शंकर पोखरेल र प्रदीप ज्ञवाली तयार भए माधव नेपाल राष्ट्रपति !

शरद रिजाल
९ फागुन २०७९ १२:०८

काठमाडौं। नेपालको राजनीति पछिल्लो समय राष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको छ। निर्वाचनको समयावधि नजिकिँएसँगै दलहरुबीच आन्तरिक छलफल तीव्र पारिएको छ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। फागुन २५ गते हुने निर्वाचनका लागि आयोगले यही १३ गते मनोनयको समय तोकेको छ।

सत्ता साझेदार दलभित्रै राष्ट्रपतिको विषयलाई लिएर असन्तुष्टि समेत चुलिएको बेला नेपाली राजनीतिमा अप्रत्याशितरुपमा राष्ट्रपतिमा नयाँ पात्रको आगमनको संकेत देखिएको छ।

केही दिनयताका राजनीतिक गतिबिधि र दलहरुका भेटवार्ताले राष्ट्रपतिमा नयाँ र अकल्पनीय पात्रको प्रवेश हुन सक्ने पूर्वानुमान समेत गरिएको छ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार छनोट गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार बसेको पदाधिकारी बैठकले सम्पूर्ण अधिकार दिएको हो। माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडानमा हालसम्म यथावत रहेको छ।

विपक्षी दल कांग्रेसले आफ्नो राष्ट्रपति बनाउने भरमग्दुर प्रयत्न जारी राखेको छ। कांग्रेसले सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता तीव्र पारेको छ।

केही दिनयता निरन्तर रुपमा कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग भेट गरिरहेका छन्। उनीहरुले राष्ट्रपति आफ्नै पार्टीको बन्ने दाबी गर्दै आइरहेका छन्।

यही परिपेक्षमा सत्ता गठबन्धनबाट अलग रहेका नेकपा (एमाले) बाट बिभाजित भएर संसदीय हैसियत स्वतन्त्र कायम भएको दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्।

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार शनिबार राति एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको घरमा ओली र नेपालबीच भेटवार्ता भएको थियो। श्रेष्ठको घरमा करिब चार घण्टासम्म दुबै नेताहरुले छलफल गरेका थिए।

सांसद श्रेष्ठको घरमा भएको भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको प्रस्तावप्रति नेपालले पार्टीमा छलफल गर्ने बताएका थिए। ओलीसँग भेट गरे लगत्तै नेपालले प्रधानमन्त्री प्रचण्डसँग संवाद गरेको स्रोतले बतायो।

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली भने माधव नेपालको नामप्रति सहमत छैनन्। ओलीले उनीहरुलाई मनाउने प्रयास जारी राखेका छन् र पोखरेल र ज्ञवाली तयार भए माधव नेपाल राष्ट्रपति बन्ने निश्चित हुने स्रोतको दाबी छ।

ओली र नेपालबीचको भेट केही अगाडि नै गर्ने तय भए पनि शनिबार रातिमात्रै एकीकृत समाजवादीका सांसद श्रेष्ठको घरमा भेटवार्ता संभव भएको हो।

भेटवार्ताको चाँजोपाँजो एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव रघुवीर महासेठ, महेश बस्नेतलगायत र एकीकृत समाजवादीबाट नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, सोमप्रसाद पाण्डे तथा किसान श्रेष्ठहरुले मिलाएका थिए।

आफ्नो मुख्य सहयोगमा प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि प्रचण्डले गठबन्धन बाहिरको दलसँग ‘माया पिरती’ लगाउनु थालेको पछि आफूहरुले पूर्वसहकर्मी माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको ओली निकट एक नेताले बताए।

उनका अनुसार महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली भने माधव नेपालको नामप्रति सहमत छैनन्। ओलीले उनीहरुलाई मनाउने प्रयास जारी राखेका छन् र पोखरेल र ज्ञवाली तयार भए माधव नेपाल राष्ट्रपति बन्ने निश्चित हुने स्रोतको दाबी छ।

माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्दा माओवादीले पनि समर्थन गर्ने बुझाइ एमालेमा रहेको छ। ओली र नेपालबीच भेटवार्ता भए पछि अध्यक्ष नेपालले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरी ओलीको प्रस्ताब सुनाएका थिए। उनको प्रस्ताबप्रति माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सहमति जनाएको स्रोतको दाबी छ।

माधव नेपाललाई एमालेले राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सार्ने तयारी गरेपछि एमालेभित्रै ओलीका निकटस्थ नेताहरु भने असन्तुष्ट बनेका छन्।

उनीहरुले विगतको एमालेप्रतिको ब्यबहार र ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गर्न मूल भूमिका खेलेका नेपाललाई नै राष्ट्रपतिमा अगाडि सारे त्यो कार्यकर्ताको मनोभावना विपरीत हुने बताउँछन्।

एमालेका एक पदाधिकारीले माधव नेपालसँग राष्ट्रपतिको विषयमा छलफल भए पार्टीमा असन्तुष्टि बढ्ने जनाए। उनले विगतका कटुता र पार्टीप्रति गरिएका घातहरुलाई यतिचाडो अध्यक्षले माफी दिन नहुने उनको तर्क छ।

एमाले अध्यक्ष ओलीले नेपालसँग गरेको भेटवार्ताले राष्ट्रपतिमा अप्रत्याशित रुपमा सत्ता साझेदार दलबाहिरबाट आगमन हुने सम्भावित परिदृश्य देखा परेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग गरेको उक्त भेटवार्ताले राष्ट्रपतिमा माधव नेपालको आगमन हुने संभावना प्रबल देखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *