४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा

डिसी नेपाल
२३ माघ २०७९ ६:१९

काठमाडौं। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले ११ पुसमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिँदै रास्वपालाई सरकारमा सहभागी गराएका थिए । त्यसबखत रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै सरकारमा गएका थिए ।

त्यसपछि ३ माघमा मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई सांसद मन्त्री र एक सांसद राज्य मन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका थिए । उनीहरूले मन्त्री बनेको २० दिनमा नै राजीनामा दिएका छन् । रास्वपाले आइतबार केन्द्रीय सदस्य र सांसदको संयुक्त बैठकमार्फत् सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय लिएको हो ।

रास्वपाको सो निर्णयसँगै सो दलबाट ३ माघमा सरकारमा श्रममन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ नै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रास्वपा सभापति रहेका लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

नेपाली नागरिकता पुनः प्राप्तिपछि उनले पुनः पुरानै जिम्मेवारीसहित सरकारमा सहभागी हुने इच्छा राख्दै आइरहेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले चौतर्फी दबाबपछि रास्वपा र लामिछानेलाई गृह मन्त्रालय नदिने निर्णय लिएपछि रास्वपा सरकारबाटै बाहिरिएको हो ।

रास्वपा सभापति लामिछानेले आइतबार पत्रकारसम्मेलनमार्फत आफूले गृहमन्त्री नपाएर सरकार छाडेको नभई आफ्नो दललाई नै गृह मन्त्रालय नदिएकाले सरकार छाडेको बताए ।

‘मैले गृहमन्त्री नपाएर सरकार छाडेको होइन, सहमतिअनुसार रास्वपालाई सो मन्त्रालय नदिँदा हामीले सरकार छाड्ने निर्णय गरेका हौं,’ लामिछानेले पत्रकारसम्मेलनमा पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै भने ।

पासपोर्ट दुरुपयोग गरेको छैन : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको तर त्यसको दुरुपयोग नगरेको बताएका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजात बनाएको स्पष्ट पारे ।

‘नेपालमा बस्नेका लागि केके चाहिन्छ त्यो लिन थालें, त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें।’

१२/१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर, स्थायी रूपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजात बनाउन थालेको उनको भनाइ छ । ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन,’ लामिछानेले भने।

उनले आफूलाई पासपोर्टको विषय लिएर फसाउन खोजेको भन्दै अघि भने, ‘मैले कसको कहाँ के बिराएँ ? भोलि कानुन संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु, नयाँ कानुन बनाएर सजाय दिए पनि हुन्छ, म आममान्छेका रूपमा मुद्दा लड्छु,’ लामिछानेले भने । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *