पठानः सलमान र शाहरुखसँगै देखाउन कैयौंपटक पुनर्लेखन

मुम्बई। बक्सअफिसमा शानदार कमाई गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टार फिल्म ‘पठान’ प्रति दर्शकको क्रेज उस्तै छ।
फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ। तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो।
फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रुपमा केमियो गरेका छन्। दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ। लेखक टायरवालाले हालैमात्र स्क्रिप्ट लेखनका विषयमा कुरा खुलाएका छन्।
‘जब शाहरुख र सलमान पठान र टाइगरका रुपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन। पहिलो कुरा दर्शकलाई मनोरञ्जन दिनुथियो र दोस्रो कुरा दर्शक शाहरुख र सलमानमै नअलमललिउन, जसकारण उनीहरुले पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर थियो। त्यसकारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो’, टायरवालाले भनेका छन्।
उनले फिल्म ‘पठान’ शाहरुखको फिल्म रहेको कुरालाई पनि सम्झनुपर्ने जिम्मेवारी उत्तिकै रहेको बताएका छन्। ‘किनकी फिल्ममा टाइगरको प्रवेश गराउनैपर्छ, जसकारण सबैको ध्यान सलमानतिर जान नदिन उत्तिकै चुनौती थियो। तर सलमानलाई शाहरुखको फिल्ममा विशेष प्रवेश गर्नका लागि केही हुनैपर्छ, जुन हेर्दा दर्शक रोमाञ्चित हुन्’, उनले अगाडि भनेका छन्।
टायरवालाले यही सन्तुलन बनाउनका लागि दुवैको दृश्यलाई कैयौंपटक पुनर्लेखन गरिएको खुलाए।
Facebook Comment