चीनको ‘जासूस बेलुन’अमेरिकी जेटले खसालिदियो, चीनले दियो कडा प्रतिक्रिया

डिसी नेपाल
२२ माघ २०७९ १०:५२

काठमाडौं । अमेरिकाले चिनियाँ ‘ जासूस बेलुन’ खसालेको छ जसलाई अमेरिकाका प्रमुख सैन्य अखडाहरूमा जासुसी गरिरहेको आरोप लगाइएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्नो लडाकु विमानले एट्लान्टिक महासागरमा अमेरिकी क्षेत्रीय पानीमाथि चिनियाँ बेलुन खसालेको पुष्टि गरेको छ ।

अमेरिकी सेनाले शनिबार सञ्चालित यस अभियानका कारण त्यहाँका तीनवटा विमानस्थल र उत्तर र दक्षिण क्यारोलिनाको तटीय क्षेत्र नजिकको हवाई क्षेत्र बन्द गर्नुपरेको थियो ।

अमेरिकी टेलिभिजन च्यानलहरूमा प्रसारित फुटेजमा सानो विस्फोटपछि बेलुन समुद्रमा खसेको देखाइएको छ।

चीनको विदेश मन्त्रालयले यसको कडा आपत्ति जनाएको छ र भन्यो, “हामी नागरिक उद्देश्यका लागि प्रयोग गरिने मानवरहित बेलुनहरूमा अमेरिकी बल प्रयोगको विरोध गर्दछौं।”

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “चीनले अमेरिकालाई संयम अपनाउन र यो समस्यालाई शान्तिपूर्ण र व्यावसायिक रूपमा समाधान गर्न आग्रह गरेको छ। तर अमेरिकाले बल प्रयोग गरेकोले त्यसमा आवश्यक नभएको स्पष्ट छ।”

एक अमेरिकी रक्षा अधिकारीले यो बेलुन खसाल्ने प्रक्रियाको बारेमा जानकारी दिए। एफ-२२ लडाकु विमानबाट प्रक्षेपण गरिएको एआइएम-९ एक्स साइडविन्डर मिसाइलले यस बेलुनलाई लक्षित गरेको उनले बताए।

नेपाली समय अनुसार बिहान १ बजेर २४ मिनेटमा अमेरिकाको तटबाट करिब ६ नटिकल माइल (११ किलोमिटर) टाढा यस बेलुनलाई निशाना बनाइएको थियो ।

यो बेलुनको भग्नावशेष दक्षिण क्यारोलिनाको मार्टल बिच नजिकै खसेको अमेरिकी रक्षा अधिकारीहरूले त्यहाँका सञ्चारमाध्यमलाई बताए । खसेपछि यो समुद्रमा ४७ फिट (१४ मिटर) तल खसेको थियो भने अझै तल जाने अनुमान गरिएको थियो ।

अमेरिकी सेनाले अहिले ११ किलोमिटरसम्म फैलिएको भग्नावशेष हटाउने प्रयास गरिरहेको छ । यस कार्यमा नौसेनाका दुईवटा जहाज लागेका छन् । ती मध्ये एउटामा भारी क्रेन पनि राखिएको छ।

जब अमेरिकी रक्षा अधिकारीहरूले बिहीबार पहिलो पटक घोषणा गरे कि उनीहरूले बेलुनलाई ट्र्याक गरिरहेका थिए, अमेरिकी राष्ट्रपति जो बाइडेन यसलाई खसाल्ने दबाबमा थिए।

बेलुन खसालेपछि बाइडेनले भने, “उनीहरूले यसलाई सफलतापूर्वक खसाले। म हाम्रा एविएटरहरूलाई बधाई दिन चाहन्छु जसले यसलाई खसाले।”

एश्लिन प्रोक्स बेलुन ड्रपको प्रत्यक्षदर्शी हुन्। उनी भन्छिन्, “बाहिर किन धेरै मानिस जम्मा भएका छन् भनेर हेर्न म बाहिर गएँ। त्यसपछि मैले आकाशमा बेलुन देखेँ, जसको बारेमा मिडियामा लगातार समाचारहरू आइरहेका थिए। जेट विमानले यो बेलुनलाई घेरेर वरिपरि घुमेको थियो।”

उनी भन्छिन्, “मैले देखेँ कि एउटा जेटले बेलुनलाई सीधै निशाना बनाएको थियो। केही समयपछि त्यो बेलुन फुटेर तल खस्न थाल्यो।”

यो हप्ता अमेरिकामा चिनियाँ बेलुन भेटिएपछि कूटनीतिक संकट खडा भएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बेलुनले संवेदनशील क्षेत्रमा जासुसी गर्ने काम गरेको विश्वास गरेको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तत्कालै आफ्नो प्रस्तावित चीन भ्रमणलाई ‘गैरजिम्मेवारपूर्ण कार्य’ भन्दै स्थगित गरेका छन्।

यद्यपि चीनले यो जासुसी विमान नभएको भन्दै खण्डन गर्दै यो मौसम पूर्वानुमान गर्ने बेलुन भएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *