साउदी अरेबियाको उपहारलाई लिएर ब्राजिलमा हंगामा, पूर्व राष्ट्रपति बोल्सोनारो विरुद्ध आरोप

डिसी नेपाल
२२ फागुन २०७९ १०:३७
52
Shares

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले जानकारी नदिई साउदी अरेबियाबाट उपहारमा दिइएका गहना ल्याएको आरोप अस्वीकार गरेका छन् ।

बोल्सोनारोलाई पराजित गरी राष्ट्रपति बनेका लुइज लुला दा सिल्भाको सरकारले यस विषयमा छानबिन गरिने बताएको छ।

शुक्रबार, ब्राजिलको अखबार ओ एस्टाडो डे सेन्ट पाउलोले एउटा समाचारमा दाबी गर्‍यो कि बोल्सोनारो सरकारका एक सदस्यले अवैध रूपमा ३.२ मिलियन डलरको गहना सेट देशमा ल्याउने प्रयास गरेको थियो।

यो गहना सेटमा हीराको नेकलेस, घडी, इयर ड्रप र अन्य गहनाहरू थिए।

रिपोर्टमा साउदी सरकारले बोल्सोनारोकी श्रीमतीलाई यो गहना उपहार स्वरुप दिएको दाबी गरिएको छ ।

ब्राजिलस्थित साउदी अरबको दूतावासले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सीएनएनसँगको अन्तर्वार्तामा बोल्सोनारोले यी आरोपहरूमा भने, “मैले नमागेको र नपाएको उपहार पाएको आरोप लगाइएको छ। मैले कुनै गल्ती गरेको छैन, मैले कहिल्यै गैरकानूनी काम गरेको छैन।”

यद्यपि राष्ट्रपति लुलाको सरकारमा न्यायमन्त्री फ्लाभियो डिनोले आफूले संघीय अनुसन्धानको माग गरिरहेको बताएका छन्। लुलाको पार्टीका प्रवक्ताले यस विषयमा कुनै पनि छुट नदिइने बताएका छन् ।

पत्रिकाले आफ्नो रिपोर्टमा दावी गरेको छ कि करिब ३.२ मिलियन डलर मूल्यको यो गहना ब्राजिलका कस्टम एजेन्टहरूले पूर्व उर्जा मन्त्री बेन्टो अल्बुकर्कको सहयोगीको झोलाबाट फेला पारेका छन् ।

अक्टोबर २०२१ मा, तत्कालीन ऊर्जा मन्त्री अल्बुकर्क मध्य पूर्वको भ्रमणबाट फर्कदै थिए।

यो गहना विमानस्थलमै बरामद भएको हो । ब्राजिलको कानुन अनुसार एक हजार डलरभन्दा बढी मूल्यको कुनै पनि वस्तु देशमा प्रवेश गर्नुअघि घोषणा गर्नुपर्छ।

अखबारले दाबी गरेको छ कि बोल्सोनारो सरकारले भन्सार विभागबाट यो गहना लिन धेरै पटक प्रयास गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *