लोपोन्मुख व्यवसायहरू

कपिल लोहनी
१८ चैत २०७९ ६:३७

खासगरी २१ औँ शताव्दीमा आएर सबैजसा मुलुकहरूका विभिन्न खाले परम्परागत व्यवसायहरू लोप हुने स्थितिमा पुगेका छन्।

यस्तो हुनुको मुख्य कारणमा विज्ञान तथा प्रविधिले विशाल फड्को मार्नु, शिक्षाको पहुँच बढ्दै जानु, कामको सिलसिलामा विदेशतिर पलायन हुनु तथा विदेशी उत्पादनको वाहुल्य बढ्दै जानु हो। नेपालकै कुरा गर्ने हो भने, आजभन्दा ५० वर्ष अघिसम्म निकै चलन चल्तीमा रहेका व्यवसायहरू बिस्तारै विस्थापित हुँदै गएका छन्।

पुस्तैनी पेशाहरू विभिन्न जातजातिले चलाइरहेकोमा आज आएर नेपालमा जनताको शासन बलियो हुँदै जानुका साथै सबै जातजातिले आफ्ना अधिकार माग्ने बाटो पनि खुलेकोले उनीहरू यस्तो पुर्खौली पेशामा मात्र अल्झिएर बस्नुपर्ने अवस्था छैन।

हामी साना छँदा काठमाडौँमा मात्र होइन, मुलुकका विभिन्न ठाउँमा रहेका परम्परागत मिठाई पसलहरूमा नै मिठाई खरिद गर्ने तथा नास्ता तथा खाजा खाने चलन थियो।

तर जब भारतका मिठाईका परिकार पाइने पसलहरू उतैका व्यवसायीहरू आएर खोल्न थाले, त्यसपछि बिस्तारै परम्परागत मिठाई पसलको बिक्री घट्दै जान थाल्यो।

आज आएर काठमाडौँको नरदेवी, नक्साल, हाँडीगाउँ, चावहिल, बानेश्वरलगायत ललितपुर र भक्तपुरका मुख्य इलाकामा यस्ता परम्परागत मिठाई पसलहरू अझै पनि चलिरहेका छन् भने अबको नयाँ पिँढीले यस्ता पुस्तैनी व्यवसायबाट बिदा लिँदै जाने सम्भावना झनै प्रवल हुँदै गएको छ।

विराटनगरको कलाकन्द, पहाडका कसार, अनर्सा, अर्सा तथा सक्खरमा पकाएका रोटीहरू, खुवा, कुराउनी तथा नरिवलका परिकारहरू, सिरौँलाको खट्टे, सिखर्नी आदि सबै लोप हुन थालिसके। हाल चलिरहेका परम्परागत मिठाई पसलहरूमा पनि पहिलेका जस्ता सबै मिठाई बन्दैनन्। जे जस्ताको धेरै माग हुन्छ, त्यस्ता मात्र बन्दछन्।

हिजो आज मिठाई बनाउन चाहिने शुद्ध कच्चा पदार्थ जस्तै घ्यू, दूध, सक्खर, खुवा, चाकु आदि पनि पाउन मुस्किल छ भने चिनी, पिठो तथा अन्य सामग्री समेत महँगा भइसके।

नयाँ पिँढीलाई बाआमाका यस्ता पसलमा बस्ने मोह पटक्कै नभएकाले भ्याई नभ्याई गरेर बनाउनु पर्छ मिठाईहरू। त्यसमाथि काम गर्ने मानिसहरू पनि हतपत पाईँदैन र पाइएमा पनि धेरै समय टिकेर बस्दैनन् पहिले जस्तो।

हामीले जन्मेदेखि बाल्यावस्थासम्म पनि आफ्नै टोलका नाइके दाइले र उनकी श्रीमतीले सिलाएका भोटो, सुरुवाल तथा काने टोपी लगाएर हुर्कियौँ। हाम्री माताका चोलो, खास्टो तथा अन्य कपडा पनि त्यतै सिलाउने गरिन्थ्यो।

विवाह, ब्रतबन्ध तथा चाडपर्वमा पञ्चेबाजा बजाउने, ब्याण्ड बाजा बजाउने यो समुदायका नयाँ पुस्ताले बिस्तारै अन्य व्यवसाय अँगाल्दै गएकाले नेपालका परम्परागत बाजाहरूसमेत ओझेलमा पर्न थालेका छन्।

उनीहरू घरैमा आएर नाप्ने तथा बनेका कपडा बुझाउने गर्दथे। दमाई समुदायका उनीहरू निकै भद्र स्वभावका थिए। आज आएर उनका सन्तान नेपालका प्रख्यात संगीतकर्मी भएका छन् भने परिवारका एकाध सदस्यले मात्र परम्परालाई धानी रहेको अवस्था छ।

विवाह, ब्रतबन्ध तथा चाडपर्वमा पञ्चेबाजा बजाउने, ब्याण्ड बाजा बजाउने यो समुदायका नयाँ पुस्ताले बिस्तारै अन्य व्यवसाय अँगाल्दै गएकाले नेपालका परम्परागत बाजाहरूसमेत ओझेलमा पर्न थालेका छन्।

काठमाडौँ उपत्यकामा चाडवाडमा बजाइने धिमय् बाजा तथा अन्य नेवारी सांस्कृतिक धुन बजाउने युवकहरूको कमीले गर्दा हिजोआज महिलाहरू आफ्नो संस्कृति जोगाउन अघि सरिरहेका छन्।

विभिन्न गुठी तथा संस्थाहरूले महिलाहरूलाई परम्परागत बाजाहरू बजाउने तालिम दिने गरेका छन्। केही दिन अघि काठमाडौँमा रामनवमीको धार्मिक जुलुस निस्कँदा महिलाहरूले पञ्चेबाजा बजाएको दृश्य हेर्न पाइएको थियो।

गाउँघरमा विभिन्न कुराको सन्देश पुर्‍याउन पहिले पहिले कटुवालप्रथाको ठूलो महत्व हुने गर्दथ्यो।

तर आज अत्याधुनिक प्रविधि आइसकेकोले पुरानो चलनलाई जोगाई राख्न कतै कतैका विकट ठाउँमा मात्र यो प्रथालाई जिउँदो राख्ने प्रयास भइरहेको छ भने कटुवाल थर भएका मानिसहरू भने समाजका विभिन्न ओहदा, व्यवसाय र क्षेत्रहरूमा आफ्नो स्थान बनाएर बसेकै छन्।

पुरानो समयमा मुलुकभर नै सार्कीहरूले बनाएको जुत्ता लगाउने आम चलन थियो। पछि पछि विदेशबाट जुत्ता मगाएर लगाउने प्रचलन बढ्दै गएपछि सार्कीहरू जुत्ता तथा छालाका सामान मर्मत गर्ने पेशामा सीमित हुन थाले।

हिजो आज त त्यसरी जुत्ता र छालाका सामान मर्मत गर्ने व्यवसाय पनि निकै नै पातलिँदै गएको छ। बरु स्वदेशी जुत्ता उद्योगहरूले भने निकै प्रगति गरेका छन् र तिनमा एक जातका मानिस मात्र कार्यरत नभई सबै प्रकारका श्रमिकहरू हुने गर्दछन्।

कपाल काट्ने, दाह्री र जुङ्गा बनाउने पेशामा लागेका पुराना मानिसहरू हिजोआज नगण्य मात्रामा भेटिन्छन्। यो काम पुरै जस्तो भारतबाट विभिन्न समयमा नेपालमा आएर बसोवास गरेका हजामहरूको हातमा पुगेको छ।

काठमाडौँमा कुनै समय नापितहरूले यो पेशा धानेका थिए। तर हाल यो समु्दायका मानिसहरू शिक्षाको प्रभावले गर्दा विभिन्न व्यवसायमा कार्यरत छन्।

नेपालका विकट गाउँघरमा रहेका दमाई समुदाय पनि अब पहिले जस्तो वर्षभरीको बाली लिएर लुगा सिलाइ दिने र बाजा बजाइ दिने कामबाट पर हुँदै गएका छन्। त्यस्तै भाँडा तथा फलामे हतियार बनाउने आरन र आर्ने जातिहरू पनि निकै नै कम भइसकेका छन्।

गाउँघरमा माटोको भाँडा बनाउने आदिवासी कुमाल जातीसमेत हिजो आज सो पेशामा रहेको पाइँदैन। तराईमा पनि माटोको भाँडा र मूर्ति बनाउने पुरानो व्यवसाय विस्थापित हुँदै गएको छ।

वातावरणीय ह्रासले गर्दा भनेजस्तो राम्रो माटो समेत भेट्न कठिन भएको छ माटाका भाँडा तथा अन्य वस्तु बनाउने कुमालेहरूलाई। हुँदा हुँदा तिहारमा बत्ति बालिने माटोको पालादेखि गुन्द्रुक र देवदेवीको तस्विर तथा फागु खेल्न प्रयोग हुने रङ र पिच्कारीसमेत चीनबाट आयात हुन थालेको छ।

केही समय अघिसम्म पनि घरमा खाना पकाउनको निम्ति ब्राह्मण भान्से राख्ने चलन थियो। तर आज त अन्य जातका भान्से पाउन पनि मुस्किल भइसक्यो।

हामी साना छँदा घरमा काम गर्ने मानिसलाई खाइ लाइकन महिनाको २० रुपैयाँसम्म दिने चलन थियो, पछि पछि ससाना काम गर्ने केटाकेटीलाई स्कूल पठाउने चलन आयो। तर आज आएर त घरको काम गर्ने मानिसहरू पाउन पनि निकै गाह्रो छ।

हाम्रो मामाघरमा ठूलो परिवारको भान्सामा पकाउने तथा खाद्य सामग्रीको व्यवस्थापन गर्ने जोशी थरका एक भान्से थिए। धोती लगाएर भात पकाउने तथा हजुरबुवाको पूजाकोठामा पूजाका सामान र फुल ठीक गरिदिने तिनका छोरा पनि त्यतै भान्से भएर बसे भने कामको साथै अध्ययन पनि त्यहीँ बस्दा गरेर पछि एउटा अग्रणी राजनैतिक पार्टीका उच्च तहका नेताका साथै मन्त्री समेत भए।

सत्तामा पुगेपछि मज्जाले खाइलाग्दा बनेका उनी आखिर भ्रष्टाचारको आरोप लागेर जेलको हावासमेत खान बाध्य भए। हाल मुकदर्शकको रूपमा आफ्ना भन्दा पनि संगीन कुकृत्य गर्ने नेताहरू पनि ठाँटका साथ राज गरिरहेका दृश्य टुलुटुलु हेरेर बस्न बााध्य भएका छन्।

त्रिभुवन विमानस्थलको पूर्वपट्टिको मनहराको फाँटमा भैमाल भन्ने गाउँ थियो। त्यहाँका बासिन्दाको पुर्खौली पेशा नै गाईभैँसी पाल्ने र दुध बेच्ने हो। कति पछिसम्म पनि तिनीहरूलाई बिहानको समयमा विमानस्थलभित्रबाट काठमाडौँ ओहोर दोहोर गरेर घर घरमा दुध बेच्न जान छुट थियो।

तर आज न त त्यो भैमाल भन्ने ठाउँ नै अस्तित्वमा छ, न नै भैमालेहरू। यस्ता दूध बिक्री गर्ने परिवारहरू काठमाडौँको काँठहरूमा जताततै थिए। यसरी नै दूध बेच्नेहरू मुलुकभर नै थिए।

जमीनको चर्को मूल्य, दुध ढुवानीमा समस्या, आधुनिक डेरीहरूको स्थापना र नयाँ पिँढीको घर घरमा गएर दूध पुर्‍याउने अनिच्छा आदिले गर्दा यो व्यवसाय पनि करिव करिव ठप्प हुँदै गएको छ। बरु जे जति दूध उत्पादन हुन्छ, त्यो सब डेरीलाई नै विक्री गर्दा सजिलो पर्न जान्छ आजकल।

हिजो आज त धेरैको घरमा वासिङ मेसिन छ भने आधुनिक ड्राई क्लिनरहरूले पनि मुलुकका सबै शहरहरूमा ठूलो लगानीका साथ व्यवसाय चलाइरहेका छन्। यो काम पहिले धोवीहरूले गर्दथे। काठमाडौँ उपत्यकामा धोवीधारा, धोवीचौर, धोवीघाट आदि जस्ता नामका आज पनि टोलहरू छन्।

तर त्यहाँ पहिले हुने गरेको लुगा धुने व्यवसाय अब करिव करिव समाप्त भइसकेको छ। यसमा पनि नयाँ पिँढीले शिक्षाको राम्रो अवसर पाउँदै जानु, विभिन्न संस्थाहरूमा आफ्नो पढाई मुताविकको काम पाउनु, विदेशमा पलायन हुनु, जग्गाको मूल्य आकासिएर लुगा सुकाउने जग्गा नै नपाउनु तथा भूमिगत पानी तथा ढुङ्गे धाराहरू सुक्दै जानु मुख्य कारणहरू हुन्।

लिच्छवी तथा मल्लकालमा नै धोवी तथा मासु काट्ने जातिहरू बङ्गालबाट काठमाडौँ र नेपालको पूर्वी भागमा आएर बसोवास गरेका तथा स्थानीय संस्कृति र भाषासँग भिजेका कुरा इतिहासमा पढ्न पाइन्छ।

हाम्रा हजुरबुवाको पालामा एक जना विद्वान पण्डितबाजे आएर धार्मिक संस्कारहरू गरिदिन्थे। उनको निधन पछि उनका छोरा आउन थाले भने उनका पनि छोराहरू होम लगाउँदा र पाठ गर्नु पर्दा आएर उनलाई सघाउँथे।

पछि उनको पनि निधन पश्चात उनका छोराहरूले पण्डित पेशा अपनाएनन्। कोही ठूलो राजनैतिक दलका उच्च नेता भएर मन्त्रीसमेत भए भने कोही कानुन अध्ययन गरेर कानुनविद् बने। हाल आएर पुरोहितको सेवा पाउन पनि त्यति सजिलो छैन र अब पछिको समयमा त झनै मुस्किल हुने पक्का छ।

पूजारीको अभावले गर्दा नै ललितपुरका कैयन् प्रमुख मन्दिरहरूको पूजाआजामा हाल मिश्र तथा झा ब्राह्मणीहरू संलग्न भएको कुरा हालै एक छापामा छापिएको थियो। यसरी नै विभिन्न शुभ तथा अशुभ धार्मिक कार्यहरू समेत महिलाले आएर गरिदिने चलन पनि शुरु भइसकेको छ।

विभिन्न मठ-मन्दिरमा पूजा गर्ने पूजारीहरूको समेत कमी हुँदै गएको छ। यसो हुनुमा पनि नयाँ पिँढीलाई यस्तो काममा रूची नहुनु र पूजापाठको निम्ति सरकार र गुठीहरूले छुट्टाउने गरेको वार्षिक रकम अति नै थोरै भएकोले गर्दा पूजाका सामान समेत खरिद गर्न हम्मे पर्ने अवस्था हुने गरेको छ।

पूजारीको अभावले गर्दा नै ललितपुरका कैयन् प्रमुख मन्दिरहरूको पूजाआजामा हाल मिश्र तथा झा ब्राह्मणीहरू संलग्न भएको कुरा हालै एक छापामा छापिएको थियो। यसरी नै विभिन्न शुभ तथा अशुभ धार्मिक कार्यहरू समेत महिलाले आएर गरिदिने चलन पनि शुरु भइसकेको छ।

महिला पनि कृयापुत्री बस्ने चलन शुरु भइसकेको छ। इ-पूजा, भर्चुअल तथा सामुहिक पूजा, श्राद्ध आदिले पनि व्यापकता पाउने कुरामा कुनै शंका छैन।

हामी सानो छँदासम्म काठमाडौँ र विभिन्न ठूला शहर तथा गाउँहरूमा नङ काट्ने नङिनीहरूको सेवा पाइने गर्दथ्यो। यो सेवा खासगरी गृहिणी महिला र वृद्ध-वृद्धाहरूको लागि थियो।

एउटै घरमा पनि देउरानी, जेठानी, सासु, नन्द, आमाजु आदिको नङ काट्ने, हात र खुट्टाका नङमा पलाएका अनावश्यक छाला तथा फोहर सफा गरिदिने तथा औँलाहरूमा रातो रङ लगाएर चिट्ट पारिदिने (आजको भाषामा म्यानिकेयर र पेडिकेयर) काम नङिनीहरूको हुन्थ्यो।

घरघरमा गएर प्रत्येक ग्राहकको सेवा गर्न आधा घण्टादेखि दुई घण्टासम्म लाग्ने हुँदा विभिन्न विषयका खासगरी घरायसी कुराहरू भन्ने र सुन्ने काम पनि सो अवधिमा हुन्थ्यो यी महिलाहरू बीच।

भन्नै पर्दा नङिनीहरू परिवारभित्र र घर घरका कुराका ज्ञाता नै हुन्थे र उनीहरूबाटै घर घरका कहानीहरू एक कान, दुई कान, मैदान हुन्थे। ठूला घरानादेखि साना घरका कहानीहरू यिनै नङिनी मार्फत प्रसार हुने गर्दथ्यो। अब त नङिनी पेशा लोप नै भएर ब्युटी पार्लरहरूमा यस्ता सेवा लिन जानु पर्छ।

काठमाडौँ उपत्यका, जनकपुर, हिमाल, पहाड तथा तराईमा रहेका मठ, मन्दिर, गुम्बा तथा दरवारहरू वास्तुकला, हस्तकला, मूर्तिकला र चित्रकलाको क्षेत्रमा निकै पहिलेदेखि नै कहलिएका स्थानहरू हुन्।  यिनमा भएका कलाकारिताहरूको सिर्जना गर्ने ज्ञात तथा अज्ञात कलाकारहरू अनन्तकालसम्म पनि सम्झनामा आइरहने छन्।

हालैको महाभूकम्प पश्चात पनि तिनै कलाकारहरूका सन्तान दरसन्तानहरूले भत्किएका प्राचिन संरचनाहरूको पुनर्निमाण गरेर देखाएका छन्। तर यसपाली काठ तथा ढुङ्गाको समेत अभाव र नयाँ पिँढीको ज्यादै न्यून उपस्थितिले गर्दा यो विधा पनि ओझेलमा पर्ने हो कि भन्ने भय उत्पन्न गराएको छ।

आजको आधुनिक युगभन्दा पहिले कविराज तथा आयुर्वेदिक औषधिहरूको ठूलो महत्व रहन्थ्यो। मुलुकभित्र र बाहिर पाइने जडिबुटी तथा उपयोगी खनिजहरूको जोहो गरेर उचित मात्रा मिलाई कविराजहरूले ओखति बनाउँथे भने विरामीको उपचार पनि उनीहरूले नै गर्दथे।

सितोपलादी, हृदयचिन्तामणी, षडविन्दु तेल, दुखभञ्जन, शिलाजित तथा अनेकौँ लौह, भष्म, लवण तथा बुटीहरू मिलाएर चुर्ण तथा पेय औषधको विकास गर्थे उनीहरू र विभिन्न सामान्य र जटिल रोगको उपचारमा खट्दथे।

तर अब कविराज, वैद्य तथा त्यस्ता औषधी पसलहरू लोप हुँदै गइसके। केही कविराज र वैद्यका सन्तती पश्चिमा चिकित्सा पद्धतिका ज्ञाता भएर सेवा गरिरहेका छन् भने केही पुराना औषधालयहरू अझसम्म पनि अस्तित्वमा नै रहिरहेका छन्।

त्यस्तै व्यावसायिक रूपमा आयुर्वेदिक र प्राकृतिक चिकित्सा र औषधि उत्पादन गर्ने उद्योगमा पनि केही पुराना चिकित्सकका सन्तानहरू संलग्न छँदै छन्।

गाउँघरमा उपचार गर्ने धामी-झाँक्री पनि लोपोन्मुख नै छन्। एकातिर आधुनिक चिकित्सा पद्धतिको पहुँच गाउँ गाउँमा हुनु र अर्कोतर्फ धामीका सन्तान पनि शिक्षा र राजनीतिमा लाग्नाले आफ्नो पुर्खौली पेशामा लाग्ने कोही पनि भेट्न गाह्रो भइसकेको छ।

हुन सके सरकारले नै चीनमा जस्तै खाली खुट्टा हिँड्ने गाउँले चिकित्सक (बेरफुट डक्टर) हजारौँको संख्यामा उत्पादन गरेर गाउँगाउँमा पुर्‍याउँदा ज्यादै राम्रो हुन्थ्यो। यस्ता स्थानीय डाक्टरको उत्पादनमा हाल भएका धामी-झाँक्रीलाई पनि समावेस गर्न सके झनै राम्रो हुने थियो।

कुनै समयमा धेरै कृषि उपजहरू निर्यात गर्ने मुलुक नेपाल आज आएर जे पनि आयात गर्नुपर्ने अवस्थामा पुगेको छ।

बढ्दो जनसंख्या, खेतीयोग्य जमिनहरू प्लटिङ हुँदै घरैघर बन्नु, जग्गाको मूल्यले आकाश छुनु, मुलुकमा वेरोजगारी बढेर विदेश जाने क्रम बढ्नु, जलवायु परिवर्तन र असन्तुलित तथा योजना विनाको विकास कार्यले गर्दा पानीका मूलहरू सुक्नु, नदी प्रदूषित हुनु, सिमसार तथा ताल क्षेत्र सुक्दै जानु र वर्षाको कुनै ठेगान नहुनु, मल तथा विउविजनको अभाव हुनु, बजार व्यवस्थित नहुनु, अंशवण्डाका कारण जमीन सानो हुँदै जानु, स्वदेशमा नै उत्पादन हुने वस्तुको मूल्य भन्दा सस्तोमा विदेशबाट उत्पादन भित्रिनु आदि कारणले नेपालको कृषियोग्य जमीन बाँझो हुँदै गएको छ।

एक हिसाबले माओवादीको एक दशक लामो जनयुद्धको कारण पनि जमीन कब्जा र युवाहरूको भागदौड मच्चिएदेखि कृषि माथिको मोह भङ्ग हुँदै गएको तथ्य पनि साचो नै हो।

आज मुलुक बदलिएको भनिएता पनि यसरी मुलकभरका युवावर्ग मुलुकभित्रको चरम वेरोजगारी र अव्यवस्थाले गर्दा अझसम्म पनि विदेशिन वाध्य भएपछि गाउँघरका कृषियोग्य जमिन बाँझा हुँदै जानुमा कुनै अचम्म मान्नु नै पर्दैन।

आफूलाई आवश्यक केही अनाज र सागसब्जी मात्र सकिनसकी उब्जाउने वृद्धवृद्धा तथा महिलाहरूले पुरै खेत हराभरा गर्न सक्ने त कुरै भएन। बरु गाउँघरमा धेरै मेहनत गर्न नपर्ने फलफुल खेती र पशुपालन चाहिँ केही हदसम्म फस्टाउन थालेको छ।

सन्तान सानै छँदादेखि शिक्षाको साथसाथै घरको व्यवसायमा पनि आमाबाबुले बालबालिकालाई सरिक गराउँदै लगे भने पुर्खौली व्यवसायमा केही चाख रहने रहेछ। त्यस्तै कतिपय राम्रो आय आर्जन गर्ने पुर्खौली व्यवसायहरूलाई नयाँ पिँढीले सुधार गर्दै झनै अब्वल दर्जामा परिणत समेत गरेका कैयन् उदाहरणहरू छन्।

गाउँघरमा उपचार गर्ने धामी-झाँक्री पनि लोपोन्मुख नै छन्। एकातिर आधुनिक चिकित्सा पद्धतिको पहुँच गाउँ गाउँमा हुनु र अर्कोतर्फ धामीका सन्तान पनि शिक्षा र राजनीतिमा लाग्नाले आफ्नो पुर्खौली पेशामा लाग्ने कोही पनि भेट्न गाह्रो भइसकेको छ।

पुर्खौली पेशा छोड्दै जानुको मुख्य कारण नै शिक्षा, समावेशीता, देशी तथा विदेशी औद्योगिक उत्पादनहरू गाउँघरसम्म पुगेर पुरातन तथा घरेलु उत्पादनलाई विस्थापित गर्नु र गाउँका युवाहरू विदेश पलायन हुनु हो।

आजभन्दा आधा शताब्दि अघिसम्म पनि धेरै सेवा तथा उत्पादनहरू मुलकभित्र नै हुने भएकोले नेपाल धेरै कुरामा आत्मनिर्भर थियो। तर आज आएर नेपाल ज्यादै परनिर्भर हुँदै गएको छ।

सञ्चार, विज्ञान तथा प्रविधिले गर्दा विश्व निकै सानो हुँदै गइरहेको छ भने अर्को तर्फ विश्वको जनसंख्या बढेर ८ अर्ब २ करोड पुगिसकेको छ। १०० वर्ष अगाडिको स्पेनिश फ्लू केही महादेशमा मात्र सिमित भएकोमा हाल आएर विश्वको एक ठाउँबाट अर्को ठाउँमा दिनहुँ ओहोर दोहोर गर्ने मानिसहरूको संख्या नै करोडौँ पुगिसकेकोले यसपाली कोभिड-१९ महामारीले विश्वलाई नै ठप्प पारेर आज ३ वर्ष बितिसक्दा पनि निमिट्यान्न भएको छैन।

त्यस्तै विश्वको एउटा स्थानको संस्कृति र आनीबानी सबै ठाउँमा मिसिँदै जाने क्रम तिव्र हुँदै गएको छ। जसले गर्दा विश्वभर नै उस्तै लवाई तथा खवाई र सोचले गर्दा पुरै विश्व एकै प्रकारको हुँदै गएको छ।

यस्तो अवस्थामा मौलिक परम्परालाई धानेर राख्नु एक ठूलो चुनौती त हुने नै भयो। तर पनि सरकारी, स्थानीय, नीजि र व्यक्तिगत तवरबाट भएता पनि आफ्नौ मौलिकतालाई जोगाएर राख्नु प्रत्येका मुलुक र समुदायको दायित्व नै हुन जान्छ।

जात, पात, वर्ण वा लिङ्ग र धर्मको भेदभाव नगरी सबैले आफ्नो परम्परालाई जोगाएर पछिका पिँढीको ज्ञानको निम्ति मात्र भए पनि राख्नु पर्ने समय आएको छ।

लेखक विकास अर्थशास्त्री र पूर्व बैंकर हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *