२६ वर्षदेखि बेपत्ता व्यक्ति छिमेकमै भेटिए, छिमेकीले अपहरणपछि कालो गर्दा कहिल्यै भाग्न नसकेको दाबी

डिसी नेपाल
९ जेठ २०८१ १५:२२

काठमाडौं । अल्जेरियाको अल कादिद सहरमा २६ वर्षअघि बेपत्ता भएका एक व्यक्ति अन्ततः फेला परेका छन् । उमर बी नामका एक व्यक्तिलाई छिमेकीले अपहरण गरेका थिए । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । ओमर सन् १९९८ मा अल्जेरियाको गृहयुद्धका क्रममा बेपत्ता भएका थिए ।

उनको परिवारले धेरै वर्षदेखि उनको खोजी गरिरहेको थियो । तर केही नभेटिएपछि उनीहरुले उनलाई मृत मानेका थिए । अपहरणकर्ताको घर उमरको घरबाट मात्रै २०० मिटर टाढा थियो। अल्जेरियाली मिडिया रिपोर्टका अनुसार अपहरणकर्ताले उनीमाथि कालो जादू गरेको कारण उमर त्यहाँबाट कहिल्यै भाग्न सकेनन्।

२६ वर्षदेखि अपहरणमा परेका उमरलाई प्रहरीले संरक्षणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको छ । एक फेसबुक पोस्टमा उमरका भाइ खालिदले उमरको अवस्था ठीक रहेको बताएका छन् । २६ वर्षदेखि बन्धक बनाएका कारण उनी स्तब्ध छन् र उनलाई मनोवैज्ञानिक सहायता दिइँदैछ ।

अल्जेरियाको न्याय मन्त्रालयले भनेअनुसार अभियुक्त नजिकैको शहर एल गुएडिडको नगरपालिकामा द्वारपालको रूपमा काम गर्थे। उनको भाइसँग सम्पत्तिको विषयमा विवाद चलिरहेको थियो । यही विवादको रिसमा उनका भाइले उमरको बारेमा सामाजिक सञ्जालमा जानकारी पोस्ट गरिदिए । उनले सामाजिक सञ्जालमा उमर जीवित र राम्रो अवस्थामा रहेको लेखेका छन् ।

त्यसपछि यो खबर नजिकै बस्ने मानिसहरूमा फैलियो। त्यसपछि उमरका आफन्तले उनको खोजी गर्न थाले । घरको ठेगाना पाएपछि ढोका तोडेर भित्र पसे । यहाँ उमर घरको बीचमा एउटा खाडलमा सुकेको घाँसमा लुकेका थिए । उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *