लक्ष्य र उद्देश्य मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष रहेको बताए । उनले सवै पक्षसंग छलफलका लागि खुल्ला रहेको र सवै मिलेर अघि बढौ भन्ने माओवादीको धारणा रहेको बताए । पौडेलले अहिले एमालेलाई बाहिर राखेर नभइ सवै मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको जिकिर गरे । उनले गृहमन्त्रीको बारेमा अब रास्वपाको धारणा बुझ्ने र अघि बढ्ने बताए ।

बैठकपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताए । अहिले सबैसंग कुरा भइरहेको र समस्या समाधान हुने उनको भनाइ छ ।

स्थायी कमिटी बैठकले दुई महिने पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । दुई महिनाको अवधिमा सबै नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरु बस्ने , रिपोर्ट तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने उनले बताए ।

बैठकले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेपछि आएका केहि निर्देशन र वक्तव्यहरुलाई पनि सबै तहमा लैजाने र कार्यान्वयन गर्ने निर्णय गरेको महराले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *