साउदी अरेबियाले बंगलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारीलाई पक्राउ गर्‍यो

डिसी नेपाल
२२ फागुन २०७९ १२:३५
52
Shares

काठमाडौं । साउदी अरबको भ्रष्टाचार विरोधी एजेन्सीले बंगलादेशस्थित आफ्नो दूतावासमा कार्यरत दुई पूर्व कर्मचारीलाई पक्राउ गरेको छ ।

उनीहरु दुवैलाई साउदीमा वर्क भिसा जारी गर्ने ठूलो घोटालामा संलग्न रहेको आरोप छ । यस धाँधलीमा अन्य ११ जना विरुद्ध पनि आरोप छ।

साउदी अरेबियाको भ्रष्टाचार विरोधी प्राधिकरण नाजाले ट्वीटरमा यो जानकारी दिएको हो ।

पक्राउ पर्नेमा दूतावासको कन्सुलर विभागका पूर्व प्रमुख अब्दुल्लाह फलाह मुदी अल-शमारी र उनका सहयोगी खालेद नसर अयाद अल-काहतानी रहेका छन्।

नाजाका अनुसार यस धाँधलीमा आन्तरिक मन्त्रालयका दुई अधिकारी, आठ बंगलादेशी नागरिक र एक प्यालेस्टिनी लगानीकर्ता पनि संलग्न छन् ।

यी अधिकारीहरूले दूतावासमा काम गर्दा वर्क भिसा जारी गर्ने बापत १४.४ मिलियन डलर वा ५४ मिलियन साउदी रियाल प्राप्त गरेको आरोप छ। यो रकम किस्ताबन्दीमा दिइएको थियो ।

डेली स्टारका अनुसार दुवै अभियुक्तले घुसको रकम साउदी अरब पठाएको र केही अंश विदेशमा लगानी गरेको स्वीकार गरेका छन् ।

डेली स्टारले पनि करिब दुई महिनाअघि साउदीका तीनजना अधिकारीलाई परमिट जारीको बदलामा भर्ती एजेन्सीबाट घुस लिएको आरोपमा निलम्बन गरेको समाचार प्रकाशित गरेको थियो । तेस्रो कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन । तीमध्ये दुई जना अधिकारी अहिले पक्राउ परेका छन् ।

साउदी र बंगलादेशी मिडियामा भनिएको छ कि करिब एक वर्ष पहिले ढाकास्थित साउदी दूतावासले नियम उल्लङ्घन गरी भर्ती गर्ने एजेन्सीहरूबाट प्रत्येक कार्य भिसाका लागि २२० देखि २५० डलर लिन थालेको थियो।

धाँधलीमा संलग्न केही अभियुक्तको घरमा छापा मारेर ५० लाखभन्दा बढी नगद, सुन र सवारीसाधन बरामद भएको छ । नाजाका अनुसार यो सबै साउदीमा वर्क भिसा बेचेर आम्दानी भएको खुलेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *