‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार

डिसी नेपाल
१ चैत २०७९ ६:५७

काठमाडौं। उपराष्ट्रपति पदका लागि आधिकारिक उम्मेदवारका विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित बनेको छ। राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई मतदान गर्न एक भएका गठबन्धन आबद्ध दलहरू उपराष्ट्रपति पदमा भने विभाजित बनेका हुन्।

गठबन्धनमा आबद्ध मुख्य चार दलले जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले यादवका पक्षमा मतदान गर्नेगरी आन्तरिक तयारी गर्ने र सोहीअनुसार पार्टीका सांसदलाई सर्कुलर गर्नेगरी रणनीति बनाएका हुन् ।

यस्तै, गठबन्धन आबद्ध दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । राष्ट्रिय जनमोर्चाले उपराष्ट्रपति पदमा कसलाई सघाउने निर्णय गरेको छैन भने राष्ट्रपतिमा पौडेलका पक्षमा उभिएको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई मत दिने पक्षमा छैन ।

कांग्रेसले यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज ११ बजे कार्यसम्पादन समिति बैठक नै डाकेको छ । कार्यसम्पादन समितिको बैठकमार्फत जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका यादवका पक्षमा निर्णय हुने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

‘जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय यादवका पक्षमा कांग्रेसले कार्यसम्पादन समितिबाट आफ्नो मत दिने निर्णय गर्छ, यो पहिलेकै सहमति हो,’ कांग्रेसका एक पदाधिकारीले  भने ।

कांग्रेस पदाधिकारीहरू कार्यसम्पादन बस्नुअघि अनौपचारिक छलफलका लागि मंगलबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेका थिए । सो बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि छलफल भएको ती कांग्रेस पदाधिकारीले जानकारी दिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । जसअनुसार सत्तारूढ गठबन्धनबाट तीन जना र नेकपा एमालेबाट एक जनाको गरी चार जनाको उम्मेदवारी कायम भएको छ ।

तर, जसपाबाटै उपराष्ट्रपति उम्मेदवार बनेकी प्रमिला यादवले आफ्नो उम्मेदवारीबाट पछि हटेको घोषणा गरीसकेकी छन् । उनले सोमबार आफ्नो समर्थन रामसहायलाई हुने भन्दै विज्ञप्ति प्रकाशित गरी आफू पछि हटेको घोषणा गरेकी हुन् ।

सत्ता गठबन्धनमा नै रहेको दल जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाएको छ । यस्तै, नेकपा एमालेबाट उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार छिन् । एमालेले गठबन्धन विभाजित हुँदा त्यसको फाइदा उपराष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई पर्ने आँकलन गरिरहेको छ । रास्वपाको मतसमेत आफ्नो पक्षमा आउने एमालेको आँकलन छ ।

नेपालको संविधान २०७२ को धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने’ व्यवस्था उल्लेख छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५) मा उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने उल्लेख छ । २५ फागुनमा भएको निर्वाचनबाट राष्ट्रपति पदमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *