प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, राष्ट्रपतिका विषयमा छलफल

डिसी नेपाल
१० फागुन २०७९ ११:१५

काठमाडौं। राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन आइपुग्न लाग्दासमेत दलहरुले उम्मेदवार घोषणा गर्न नसकिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रममा विषयमा छलफल भइरहेको छ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकै आइसक्दासमेत दलहरुबीच उम्मेदवारको टुंगो लाग्न नसकिरहेको बेला प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।

पूर्व सहमति अनुसार माओवादीले एमालेलाई राष्ट्रपतिमा समर्थन नगर्ने संकेत पाएपछि अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिका रुपमा अघि सार्ने तयारी गरेका छन्।

जसरी पनि यो गठबन्धनलाई जोगाउने भन्दै ओलीले माओवादीलेसमेत स्वीकार गर्ने व्यक्तिलाई राष्ट्रपतिका रुपमा अघि सार्ने तयारी गरिरहेका बेला प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। उता कांग्रेसले माओवादीले समर्थन गर्ने भन्दै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड र राजदूत सोङ बीच बुधबार विहान भेटवार्ता भएको थियो। भेटमा चिनियाँ राजदूतले भावी राष्ट्रपतिका विषयमा चासो राखेका थिए। उनले राष्ट्रपतिको कसलाई बनाउने भन्ने विषयमा चासो राखेको स्रोतले जनाएको छ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विभिन्न कोणबाट सबै राजनीतिक दलसँग परामर्श भइरहेको भन्दै चाँडै निष्कर्षमा पुग्ने बताएको बालुवाटार निकट स्रोतले जनाएको छ।

दलहरुबीच राष्ट्रपतिको उम्मेदवारमा सहमति हुन नसकेको बेला प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकै आइरहेका बेला फागुन १ गते भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि नेपाल भ्रमण गरेका थिए। उनले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका थिए।

चिनियाँ राजदूत सोङले पनि यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *