युरोपका नेपाली बालबालिकाका लागि नेपाली पाठशाला

डिसी नेपाल
१२ चैत २०७९ २३:०९
528
Shares

लिस्बन। युरोपका विभिन्न मुलुकमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ। नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्तरूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो।

युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने उद्देश्यअनुरूप नेपाली पाठशाला सञ्चालन गर्न लागिएको नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले जानकारी दिइन्।

“विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, श्रेष्ठले भने।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिने पाठशाला यही नयाँ वर्ष २०८० को आरम्भसँगै सुरु हुने बताइएको छ। पाँचदेखि १० वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइने पाठशाला साताको प्रत्येक शनिबार सञ्चालन हुनेछ।

समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने समाजले जनाएको छ। पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ।

अनुभवी नेपाली शिक्षिकामार्फत कखरादेखि नेपाली शब्द, वाक्य, अङ्क लेखन र उच्चारण तथा नेपाली भाषा, कला र संस्कृति सिकाइने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष सवी श्रेष्ठले बताइन्।

पाठशाला नेपाली समयअनुसार दिउँसो २ः४५ बजे र पोर्चुगलको समयअनुसार बिहान ९ः०० बजे सञ्चालन हुनेछ। विदेशी भूमिमा हुर्केका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन समाजले नेपाली समुदायसँग आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *