एलन मस्कको ‘स्पेसएक्स’ मार्चमा प्रक्षेपण गरिने

वासिङ्टन। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरीक्षमा प्रक्षेपण गरिने बताएका छन्।
नासाका अन्तरिक्षयात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि स्पेसएक्सले आफ्नो नयाँ पुस्ताको ‘डिप स्पेस ट्रान्सपोर्टेसन सिस्टम’को महत्वपूर्ण प्रदर्शन उडान गर्न खोजिरहेको छ।
“यदि बाँकी परीक्षणहरू राम्रोसँग सफल भएमा हामी अर्को महिना ‘स्टारशिप’ प्रक्षेपण गर्ने प्रयास गर्नेछौं,” मस्कले शनिबार स्टारशिपको बारेमा एक ट्वीटर प्रयोगकर्ताको प्रश्नको जवाफमा ट्वीट गरेका छन्।
मस्कले जनवरीमा प्रक्षेपणको तयारीबारे जानकारी दिँदै भने, “यथार्थमा फेब्रुअरीको अन्त्यमा स्टारशिप प्रक्षेपण गर्ने योजना रहेको सबै काम सोचेअनुसार भएमा प्रक्षेपण गर्ने प्रयास मार्चसम्ममा सफल हुने अत्यधिक सम्भावना देखिन्छ।
स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कले जनवरी ७ मा ट्वीटर गर्दै स्पेसएक्सको उडान जनवरी ३१ सम्ममा हुनसक्ने बताएका थिए।
स्पेसएक्सले चन्द्रमा र मङ्गल ग्रहमा मानिस र कार्गो बोक्नका लागि स्टारशिपको विकास गरिरहेको छ। “परीक्षण उडान स्टारबेसबाट गरीे एक पटक पृथ्वीको परिक्रमा गर्नेछ र त्यसपछि हवाईको टापू काउई नजिकबाट प्रशान्त महासागरमा खस्नेछ,” उनले भने।
‘स्टारशिप’ अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रक्षेपण यान हुनेछ, जसले पृथ्वीको तल्लो कक्षमा १०० टन कार्गो बोक्न सक्नेछ। यो दुई–भाग प्रणालीको लागि सामूहिक नाम हो, जसमा चालक दल र कार्गो बोक्ने विशाल रकेट समावेश रहनेछ। रकेटले ‘स्टारशिप’लाई लगभग ६५ किलोमिटरको उचाईमा पुर्याउनेछ र पृथ्वीमा फर्कनेछ।
Facebook Comment