मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?

डिसी नेपाल
१७ चैत २०७९ ६:४३

काठमाडौं। सत्ता गठबन्धन आबद्ध नौ दलले सरकारमा सहभागी हुने दलको मन्त्रालयको संख्या र मन्त्रीको नाम टुंगाएका छन्। गठबन्धनमा आबद्ध ११ दलमध्ये नौ दल आजै सरकारमा सहभागी हुँदै छन्।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी नौ दलको सहभागिता हुने भएको हो।

नेकपा एकीकृत माजवादीका उपाध्यक्ष वेदुराम भुषालले सरकारमा नौ दल सहभागी हुने र शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए।

‘सरकारमा नौ दल सहभागी हुनेगरी मन्त्रालयको टुंगो लागेको छ, मन्त्रीको नामसमेत लगभग तय भइसकेको हुँदा शुक्रबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुषालले भने।

कांग्रेसले बिहीबार आफूले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्रीको नाम पनि तय गरिसकेको छ। कांग्रेसले आठवटा मन्त्रालय पाउने सहमति छ।

कांग्रेस स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का सरकारमा उपप्रधानसहित सहभागी हुँदै छन्। उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।

गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ।

कांग्रेसले अर्थ मन्त्रालयमा प्रवक्ता प्रकाशशण महतलाई पठाउने यसअघि नै तय भइसकेको छ। यस्तै, सहरी मन्त्रालयमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बू र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने कांग्रेसको तयारी छ।

कांग्रेस उपसभापति खड्का र नेता रमेश रिजालको भने मन्त्रालय तय भइसकेको छैन। उनीहरूमध्ये एकले परराष्ट्र र अर्काले रक्षा मन्त्रालय सम्हाल्नेगरी सभापति शेरबहादुर देउवाले जिम्मेवारी दिन निर्णय लिनेछन्। कांग्रेसले मन्त्री र मन्त्रालयको नाम तय गर्ने अधिकार सभापतिलाई दिइसकेको छ।

यसैगरी, माओवादी केन्द्रले गृह मन्त्रालयसहित पाँच, एकीकृत समाजवादी र जसपाले दुई/दुई मन्त्रालय पाउनेछ। माओवादी केन्द्रबाट हाल सरकारमा रहेका मन्त्री नै कायम रहनेछन्।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन्। एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ।

यसैगरी, जसपाबाट अशोक राई र राजकिशोर यादव वा प्रदीप यादवमध्ये एक जना मन्त्री हुँदै छन्। जसपाले शिक्षा र कृषि मन्त्रालय पाएको छ।

नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय पाएको छ। सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्दै छिन्। लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै छन्। लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ।

जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ सो दलबाट अब्दुल खान मन्त्री छन्। उनलाई खानेपानी मन्त्रालयबाट उद्योगमा सरुवा गर्ने तयारी छ। सो दलले एक राज्यमन्त्री पनि पाउनेछ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ। सो दलबाट महिन्द्रराय यादव मन्त्री बन्दै छन् भने आमजनता पार्टीबाट प्रभु शाह मन्त्री बन्दै छन्।

भागबन्डामा केही मन्त्रालय हेरफेर हुने भएपछि भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्नेछन्। राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *