राजसंस्थाप्रतिको सदाशयता मेरो अहिले पनि कायम छ : कमल थापा

डिसी नेपाल
२ फागुन २०७९ ११:५९

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनमा अस्वभाविक चलखेल गरेका कारण राजसंस्थाप्रतिको मोहभंग भएको बताएका छन्।

उनले सबैको सर्वस्वीकार्य अभिभावकीय भूमिकाको अपेक्षा गरिएको बेला पार्टीभित्रकै एक समूहकै पक्षमा लागेका कारण आफ्नो राजसंस्थाप्रतिको आस्थामा गिरावट आएको बताए।

डिसी नेपालसँगको कुराकानीमा अध्यक्ष थापाले राजसंस्थाको पक्षमा जीवनभर अभिछिन्न रुपमा लागेकाले त्यसप्रतिको मोह कायम हुँदै गर्दा महाधिवशनमा भएको अवाञ्छनीय गतिबिधिका कारण आफूले राजसंस्था पुन:स्थापनाकाे  कार्यनीति पार्टीले अवलम्बन गर्न छाडेको बताए।

उनले भने, ‘राप्रपाको महाधिवेशनमा राजसंस्थाको गतिबिधिले पीडाबोध गरेरै राप्रपा नेपालको पुन:स्थापना गर्न पुगेको हुँ। मेरो लामो समयदेखिको आस्थाको प्रतीकले एक गुटलाई दिएको प्रश्रय दिएकाले अन्य विकल्प थिएन।’

उनले आदर्श राजसंस्थाको पक्षमा आफ्नो अहिले पनि सदासयता रहेको धारणा राखे। उनले पार्टीको समेत एक गुटलाई बढावा दिएर आफ्नो निहित स्वार्थ पूर्ति गर्न चलखेल गर्ने राजसंस्थाले समग्र सबैको अभिभावकीय भूमिका वहन नगर्ने निष्कर्षमा पुगेको उनले बताए।

उनले भने, ‘मजस्तो राजावादीमा त त्यस संस्थाप्रतिको आस्थामा विचलन आएको छ। यस्तो प्रवृत्तिले अन्य दललाई कसरी सहमत तुल्याउन सकिन्छ?’

सबैको साझा सर्वमान्य राजसंस्था बनाउने अभिलासा आफूमा ब्याप्त रहेको उनको प्रष्टोक्ति छ। राजनीतिक प्रतिकुलताको अवस्थामा आफूले गठन गरेको राप्रपा परित्याग गर्नुपर्दा आफूलाई दुःख लागेको उनले बताए। राप्रपामा मै बस्ने आफ्नो चाहना हुँदापनि आफूलाई बाध्य भएर निस्कने अवस्था आएको उनको भनाइ छ।

उनले भने, ‘नेपालको पछिल्लो अवस्थामा सबैले स्वीकार्ने राजसंस्थाको अपरिहहार्यता महशुस गरेको थिएँ। विप्लव माओवादीलेसमेत स्वीकार्ने राजसंस्थाको पक्षमा रहेको हुँदा एउटा पार्टीको आन्तरिक राजनीतिमा गरिएको हस्तक्षेपले अब सर्वमान्य संस्था बन्न नसक्ने निर्णयमा म पुगेँ।’

उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको संभावना कायम रहेको बताए। राजनीतिक निकटता राप्रपासँगै रहेको बताउँदै उनले एकताको संभावना अझैपनि कायम रहेको बताउँदै अगाडि भने, ‘राजनीतिक रुपमा राप्रपासँग सबै विषयमा एकरुपता छ तर राजसंस्थाको सन्दर्भमा समेत मैले नकारेको होइन। मेरो सदासयता कायमै छ। हाम्रो एकता हुन सक्छ।’

उनले एमालेको चुनावचिन्ह लिएर निर्वाचन लड्नु आफ्नो बाध्यता भएको बताए। उनले चुनाव जित्न एमालेको सुर्य चिन्ह लिएको बताए। उनले भने, ‘चुनाव जित्न एमालेको चुनाव चिन्ह लिएको हुँ। पार्टीको देशभरको धरातलीय अवस्था हेर्दा थ्रेस होल्ड कटाउने मत नआउने देखिएपछि बाध्य भएर एमालेको चुनाव चिन्ह लिएर निर्वाचन लड्न पुगेँ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्न सकिने बताए। समकालीन नेताहरुमा ओली राष्ट्र र राष्ट्रियतको सम्बन्धमा स्पष्ट अडान भएको नेता भएकाले उनीसँग निकटता बढेको उनले स्वीकार गरे।

एमालेसँगको पार्टी एकताको चर्चा चलेको छ नि? भन्ने डिसी नेपालको प्रश्नमा उनले निराधार हल्ला भएको बताए। त्यस्तो संभावना नरहेको उनको भनाइ छ। राजेन्द्र लिङ्देन नेतृत्वको राराप्रपाले चुनावको समयमा त्यस्तो हल्ला चलाएको उनले आरोप लगाए।

उनले भने, ‘चुनावताका चलाइएको हल्ला हो त्यसमा कुनै सत्यता छैन कतिपय राजनीतिक एजेण्डाका कारण मेरो अध्यक्ष ओलीसँग मेरो निकटता भएको साचो हो तर पार्टी एकताको हल्ला निराधार हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *