कीरा खाए, पिसाब पिए, ३१ दिन अमेजनको जङ्गलमा यसरी बाँचे यी मानिस
काठमाडौं । एक महिनाभन्दा बढी खानाविना एक्लै बाँचेको एउटा असाधारण कथा सार्वजनिक भएको छ । बोलिभियाका एक व्यक्ति ३१ दिनसम्म अमेजनको घना र खतरनाक जङ्गलमा भौंतारिएपछि उनको उद्धार गरिएको थियो । ती मानिसले बाँच्नको लागि जंगलको कीरा खाए र पानी पियो। तर एक समय यस्तो आयो जब उनले पानीको अभावमा आफ्नै पिसाब पिउनुपर्यो ।
३० वर्षीय जोनाथन अकोस्टा २५ जनवरीमा उत्तरी बोलिभियाको अमेजन जंगलमा चार साथीहरूसँग शिकार गर्न गएका थिए। शिकार गर्दागर्दै साथीहरूबाट अलग्गिए । उनको बन्दुकमा एउटा मात्र गोली थियो। अकोस्टासँग न त सलाइ थियो न त उनले आफूसँग कुनै टर्च राखेका थिए। अकोस्टाले बाँच्नको लागि कीरा खानुको विकल्प नभएको बताए ।
बीबीसीको रिपोर्टका अनुसार अकोस्टाले स्थानीय टिभी च्यानललाई रुँदै भने, ‘यो गजबको छ। म विश्वास गर्न सक्दिन कि मानिसहरूले यति लामो समयसम्म कसैलाई खोजिरहन्छन्। मैले जङ्गलमा कीरा खाएँ… बाँच्नका लागि मैले के गरिन, तिमीले पत्याउने छैनौ।’
बाँच्नको लागि जंगलमा पाइने मेवाजस्ता जङ्गली फल पनि खाएको उनले बताए । पानी पिउन सकून् भनेर उनी सधैँ पानीको लागि भगवानसँग प्रार्थना गर्थे। वर्षाको पानी जुत्तामा राखेर पिउँथे । तर केही दिन पानी नपरेपछि उनको ज्यान खतरामा परेको थियो, त्यसपछि बाँच्नको लागि उनले आफ्नै पिसाब पिए ।
उनले जंगलमा जगुआरलगायतका धेरै खतरनाक जनावरहरू भेटेको बताए । उनले बथानमा रहेका खतरनाक जनावरहरूलाई तर्साउन आफ्नो अन्तिम बाँकी बन्दुकको गोली प्रयोग गरे।
अकोस्टा ३१ दिनसम्म जंगलमा बाँच्न सफल भए, त्यसपछि उनलाई उद्धार टोलीले फेला पारे। जंगलमा बस्दा अकोस्टाको खुट्टा भाँचियो र शरीरमा पानीको ठूलो कमी भयो । उनको अनुहार पनि नराम्ररी सुन्निएको थियो । उद्धारपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको उपचार भएको थियो ।
चमत्कारिक रूपमा बचेका, अकोस्टाले अब आफ्नो जीवन भगवानलाई समर्पण गर्ने वाचा गर्छन्। उनी भन्छन् कि उनी अब कहिल्यै शिकारमा जाँदैनन् र आफ्नो जीवन भगवानको लागि संगीतमा बिताउनेछन्।
उनका कान्छो भाइ होरासियो अकोस्टाले भने, ‘मेरो दाइले अब भगवानको लागि संगीत बनाउनेछन्। उनले यो गर्ने परमेश्वरलाई प्रतिज्ञा गरेका छन् र उनले आफ्नो प्रतिज्ञा पूरा गर्नेछन् ।
विगतमा पनि यस्तै चमत्कारिक घटनाहरु भएका छन् । क्यारेबियन टापु डोमिनिकाका एक व्यक्ति समुन्द्रमा हराएपछि २४ दिनसम्म केचप खाएर बाँचे । समुद्रमा हराउँदा उनको डुङ्गामा केचप, लसुनको धुलो र म्यागी मात्रै थियो । जीवित रहनका लागि उनले यी चिजमा पानी मिसाएर २४ दिनसम्म राखेर खाइरहे ।







डिसी नेपाल







Facebook Comment