मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

डिसी नेपाल
२७ चैत २०७९ ७:२९

काठमाडौं। मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ। १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन्।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। सप्तरी २ मा राउतसँग गत ४ मंसिर सम्पन्न निर्वाचनमा पराजित यादव आफैं उम्मेदवार बनेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा रहेका शिवचन्द्र कुशवाहालाई पार्टीमा प्रवेश गराएर राउतले यादवको प्रतिस्पर्धीका रूपमा स्थापित गर्ने प्रयासमा छन्। गत निर्वाचनमा कुशवाहा जसपा उम्मेदवार रामसहाय यादवसँग पराजित भएका थिए।

रामसहायलाई एमालेको समर्थन थियो भने कुशावाहालाई तत्कालीन पाँच दलीय गठबन्धनको समर्थन रहेको थियो। रामसहाय उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुन गइरहेको छ। सप्तरीमा राउतसँग पराजित यादव रामसहायलाई उपराष्ट्रपति बनाएर संसद् छिर्ने रणनीतिमा छन् । तर, राउत सप्तरीमा जस्तै बारामा यादवलाई पराजित गर्ने रणनीतिमा छन्।

अहिले यादव र राउत दुवै बारा २ कै विभिन्न चुनावी कार्यक्रममा व्यस्त छन् । डा. राउत पछिल्लो समय गढीमाई वरियारपुर कार्यालय नै खोलेर बसेका छन्।

जसको पक्षमा जनमत छ, त्यसको आलोचना नगरी कमजोरी नऔंल्याई आफू बलियो हुन सकिन्न त्यसैले मधेस राजनीतिमा उपेन्द्र यादवको शक्ति पहिचान गरेदेखि सिके राउत उनको कमजोरी खोतल्न लागेका हुन् : रामरिझन यादव

जनमत पार्टीका नेता बीपी साहले चुनावी कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले राउत गढीमाईस्थित कार्यालयमै बास बस्ने गरेको बताए । दिनभरि घरदैलोका साथै पार्टी कार्यक्रममा व्यस्त रहने गरेका राउत राति परेपछि गढीमाईस्थित कार्यालयमा पुग्छन् ।

कार्यालय पुगेपछि उनी पार्टीका अगुवा नेतासँग बसेर अर्को दिनको कार्यक्रम’bout छलफलका साथै आगामी रणनीति तय गर्ने गर्छन् । उनको कार्यालयमै २ सय जना जति नेता कार्यकर्ताका लागि खाना पाक्छ । राउत पनि सोही मेसमा स्थानीय नेता कार्यकर्तासँगै खाना खाने गर्ने गरेका छन् ।

आकस्मिक कामबाहेक राउत पार्टीका उम्मेदवार कुशवाहासँगै घरदैलोमा सहभागी हुने गरेको साहले बताए । बारा २ को उपनिर्वाचन सकेर मात्रै राउत काठमाडौं फर्किने उनले बताए । चुनावी कार्यक्रममा सहभागी हुने गरेका राउतले अधिकांश समय यादवको विरोधमै खर्च गर्ने गरेका छन् । उपेन्द्रमाथि निशाना साँध्दै राउतले कहिले ‘जहरिला साँप’, ‘बाहिरिया फिरंगी’, ‘भगौडा’जस्ता उपनाम दिएर आलोचना गर्छन् ।

राउतले दिनहुँ यादवको आलोचना गरे पनि यादव भने मौन रूपमा घरदैलो कार्यक्रममा व्यस्त छन् । यादवले राउतको विरोध वा अन्य आफ्ना प्रतिस्पर्धीको आलोचना नगर्दै सत्तारूढ गठबन्धनको मत जोगाउने र सर्वसाधारणलाई आफूतिर आकर्षित गर्ने रणनीति बनाएका छन् ।

सामाजिक सञ्जालमा यादव र राउतनिकटका नेता, कार्यकर्ता, शुभचिन्तकबीच दिनहुँ नयाँनयाँ विषयमा टिकाटिप्पणी, आलोचना एवं विरोध हुनु अहिले समान्यजस्तै भइसकेको छ । एकअर्काविरुद्ध भए नभएका विषय जोडेर समाजिक सञ्जालमा आलोचना एवं विरोधका गतिविधि बढदै गइरहेको छ ।

मधेस आन्दोलनको इतिहासमाथि ‘ब्ल्याक आउट’ पुस्तक लेखेका रामरिझन यादव मधेसमा उपेन्द्रको वर्चस्व तोडेर आफू हावी हुन राउत अग्रसर रहेको बताउँछन् । ‘जसको पक्षमा जनमत छ, त्यसको आलोचना नगरी कमजोरी नऔंल्याई आफू बलियो हुन सकिन्न,’ उनी भन्छन्, ‘त्यसैले, मधेस राजनीतिमा उपेन्द्र यादवको शक्ति पहिचान गरेदेखि नै राउत उनको कमजोरी खोतल्न लागेका हुन् ।’

मधेस राजनीतिका पुराना नेता भरतविमल यादव जसपा अध्यक्ष यादव उपनिर्वाचनमा उम्मेदवार बन्नु धेरै ठूलो विषय नभए पनि उनका लागि भने यो निर्वाचन अग्निपरीक्षासरह भएको बताउँछन् । ‘निर्वाचनमा हारजित एउटा सामान्य राजनीतिक प्रकिया हो,’ यादवले भने, ‘तर उपनिर्वाचनमा शीर्ष नेता उम्मेदवार भएर पराजित भएमा त्यसले उनका लागि धेरै ठूलो राजनीतिक क्षति गर्न सक्छ ।’

मधेस केन्द्रित नेताको मधेसमै राम्रो छवि नरहेको भन्दै यादवले जसपा अध्यक्ष उपनिर्वाचनमा उम्मेदवार बन्नु आफैंमा ठीक नभएको बताए । ‘उहाँ जत्तिको उचाइको नेता प्रतिनिधिसभामा जानबाट वञ्चित नै हुनुहुँदैन भन्ने होइन,’ उनले भने, पाँच वर्ष उहाँ संसद्मा नगए पनि केही फरक नपर्ने कुरा उहाँले बुझ्नुपथ्र्याे ।’

यद्यपि, मधेस राजनीतिलाई नजिकबाट नियालिरहेका जानकार पछिल्लो समयमा मधेसमा जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतबीच प्रतिष्ठाको लडाइँ भइरहेको र त्यसकै प्रतिबिम्ब बारा २ को उपनिर्वाचनमा देखिएको दाबी गर्छन् ।

राजनीतिक विश्लेषक विजयकान्त कर्ण जनमत पार्टीका अध्यक्ष राउत जसपा अध्यक्ष यादवलाई राजनीतिमा परास्त गरे मात्रै आफूमा केन्द्रमा मधेसको नेता कहलिने निष्कर्षमा पुगेको बताउँछन् । ‘मधेसमा रहेको उपेन्द्र यादवको राजनीतिक विरासत उनलाई पराजय गरेर मात्रै ध्वस्त पार्न सकिन्छ भन्ने बुझाइ राउतमा देखिन्छ,’ कर्णले भने, ‘त्यसकै लागि उनी जसपा अध्यक्ष यादवलाई उपनिर्वाचनमा हराउन लागिपरेका छन् ।’

मधेस राजनीतिमा रहेको बेमेलको वातावरण पनि यसको कारक रहेको बताउँदै कर्णले मधेसमा एउटै मुद्दा र विचारमा रहेका नेताबीच एक तहको राजनीतिक समझदारी जहिले पनि हुनुपथ्र्यो तर त्यसो देखिँदैन ।

मधेसमा नागरिक अगुवाका रूपमा काम गरिरहेका सप्तरीका बुद्धजीवी बलराम यादव जसपा अध्यक्ष यादवले उपनिर्वाचनमा उम्मेदवार बनेर गलत गरेको टिप्पणी गर्छन् । बारा–२ को उपनिर्वाचनमा जसपाले जिते पनि यसले उपेन्द्र यादवको उचाइ मधेसमा नबढ्ने यादवको दाबी छ । उपेन्द्र चार महिना पनि संसद् र सरकारबिना रहन नसक्ने नेताका रूपमा पुष्टि हुने यादवको तर्क छ ।

पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले मोरङदेखि बाँके–बर्दियासम्म राम्रो उपस्थिति देखाएको भए पनि सत्तामोहकै कारण पार्टी र तीनका नेता केही जिल्लामा सीमित भएको देखिन्छ ।

चार वर्षअघि मात्रै मधेसमा मूलधारको राजनीति सुरु गरेको जनमत पार्टी र तिनका अध्यक्ष राउतले जसपा र यादवलाई सुरुदेखि आफनो राजनीतिक दुश्मनका रूपमा निशाना बनाउँदै आएका छन् । मधेस राजनीतिलाई नजिकबाट नियालिरहेका सञ्जय तिवारीले बाराको उपनिर्वाचनले मधेसमा कसको वर्चस्व रहेको भन्ने कुराको पुष्टि हुने बताउँछन् ।

१० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाले समर्थन गरेको छ । कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको छैन । राउतले गठबन्धनका असन्तुष्ट मत आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *