खेतीयोग्य जमिन जोगाउन अभियान चलाऔं

खगेन्द्रराज सिटौला
४ वैशाख २०८० ८:०६

सुनै सुन मात्र चाहने राजा मिदासले कुनै पनि कृषि उत्पादन खान नपाए पछि भोकले काबु भएर भनेका थिए-सुन, चाँदी, महल केही होइन रहेछ, अन्न भन्दा ठूलो केही रहेनछ।’ अहिले विश्व सुनै सुन मात्र चाहने मूर्ख राजा मिदास जस्तो भएको छ।

विश्व सुन, चाँदी महल, मोबाइल, गाडी आदिमा एकोहोरिएको छ। जब कुनै दिन उसँग खानलाई केही हुँदैन खाने कुरा उमार्ने कहीं कतै जमिन हुँदैन, त्यसबेला उ खाना खोज्दै रुँदै पछुताउँदै भोकै मर्न मात्र सक्छ अरु केही गर्न सक्दैन।

राजा मिदाससँग त जे छोए पनि सुन हुने बरदान फिर्ता लिने भगवान थिए। यिनीहरुको वैभव फिर्ता लिएर यिनीहरुले मासेको खेति जमिन र अन्न फलफूल फिर्ता दिन कुनै भगवान आउने छैन यिनीहरुको सामुन्नेमा।

यदि यो विश्व बाँच्न चाहन्छ र पछिल्लो सुधारिएको राजा मिदास जस्तै खानेकुरालाई सर्वाधिक महत्वको बस्तु मान्छ भने नेपालका राष्ट्रनिर्माता एव बडानेता पृथ्वीनारायण शाहको कृषि विचारको पछि लाग्नै पर्दछ। नत्र विश्व विकासको नाममा जुन बाटोमा हिडिँरहेको छ उसकोे अवश्यम्भावी अनिकालले मृत्युलाई कसैले टार्न सक्ने छैन।

के हो त विश्वलाई अनिकाले मृत्युबाट बचाउन सक्ने पृथ्वीविचार? जुनबेला नेपालका बडानेता पृथ्वीनारायाण शाहले खेतीयोग्य जमिन बस्तीले नढाक्नु र कुलो आउने बाटोलाई पनि घर बस्तीले नछेक्नु बरु पन्छिनु भन्ने कृषि प्रधान नीति अघि सारिरहेका थिए।

त्यसबेला अहिल जस्तो जनसंख्याको चाप र ताप पृथ्वीलाई थिएन। खेतीयोग्य जमिनको कहीँ कतै कमी थिएन। तर पनि यी दूरदर्शी बडानेताले नेपाली र नेपालीमार्फत सारा विश्वलाई भनेका छन्-खेतीयोग्य जमिन बचाउ भविष्यमा खान नपाई मर्ने अवस्थाप्रति बेलैमा सचेत होउ।

योे खेतीयोग्य जमिन जोगाउने नेपालको पृथ्वीविचार संयुक्त राष्ट्रसंघ मार्फत सबै सदस्य राष्ट्रमा पुगेर विश्वविचार हुनै पर्दछ। र खेतीयोग्य जमिन जोगाउन विश्वव्यापी अभियान र आन्दोलनको नेतृत्व पृथ्वीविचारले गर्नै पर्दछ।

विश्व धनी हुने प्रतिस्पर्धामा छ। छिटो धनी हुन ठूला साना अनेक कल कारखाना खोल्न हतारोमा छ। उसलाई जताततै ठूलठूला शहर, सडक, खेल मैदान हवाई मैदान चाहिएको छ। पढाउने, लडाउने औषधि गराउने बास बसाउने घर अफिस आदि इत्यादि अनेकले खेतीयोग्य जमिन मासिरहेको छ।

बढ्दो जनसंख्या, असन्तुलित मौसम, बाढी पहिरो आदिले पृथ्वी सागुरो हुँदैछ। त्यसको असर तीब्ररुपमा खेतीयोग्य जमिनमाथि परिरहेको छ। अनियन्त्रित रुपले खेतीयोग्य जमिन घटिरहेछ।

विश्वको शिरमाथि अनिकालको तरवार सांद लागिरहेछ। विश्वलाई अनिकालको अकालबाट बचाउने भनेको नै पृथ्वीविचारको कार्यन्वयन हो। खेतीयोग्य जमिन जोगाउने विश्वव्यापी अभियान नै हो।

नेपाली विचार पहिला नेपालतिरै आकर्षित हुनुपर्दछ। खेती सम्बन्धिको पृथ्वीविचार नेपालबाटै लागू हुनुपर्दछ। आफ्नो विचारको प्रभाव आफूबाटै प्रमाणित सफल उदाहरण विश्वलाई देखाउने हो। अहिले नेपालमा एकैसाथ खेतीयोग्य जमिन पनि घटिरहको छ।

खेतीमा श्रम गर्ने जनशक्ति पनि घटिरहेको छ। युवाशक्ति बाहिर जाने, भएका खेतीयोग्य जमिन अनियन्त्रित किसिमले घरघडेरीको लागि प्लटिङ हुने या बाँझो भएर बस्ने स्थिति बढिरहनु नेपालको लागि घातक छ।

नेपाल अनिकालले पिल्सिनुपर्ने र कृषिजन्य उत्पादन बाहिरबाट आयत गर्नुपर्ने मुलुक होइन। बरु नेपाल त कृषि उत्पादनमा आत्मनिर्भर भएर निर्यातक मुलुक पनि हुनुपर्ने थियो।

तर हामीले नेपाललाई त्यस्तो बनाएनौं। किनभने कृषिलाई प्राथमिकता र महत्व दिने पृथ्वीविचारलाई कहिल्यै बुझ्न र महत्व दिनतिर लागेनौं। तर अब दिनुपर्छ। कसरी दिने त? छलफल चलाऔं।

नेपालले कृषिमा आत्मनिर्भर हुने राष्ट्रिय संकल्प गर्नुपर्दछ। सोही अनुसारका योजना कार्यक्रम बनाउनु पर्दछ। कृषिलाई आम्दानी र खानदानीको व्यवसाय बनाउनु पर्दछ।

तालिम शिक्षा र सुविधा बढाएर युवाहरुलाई कृषि व्यवसायी बनाउनु पर्दछ। अव देशमा बेरोजगार शहर बढ्ने होइन कृषिको लहर बढ्नु पर्दछ। किसानलाई राष्ट्रले मान,थान र दान दिनु पर्दछ। राष्ट्रले खेतिबाट भाग्ने होइन खेतिमा लाग्ने परिस्थिति बनाउनु पर्दछ।

छिट्टै नेपालले खेति जमिन बचाऔं कृषि उत्पादन बढाऔंको पृथ्वीकृषि राष्ट्रिय अभियान चलाउनु पर्दछ। यो राष्ट्रिय अभियानलाई अन्तर्राष्ट्रिय अभियानमा बदल्नु पर्दछ।

नेपालका राजनीति दलहरुसँग निकट भएका अनेक नामका किसान संंघ.संगठनहरुको यतातिर किन ध्यान नगएको हो? तर अब जानु पर्दछ। सबैले साझारुपमा पृथ्वी कृषि अभियान चलाउनु पर्दछ।

नेपालले नेपालका जन,जल,जमिन, जंगललाई जोगाएर सदुपयोग कसरी गर्ने भनेर कार्ययोजना बनाउनु पर्दछ। कृषि यी सबैसँग जाडिएको हुन्छ। वातवरणमा आएको परिवर्तनलाई ख्याल राख्दै कुन क्षेत्रमा केको खेती गर्ने उपयुक्त माटो जलवायु छ कि छैन वैज्ञानिक जाँचपड्ताल अनुसन्धान गरेर निष्कर्ष निकाल्नु पर्दछ। सबै क्षेत्रमा खेतीयोग्य जमिन जोगाउने विशेष व्यवस्था गर्नु पर्दछ।

खेतीयोग्य जमिन जोगाए बापत र बालीनालीबाट बढी अक्सिजन उत्पादन गरेबापत किसानलाई मूल्य दिने व्यवस्था गर्नु पर्दछ। यस्तो कोषको व्यवस्था हरेक राष्ट्रले र संयुक्त राष्ट्रसंघले गर्नुपर्दछ। यसको लागि विश्वकृषि खाद्य संगठनलाई बढी जिम्मेवार र सकृय गराउनु आवश्यक छ।

नेपालले यस्तो कोषको व्यवस्था गर्न र कृषि जमिन जोगाउने नेपालको विचार पृथ्वीविचारसहित संयुक्त राष्ट्रसंघमा जानु पर्दछ। नेपालले संयुक्त राष्ट्र्रसंघमा जानुअघि आफ्नो देशमा पृथ्वी कृषि जमिन सुरक्षा सम्मेलन गरेर ठोस प्रस्तावको तयारी गर्नु पर्दछ। आवश्यक परिमार्जनसहित सार्क र छिमेकी मुलुक चीन लगायत अन्य कृषि प्रधान एसियाली मुलुकबाट पनि समर्थन लिएर जानु राम्रो हुन्छ।

कृषिको आधुनिककरणले स्थानीय जातका परम्परगत राम्रा बाली बिउको हरण तथा मरण गरिरहेको छ। कृषि जमिन जोगाउनु जस्तै त्यस्ता विउबाली जोगाउनु पनि विश्वले त्यतिकै ध्यान दिनु पर्दछ।

बहुराष्ट्रिय कम्पनीको शोषणमा आधारित कृषि प्रविधि तथा बिउ बिजनको केन्द्रीकृत नीतिले विश्व कृषि व्यवसायलाई धरासायी गराउन सक्छ। यसले तेस्रो विश्वका व्यापक किसानलाई कृषि व्यवसायबाट पलायन हुन वाध्य गराउन सक्छ।

यो एकाधिकारवादी नीतिमा सुधार नहुने हो भने कृषि जमिन जोगाउने अभियानलाई गम्भिर धक्का लाग्नसक्छ। राम्रा परम्परागत बिउ बाली संरक्षण र आधुनिक बिउ, प्रविधिको तालमेलबाट मात्र कृषि व्यवसाय दिगो र छिटो हुनसक्छ।

जनसंख्याको अनियन्त्रित बृद्धि खेती जमिन जोगाउने अभियानको गम्भीर समस्या भएको छ सारा विश्वको लागि। नेपाल पनि यसबाट अछुतो छैन। यतातिरका प्रयास प्रभावकारी भएका छैनन्।

यसमा पनि विश्व थप गम्भीर हुनुपर्दछ। नेपाल खुला सिमानाको कारणले थप बढी समस्यामा छ। यसमा पनि नेपालले नियन्त्रणका उपाया खोज्नु पर्छ। नत्र खेतीयोग्य जमिन जोगाउन नेपाल थप कठिनाइमा पर्नसक्छ।

खेती जमिन जोगाउनु र कृषि उत्पादन बढाउनु नेपालको लागि अवसर र चुनौती दुबै हो। यो चुनौतीको सामना गर्दै अवसरको सदुपयोग गर्नु नेपालको हित पनि हो जित पनि हो। कृषि जमिन जोगाउने र कृषि उत्पादन बढाउने पृथ्वीविचार विश्वमा खेती बचाएर मान्छे बचाउने बलियो वैचारिक अस्त्र हो। पृथ्वीविचार खेती संसारलाई जोगाउने र जगाउने बलियो आधार हो।

पृथ्वीनारायणको देशमा सवालको जवाफ तल भनिएबमोजिम आउनुपर्छ। खेतबारी कहाँ छ? नेपालमा, नेपाली कहाँ छन्? खेतबारीमा, कृषिमा आत्मनिर्भर मुलक कुन हो? नेपाल हो। खेतीयोग्य जमिन जोगिएन भने एउटा विन्दुमा पुगेर मानव जाति पनि जोगिँदैन। सबैलाई चेतना भया।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *