पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको निधन

डिसी नेपाल
२२ माघ २०७९ १२:३२

काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आइतबार निधन भएको छ । स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका छन् । उनको संयुक्त अरब इमिरेट्सस्थित अमेरिकन अस्पतालमा उपचार भइरहेको थियो । पाकिस्तानी मिडियाका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए ।

परवेज मुशर्रफको पछिल्लो भिडियोले उनी हिँड्न नसक्ने देखाएको थियो । उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए र खाना पनि खान सकेका थिएनन्। एमाइलोइडोसिसको समस्या भएपछि मुसर्रफलाई गत वर्ष जुन १० मा युएईको अस्पतालमा भर्ना गरिएको थियो । यो समस्या बिस्तारै बिस्तारै बहु-अङ्ग विफलतामा परिणत भएको थियो।

उनलाई गत वर्षको जुनमा भेन्टिलेटरमा राखिएको थियो । लामो समयदेखि बिरामी रहेपछि उनको आज निधन भएको हो । इमरान खानको सरकारमा मन्त्री रहेका फवाद हुसैनले ट्वीट गर्दै पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई सम्झिएका छन् । उनले लेखेका छन्, ‘परवेज मुशर्रफको निधन भएको छ, उनी महान् व्यक्ति थिए ।’

परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा नयाँ दिल्लीको दर्यागञ्जमा भएको थियो । सन् १९४७ मा उनको परिवारले पाकिस्तान जाने निर्णय गरेको थियो । उनको सम्पूर्ण परिवार भारत-पाकिस्तान विभाजनको केही दिनअघि पाकिस्तान पुगेका थिए। उनका बुबा सईदले नयाँ पाकिस्तान सरकारको लागि काम गर्न थाले र विदेश मन्त्रालयसँग सम्बद्ध थिए।

यसपछि उनका पिता पाकिस्तानबाट टर्कीमा सरुवा भए, १९४९ मा उनी टर्की गए । केही समय उनी आफ्नो परिवारसँग टर्कीमा बसे, उनले टर्कीश भाषा पनि बोल्न सिके। मुसर्रफ पनि युवावस्थामा खेलाडी थिए । १९५७ मा, उनको सम्पूर्ण परिवार फेरि पाकिस्तान फर्कियो। उनले कराँचीको सेन्ट प्याट्रिक स्कूल र लाहोरको फोरमन क्रिस्चियन कलेजमा आफ्नो स्कुलिङ गरे।

परवेज मुशर्रफ पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका व्यक्ति हुन् । पाकिस्तानको इतिहासमा पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा रहेको विशेष अदालतको तीन सदस्यीय इजलासले यस्तो सजाय सुनाएको हो ।

परवेज मुशर्रफलाई डिसेम्बर २०१३ मा पाकिस्तानमा ३ नोभेम्बर, २००७ मा संकटकाल लागू गरेको र डिसेम्बर २००७ को मध्यसम्म संविधान निलम्बन गरेकोमा देशद्रोहको मुद्दा दायर गरिएको थियो। मुशर्रफलाई मार्च ३१, २०१४ मा दोषी ठहर गरिएको थियो। ७९ वर्षीय मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका थिए । मुसर्रफ सन् २०१६ को मार्चदेखि दुबईमा बस्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *