चितवन-२ मा सर्वदलीय बैठक सोमबार बिहान ८ बजे बस्ने

डिसी नेपाल
१० वैशाख २०८० २३:५७
456
Shares

काठमाडौं। चितवन-२ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ।

बैठक सोमबार बिहान ८ बजे बस्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

आइतबार बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दल तयार नभएपछि बैठक भोलिका लागि बोलाइएको हो।

आज भएको उपनिर्वाचनमा चितवन–२ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसले निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएपछि आज सर्वदलीय बैठक ‍नबसेको हो।

सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा ल्याइसकिएको छ।

नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ।

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वेवास्ता गरेको भन्दै उजुरी हालेको हो।

नेपाली कांग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। उनले उजुरीपत्रमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम कारबाही गरी पाऊँ भनी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जीतनारायण श्रेष्ठको तर्फबाट उजुरी पेश गरेका छन्।

निर्वाचनमा प्रशासनबाट आवश्यक सहयोग भएन र रास्वपाले आचारसंहिता उल्लङ्घन भएको भनी उजुरी परेकाले त्यसमाथि आवश्यक अध्ययन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *