स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताह

खगेन्द्रराज सिटौला
२३ चैत २०७९ १०:२४

यो लेखको शिर्षक स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताह राखियो। सामन्यतया नेपालमा खासगरि हिन्दु धर्माावलम्बीमा सातदिने भागवत कथा वाचन याने पुराणलाई सप्ताह पनि भन्ने चलन छ।

सप्ताह आफैंमा सम्मानित शब्द हो राजनीतिमा पनि शहीद सप्ताहा पनि मनाइँदै आएको छ। यहाँ स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताहको चर्चा गर्न खोजिएको छ।

एउटा त स्वदेशी उत्पादन दिवसका सप्ताहहरु आयोजित भइरहुन् भन्ने हो भने अर्को चाहिँ स्वदेशी उत्पादन दिवसको विशेष सम्मानित सप्ताह मनाउने सन्दर्भ हो। यसको सार र धार भनेको स्वदेशी उत्पादन मन पराउने र स्वदेशी उत्पादनमा रमाउने नै हो।

स्वदेशी उत्पादन र उपभोग बढाउने नै हो। स्वदेशी उत्पादनको स्तर र खपत बढाउने हो। स्वदेशमा स्वदेशी उत्पादनको माग र आपूर्ति बढाउने हो। स्वदेशी उत्पादन र उपयोग बढाएर स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन योगदान दिने हो।

स्वदेशीपन र स्वदेशीमनलाई संगठित गर्ने हो। स्वदेशी उत्पादनको लहर ल्याउने र रहर जगाउने हो। स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको आधार खडा गर्ने हो। स्वदेशी उत्पादको गुणस्तरमा सुधार ल्याएर विदेशी उत्पादनलाई प्रतिस्थापना गर्ने क्षमता र हैसियतमा अभिवृद्धि गर्ने हो।

स्वदेशी उत्पादन दिवस हानि नभएर फाइदै फाइदाको काइदाको दिवस हो आफैंमा। यो बेच्ने र किन्ने सबैलाई फइदा मात्र दिने दिवस भएकोले यसको विशेष महत्व छ।

स्वदेशी उत्पादन दिवस पृथ्वी विचारमा आधारित छ। र यो पृथ्वीविचारद्वारा निर्देशित छ। त्यसैले स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताह स्वदेशवादी विचारका प्रणेता एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहसँग जोडिएर स्वभाविक रुपमा सम्मानित स्वदेशवादी सप्ताहामा विशेष र भव्यरुपमा अंकित हुने छ।

कुरा सामान्य हो पृथ्वीनारायण शाहले स्पस्ट भाषामा भनेका छन्। मैले आफ्नै गोर्खामा बनाएका खस्रा कपडा लगाएर नै यति ठूलो नेपाल निर्माण गर्न सफल भएको हो। यसरी स्वदेशी कपडा लगाइयो भने नगद विदेश जाँदैन।

यसको गुणस्तर सुधार्नको लागि विदेशी प्रविधि र प्राविधिक ल्याएर भए पनि प्रयास गर्न सकिन्छ भन्ने मान्यता हो। यसको प्रत्यक्ष लाभ देश र जनताले प्राप्त गर्ने नै हो। त्यो लाभ भनेको नगद विदेशमा नजाने र स्वदेशमा नै रहने हो।

सरकारमा पृथ्वीनारायण शाहको सालिक तोड्नेहरु पनि छन् र सालिक तोड्ने काम गलत हो भन्ने पनि छन्। तर उनलाई कसरी सम्मान गर्न सकिन्छ भनेर चिन्ता र चिन्तन गर्नेहरु पाइएन। सरकार र दलहरु आ- आफना दलका नेता भन्दा माथि उठ्नै सकेनन्।

कपडा मात्रै होइन कि सबै अत्यावस्यक वस्तुहरु स्वदेशमा उत्पादन गर्ने क्षमताको विकास गर्ने उनको सार हो। नेपाल राष्ट्रका निर्माता मात्र होइनन् पृथ्वीनारायण शाह स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रका प्रणेता पनि हुन्।

त्यसैले उनको स्वदेशवादी अर्थतन्त्र राष्ट्रिय अर्थन्त्रन्त्रको मूलमन्त्र हो र हुनुपर्दछ। यसैको सम्मान र संझनामा स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताहाको विचार अघि सारिएको हो।

सरकारले राष्ट्रनिर्मातालाई कसरी संझने र कसरी सम्मान गर्ने भनेर सोचेको पनि पाइएको छैन। कसैले भन्छन् पृथ्वीनारायण जन्मेको दिन पुष २७ गते सार्वजनिक विदा दिएमा उनको सम्मान हुन्छ। सरकारले सो दिनको विदा कटौती गरकोमा सरकाको चर्को आलोचना भइरहेको थियो।

प्रचण्ड, एमाले राप्रपा गठबन्धन सरकारले पुन पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको छ। यो माग राप्रपा समेतले पनि उठाई रहेका थिए। उनीहरुको तर्क आफ्नो ठाउँमा सही छ। नेपाल राष्ट्रका निर्मातालाई कसरी सम्मान गर्ने भन्ने उनीहरुको चिन्ता आफैंमा सही चिन्ता हो। सरकार र अन्य दलहरुमा त यति चिन्ता र चिन्तन पनि पाइएन।

सरकारमा पृथ्वीनारायण शाहको सालिक तोड्नेहरु पनि छन् र सालिक तोड्ने काम गलत हो भन्ने पनि छन्। तर उनलाई कसरी सम्मान गर्न सकिन्छ भनेर चिन्ता र चिन्तन गर्नेहरु पाइएन। सरकार र दलहरु आ- आफना दलका नेता भन्दा माथि उठ्नै सकेनन्।

उनीहरुले संर्किण घेरा तोडेर फरकिलो फाँटमा जानै सकेनन्। जबसम्म उनीहरु नेपालका राष्ट्रनिर्मातालाई सही किसिमले सम्मान गर्ने अवस्थामा पुग्दैनन् तबसम्म उनीहरु संर्किण घेराबाट बाहिर आएर फराकिलो फाँटमा आएको मानिदैन। राष्ट्रनिर्मातालाई कसरी सम्मान गर्ने र उनको सम्मानबाट राष्ट्रले कसरी लाभ लिने छलफल यसैमा केन्द्रित गरौं।

राष्ट्रनिर्मातालाई रचनात्मक किसिमले सम्मान गरौं। राष्ट्रलाई लाभ मिल्ने गरि सम्मान गरौं। उनको जन्म दिनमा बिदा दिएर उनको साँचो अर्थमा सम्मान भएको हुँदैन। एकदिन पनि निष्कृय नबसेका सकृयता र संघर्षका प्रयाय पृथ्वीनारायण शाहको नाममा विदा दिएर राष्ट्रलाई नै ठप्प बनाउँदा उनको साँचो सम्मान भएको मानिदैन।

उनलाई रचनात्मक श्रृजनात्मक किसिमले सम्झिएमा मात्र उनको साँचो अर्थको सम्मान भएको मानिन्छ। यहाँ यही रचनात्मक सम्मान गर्ने विचारलाई अघि सार्न कोसिस गरिँदैछ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुष २७ गते हो भने दिवंगत भएको दिन माघ १ गते हो। यही २७ गतेदेखि माघ १ गतेलाई बीचमा पारेर हरेक वर्ष स्वदेशी उत्पादन दिवसको रुपमा मनाएर सरकारले राष्ट्रनिर्माता एवं स्वदेशवादी अर्थतन्त्रका प्रणेता श्री ५ पृथ्वीनारायण शाहलाई रचनात्मक किसिमले सम्मान गर्न सक्दछ।

हरेक वर्ष हरेक प्रदेश र स्थानीय निकायलगायत सबैले यस्तो स्वदेशी उत्पादन दिवस मनाउने हो भने स्वभाविक रुपमा स्वदेशी उत्पादनहरुको किनबेच राम्रैसँग भएर जान्छ।

सरकारले आगामी पुष २७ देखि माघ १ लाई केन्द्रमा राखेर स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताहको योजना बनाओस्। यो सप्ताहमा राजनीति नेता कार्यकर्तादेखि सरकारी अंगहरु सबैले कुनै एक स्वदेशमा उत्पादन भएका जुत्ता कपडा मात्रै किनेर पहिरिने हो भने पनि करोडौंको यी उत्पादनहरुको बिक्री हुन्छ।

विदेशीको भ्यालेन्टाएन दिनमा प्रेमको उपहार दिने नाममा करोडौंको गुलाफमा नगद बाहिर जान्छ।

यदि स्वदेशी उत्पादन दिवसको उपलक्षमा स्वदेशमा उत्पादित मायाका अनेक उद्गार लेखिएका नलेखिएका रुमाल मफलर पच्छ्यौरा, गाम्चा, धोती, टोपी, बख्खु हस्तकला आदि उपहार दिने लहर र रहर जगाउने हो भने पनि यसले पनि गतिलै किसिमले स्वदेशी उत्पादनको बजारलाई माथि उठाउँदछ।

यो दिवसलाई आकर्षक बनाउन सरकारले केही वर्ष चर्चित सेलीब्रेटी आदिलाई स्वदेशी उत्पादन दिवसको उपलक्षमा स्वदेशी उत्पादन विशेष उपहार दिन सक्छ।

आ-आफना प्रियजनहरुलाई राष्ट्रियस्तरमा चर्चितहरुले उपहार दिएर यो दिवसको आकर्षण बढाउन सक्छन्। सामिजिक सञ्जालमा प्रतिभाशाली युवाहरुले समुह बनाएर टोपी दिवस जस्तै स्थापित गर्न पनि सक्छन्।

स्वदेशी उत्पादन दिवसका क्षेत्रहरु धेरै हुन्छन्। खाद्य पदार्थ र परिकार मात्रै स्वदेशी उत्पादनको उपयोग गर्ने बानी बसाल्ने हो भने पनि स्वभाविक रुपमा स्वदेशी उत्पादकको हौसला माथि उठ्न सक्छ।

स्वदेशी उत्पादन थोपार्ने होइन यसको स्तरमा सुधार गरेर खोज्ने र रोज्ने बनाउनु पनि पर्दछ। गुणस्तरमा सुधार गरेर प्रतिस्पर्धी बजारमा आफनो उत्पादनको स्थान बनाउन सक्ने काम आफैंमा फलामको च्युरा चपाउनु जस्तै कठिन काम हो।

तर पनि फेरि यो असम्भव भने होइन। हरेक मुलुक आफना उत्पादनको गुणस्तरमा सुधार गरेर ने माथि उठ्न सकेका उदाहरण जताततै छ। हामी पनि पृथ्वीनारायण शाहको निर्देशन विचारलाई अनुसरण गरेर सीपमा अभिवृद्धि गरेर गुणस्तरमा प्रयाप्त सुधार गर्न सक्छौं।

पृथ्वीविचारले जहिल्यै स्वदेशी उत्पादनको उपभोग, सीप प्रविधि र गुणस्तरमा सुधारमा जोड दिएको छ। स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताहले यही बाटौमा अगि बढ्नमा प्रेरित गर्दछ। स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताहाले नेपालीपन र नेपाली मनलाई एकै ठाउँमा संगठित गर्दै स्वदेशवादी अर्थतन्त्रलाई मल र बल दिन्छ।

पृथ्वीविचारको स्वदेशवादी अर्थतन्त्रको मूलमन्त्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउन र राष्ट्रनिर्माताको विचार र योगदानलाई रचनात्मक किसिमले सम्मान गर्न र सम्झनको लागि स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताहा सबभन्दा उत्तम विकल्प हुन्छ।

मेचीकाली विचको हिमाल,पहाड तराईका जुन भेगमा बसेका, जुन भाषा र भेषमा रमाएका नेपाली मात्र होइन कि नेपाल बाहिर गएका अन्य देशका नागरिक भएका मनमा नेपाल र नेपाली बचाएका सबैलाई यो दिवसले जोड्छ।

स्वदेशी उत्पादनको उपहारले सम्बन्ध र भावनालाई नविकरण गरिरहने छ। केन्द्रीय सरकारले प्रदेश सरकारले र स्थानीय सबै निकायहरुले आगामी पुष २७ देखि माघ १ राष्ट्रनिर्मातालाई सम्झने विशेष दिन, सप्ताहलाई सम्मान र समृृद्धि दिवसको रुपमा मनाउनको लागि आजैबाट तयारी गरुन्।

राष्ट्रपति,प्रधानमन्त्री लगायत अन्य सबै विशिष्टहरुले सो सप्ताहमा पहिरने खाने सबै स्वदेशी उत्पादनको तयारी आजैबाट गरुन्। स्वदेशी उत्पादन दिवसले स्वदेशी उत्पादनको ठोश रणनीति बनाउन सक्छ। नेपालमा के उत्पादनमा जोड दिने के मा कसरी आत्मनिर्भर भएर जाने भनेर सरकार र निजी क्षेत्रले योजना बनाउन सक्छन् ।

कुन उत्पादन बढाएर निर्यात गर्न सकिन्छ र आम्दानी तान्न सकिन्छ ठोश कार्यक्रम तय गर्न सक्छन्। योजना आयोगले स्वदेशी उत्पादन र उपयोग बढाउने सवालमा योजना बनाउन सक्छ।

यो स्वदेशी उत्पादन सप्ताहालाई स्वदेशी उत्पादनको विचार र व्यवहारको सप्ताह बनाउन सकिन्छ। विचार गोष्ठिहरु आयोजना गरेर अनेक विधाका विज्ञहरुबाट कार्यपत्र पस्तुत गराउन सकिन्छ।

हरेक दिवसलाई रचनात्मक र श्रृजनात्मक बनाएर आर्थिक समृद्धि र आत्मनिर्भरको बाटोमा हिडाउन सकेमा राष्ट्रनिर्माताको र उनको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको सम्मान भएको मानिने छ।

पृथ्वीनारायणको सम्मान राष्ट्र कै सम्मान हो पृथ्वीविचारको बाटो राष्ट्र कै मूलबाटो हो। यो वास्ताविकता सबैले बुझेमा स्वदेशी उत्पादन दिवसको सम्मानित सप्ताह साँच्चै नेपाल र नेपालीको सबभन्दा सम्मानित र उर्जावान् सप्ताहा हुने छ । सबैलाई चेतना भया।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *