सम्झना

भिक्टोरिया क्रस रामबहादुर लिम्बू

कपिल लोहनी
१६ वैशाख २०८० ७:०९

वेलायती सेनाको बहादुरीको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’बाट विभूषित अन्तिम गोर्खाली सैनिक क्याप्टेन रामबहादुर बेघा लिम्बू (भि.सी.) को हालै २०८० साल वेशाख १० गते तदनुसार २०२३ अप्रिल २३ तारिखका दिन ८३ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भयो।

उनको निधनसँगै आजसम्म भिक्टोरिया क्रस पाउने सबै १३ जना गोर्खालीहरूको अवसान भएको छ र उनीहरूको वीरताको गाथा पनि अब इतिहास बन्न गएको छ। उनीहरूबाटै ती वीरताको गाथा सुन्न अब पाइने छैन।

हुनत मैले क्याप्टेन रामबहादुर लिम्बूकै मुखबाट उनका वीरताका कथा सुन्ने मौका उनैको दमकस्थित घरमा पाएको छु भने करिव करिव उनैका उमेरका र उनीसँगै मलायाको युद्धमा लडेका मेरा ससुराबुवा क्याप्टेन मोतीलाल थापाबाट पनि उनको वीरताको गाथा र उनले भिक्टोरिया क्रस पाउँदाका क्षण बारे सुन्ने अवसर पाएको थिएँ।

सन् १९३९ जुलाई ८ मा पुर्वी नेपालको तेह्रथुम जिल्लाको च्याङथापु गाउँको लिम्बू परिवारमा जन्मिएका रामबहादुर लिम्बू सन् १९६० मा वृटिश सेनामा भर्ति भएका थिए।

भर्ति भएर आधारभूत तालीम प्राप्त गरे लगत्तै उनी लगायत धेरै सैनिकहरूलाई वृटिश सेनाले मलाया र इन्डोनेसियाको सिमानामा तैनाथ गरेको थियो।

सन् १९६५ को नोभेम्बर २१ का दिन इन्डोनेसियाको सारावाक, बोर्नियोको जंगलमा १६ जना गोर्खाली सैनिकसहित युद्धभूमिको अग्रपंक्तिमा रहेका रामबहादुरको टोलीमाथि नजिकैको सानो पहाडमा झाडीभित्र लुकेर बसेका ३० जना इन्डोनेसियाली सेनाको एक टुकडीसँग अकस्मात झडप हुँदा रामबहादुर लिम्बू अर्का एकजना गोर्खालीको साथमा निकै बहादुरीका साथ अगाडि बढे।

इन्डोनेसियाली सेनाले मेसिन गनबाट गोली बर्साइरहेको बेलामा रामबहादुरले नडराई अघि बढेर ग्रेनाइडको पिन झटपट निकालेर तिनीहरू भए तिर फ्याँकेपछि शत्रुपक्षको एकजना सेन्ट्री त्यहीँ क्षतविक्षत भएर मर्नुका साथै अन्य शत्रुपक्ष पनि घायल हुन पुगे। त्यति नै बेला शत्रुहरूले मेसिन गन चलाएर उनका सेनाका केही व्यक्तिलाई घाइते तुल्याए।

कति पनि बिचलित नभएर रामबहादुरले शत्रुको बन्दुकको गोलीको पर्वाहै नगरी घाइते साथीहरूलाई बचाएर सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको ब्रेन गन लगायतका हतियार पनि बोकेर सुरक्षित स्थानमा ल्याए र सोहीमध्येको शक्तिशाली हतियारको प्रयोग गरेर शत्रुपक्षका धेरैलाई मार्न सफल भए। उनकै गोलीबाट त्यहाँ लुकेर बसेका र पछि निस्केर हमला गर्न आएका अरु २ जना शत्रुको पनि इहलिला समाप्त भएको थियो।

उनको यही कर्तव्यपरायणता, आत्मबल, दृढता र अदम्य वीरताको कदरस्वरुप उनलाई भिक्टोरिया क्रस मिलेको थियो र बेलायतकी महारानी एलिजावेथ द्वितीयाले सन् १९६६ मा लण्डनस्थित वकिङ्घाम राजप्रासादमा एक भव्य समारोह बीच यो गौरवशाली पदक उनलाई प्रदान गरेकी थिइन्।

त्यतिबेला उनको उमेर २३ वर्षको थियो र उनी लान्स कर्पोरलको पदमा कार्यरत थिए। उनीभन्दा पहिले पनि १२ जना गोर्खाली सैनिकहरूले यस्तै साहस प्रस्तुत गरेर भिक्टोरिया क्रस प्राप्त गर्न सफल भएका थिए।

वृटिश सेना र कमनवेल्थ मुलुकहरूका सैनिकले युद्धको बेला रणभूमिमा देखाएका वीरतापूर्ण कार्यका लागि भिक्टोरिया क्रस प्रदान गरिने चलन अझ पनि छ।

भिक्टोरिया क्रस पदक वृटिश सेनाको सबैभन्दा ठूलो विभूषण हो। सन् १८५६ मा स्थापना गरिएको यो पदक आजसम्म १,३५६ जनाले पाइसकेका छन् भने ती मध्ये ३ जनाले दुई दुई पटक पाएका छन्।

भिक्टोरिया क्रसको लिलामी मूल्य लाखौँ पाउण्डमा पुगिसकेको छ। पछिल्लो पटक लिलाम गरिएको एक भिक्टोरिया क्रस पदकले ८४०,००० पाउण्ड कमाउन सफल भएको थियो। यसरी विश्वमा नै भिक्टोरिया क्रसको मूल्य र मान्यता ज्यादै उच्च बिन्दुमा छ।

सन् १८७९ देखि हालसम्म करिव ३०० भिक्टोरिया क्रस पदकहरू लिलाम गरिएका तथा अरु थुप्रै निजी तवरमा विक्री भएको कुरा पनि थाहा भएको छ। गोर्खालीहरूले पाएका १३ थान भिक्टोरिया क्रसमध्ये १ भारतमा चोरी भएको (रामबहादुर लिम्बूको पदक) र केही आर्थिक संकटले गर्दा बिक्री गरिएको पनि सुन्नमा आएको छ।

विश्वका कैयन् ठूलासाना संग्रहालयमा भिक्टोरिया क्रस पदकहरू सर्वसाधारणको अवलोकन र ज्ञानको निम्ति राखिएका छन्। चोरी भएका कैयन् भिक्टोरिया क्रस पदकहरू प्रहरीको मद्दतले फेला पनि परेका छन्।

भिक्टोरिया क्रस पदकको खरिद गरेर संकलन गर्ने सबैभन्दा प्रख्यात व्यक्ति बेलायती नागरिक तथा व्यापारी र राजनीतिज्ञ लर्ड एशकोर्ट हुन्, जो सँग कुनै बेला १६२ वटा भिक्टोरिया क्रस पदकहरू संकलनमा थिए।

पछि उनैले भारी रकम खर्चेर विस्तार गरिदिएको बेलायतको ‘इम्पेरियल वार म्यूजियम’मा त्यहाँ भएका ५० भिक्टोरिया क्रस पदकका साथै उनका संग्रहका पदकहरू पनि राखिएका थिए।

बेलायतको विन्चेस्टरमा र नेपालको पोखरामा रहेका गोर्खा संग्रहालयमा वृटिश गोर्खा पल्टनका सबै २६ जना फौजी (बेलायती र नेपाली) ले पाएका भिक्टोरिया क्रस विजेताहरूको बारेका फोटो सहित विस्तारमा उल्लेख गरिएको छ।

सन् १८१४ देखि १८१६ सम्म नेपाल र बेलायतको युद्ध भइरहेको भएता पनि सन् १८१५ मा नेपालको ठूलो भूभाग वृटिश सेनाले जिते पछि बाँकी रहेको हालको भूभाग (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर बाहेक) लाई मात्र नेपाल राष्ट्रको मान्यता दिएर सन् १८१६ मा बेलायतको दवावमा नेपाल र बेलायतबीच सुगौली सन्धि भयो।

सन् १८१५ मा नेपालीहरूले ठूलो हार व्यहोर्नु परेको भएता पनि नेपाली यानी गोर्खालीहरूको वीरताको कदर गर्दै बेलायतले उनीहरूलाई वृटिश सेनामा भर्ती गर्न थालेको हो।

आज आएर नेपाल र बेलायतको दौत्य सम्बन्ध कायम भएको २०७ वर्ष भइसक्दा पनि अझ केही सय नेपालीहरू वृटिश गोर्खा फौजको सेवामा कार्यरत छन् तथा अवकासप्राप्त पुर्व सेनाका परिवारका हजारौँ सदस्य बेलायती नागरिक वा सो सरहको सुविधासहित बेलायत तथा हङकङमा बसोवास गरिरहेका छन्।

भिक्टोरिया क्रस पदकको स्थापना भएको दुइवर्ष पछि नै सन् १८५८ मा वृटिश गोर्खा रेजिमेन्टका गोरा अधिकृत जोह्न टाइट्लरले सन् १८५७ को भारतीय सिपाही विद्रोह दबाउन खेलेको भूमिकाको लागि भिक्टोरिया क्रसबाट विभूषित भएका थिए। यसरी आजसम्ममा २६ जना वृटिश गोर्खा रेजिमेन्टका सैनिकहरूले भिक्टोरिया क्रस पाएकोमा गोराले १३ र गोर्खालीले १३ पदक पाएका हुन्।

सन् १९११ सम्म वृटिश गोर्खा रेजिमेन्टमा रहेका बेलायती अधिकृतले मात्र भिक्टोरिया क्रस पाउने गरेकोमा तत्पश्चात भने गोर्खाली तथा अन्य स्थानीय फौजीले पनि पाउन थाले।

नत्र त्यतिबेलासम्म भारतवर्षमा गोर्खाली र वृटिश सेनामा कार्यरत अन्य जातका सैनिकले पाउने सबैभन्दा ठूलो पदक ‘इन्डियन अर्डर अफ मेरिट’ थियो।

गोर्खालीहरू मध्ये सबैभन्दा पहिले कुलबीर थापाले प्रथम विश्वयुद्धमा फ्रान्सको विरुद्ध वीरतापूर्वक लडेकोले सन् १९१५ मा भिक्टोरिया क्रस पाए भने, आजसम्म सबैभन्दा पछि सन् १९६५ मा मलाया र इन्डोनेशियाको युद्धमा बोर्नियोमा देखाएको वीरताको लागि रामबहादुर लिम्बूले भिक्टोरिया क्रस पाएका हुन्।

कुलवीर थापा पछि सन् १९१८ मा प्रथम विश्वयुद्धमा नै इजिप्टमा भएको लडाईमा करनबहादुर रानाले भिक्टोरिया क्रस पाए। त्यसपछि सन् १९४३ मा दोश्रो विश्वयुद्ध ताका ट्युनिसियामा लालबहादुर थापा मगरले र सोही साल बर्मामा गजे घलेले भिक्टोरिया क्रसबाट सम्मानित हुने मौका पाए।

दोश्रो विश्वयुद्धकै बेला सन् १९४४ मा तुलबहादुर पुन, नेत्रबहादुर थापा मगर, अगनसिंह राई र गञ्जु लामा (सिक्किम)ले बर्मामा भएको लडाईँ र शेरबहादुर थापा तथा थमन गुरुङले इटालीमा भएको लडाईमा वीरता प्रदर्शन गरेकाले यो पदक पाउन सफल भए। दोश्रो विश्वयुद्धमा बर्मामा लड्दा सन् १९४५मा लछुमन गुरुङ र भानुभक्त गुरुङले भिक्टोरिया क्रस पाउन सफल भएका थिए।

सन् १९४७ अगस्तमा बेलायतबाट भारत र पाकिस्तान स्वतन्त्र भएर कमनवेल्थ राष्ट्रहरूको पंक्तिमा रहे पनि सन् १९५० मा भारतले र सन् १९५६ मा पाकिस्तानले गणतन्त्रको घोषणा गरे।

त्यसपछि बेलायतको शासनको कुनै छिद्र बाँकी नभएकोले भिक्टोरिया क्रस पदक पनि भारतीय तथा पाकिस्तानीहरू र भारतीय सेनामा कार्यरत गोर्खालीहरूले नपाउने भए। त्यति नै बेला भारतले पनि भिक्टोरिया क्रसकै समान आफ्नो मौलिक पदकको स्थापना गर्‍यो, जसको नाम ‘परम वीर चक्र’ राखियो।

सन् १९५० देखि आजसम्म कुल २१ वटा परम वीर चक्रबाट भारतीय सेनाका अति वीर सैनिक विभूषित भइसकेका छन् भने ती मध्ये १४ जनाले मरणोपरान्त यो पदक पाएका छन्।

भारतीय गोर्खा रेजिमेन्टले ३ पटक यो सर्वोच्च पदक पाएको भएता पनि १ पटक मात्र गोर्खाली सैनिक धनसिंह थापा मगरले सन् १९६५ मा भारत–चीन युद्धमा जम्मु काश्मिर-लद्दाखमा वीरतापूर्वक लडेकोले परम वीर चक्र हात पारेका थिए।

बेलायतको ‘भिक्टोरिया क्रस’, अमेरिकाको ‘युनाइटेड स्टेट्स मेडल अफ अनर’ र भारतको ‘परम वीर चक्र’ जस्तै सन् १९४७ अगस्त १४ मा आफ्नो स्थापना दिवसदेखि नै पाकिस्तानले ‘निशाने हैदर’ को शुरुवात गर्‍यो।

यो पदकको एउटा विशेषता के छ भने, यो पदक मरणोपरान्त मात्र प्रदान गरिन्छ। आजसम्म यो पदक ११ जना वीर सैनिकले मरणोपरान्त पाएका छन्।

एक जना पाकिस्तानी सैनिक प्रमुखसँग कुनै बेला एक पत्रकारले यो पदक मरणोपरान्त मात्र किन प्रदान गर्ने गरिएको भनेर सोध्दा उनले भनेछन् कि, ‘जीवित वीर योद्धाले यो पदक प्राप्त गरे पश्चात कदाचित आफ्नो जीवनको पछिल्लो समयमा कुनै नाजायज कार्य गर्न गएमा यो पदकको गौरव नै घट्न सक्छ।’

क्याप्टेन रामबहादुर लिम्बू (भि.सी.)ले वृटिश सेनाबाट सन् १९८५ मा अवकास पाउनु भन्दा केही समय अघि उनलाई वृटिश सरकारले ‘मेम्बर अफ रोयल भिक्टोरियन अर्डर (एमभिओ)’ उपाधि प्रदान गरेको थियो।

उनले आफ्नो अवकास पछिको लामो समय दमकस्थित घरमा बिताएका थिए। बेलायतमा हुने विभिन्न राजकीय समारोहहरूमा रामबहादुर लिम्बूजस्तै विश्वभरका जीवित भिक्टोरिया क्रस बिजेताहरूलाई आमन्त्रित गर्ने चलन छ।

महारानी एलिजावेथ द्वितियाको अन्त्येष्टि र नयाँ राजा चाल्र्सको गद्दी आरोहण समारोहमा पनि सबै जिवित भिक्टोरिया क्रस बिजेताहरूलाई आमन्त्रण गरिएको थियो।

वि.सं. २०६२ सालमा धरानको घण्टाघर र भूकम्प स्मारक तथा पार्क क्षेत्रको उद्घाटन क्याप्टेन रामबहादुर लिम्बू (भि.सी.)ले नै गरेका थिए। त्यतिबेला म एक बैंकको शाखा प्रमुखको रूपमा धरानमा कार्यरत थिएँ।

मेरो सम्बन्ध धरानका पुराना मेयर मनोजकुमार मेयाङ्बोसँग निकै राम्रो थियो। उनी नै धरानको घण्टाघर निर्माण आयोजनाका संयोजक पनि थिए। मैले आफ्नो बैंकको र आफ्नो व्यक्तिगत सहभागितामा केही रकम सो आयोजनालाई प्रदान गरेको थिएँ भने, सो आयोजनाको निर्माणको समयमा म त्यहाँ बरोबर गएर निर्माण प्रगतीको चाखपूर्वक जायजा लिनुका साथै मनोज मेयाङ्मोसँग धरानको विकासबारे भलाकुसारी गर्न गइरहन्थेँ।

उनी एक विकास प्रेमी व्यक्ति हुन्। धरानमा ध्यानबहादुर राई र मनोज मेयाङ्बोको अथक प्रयासले आज यो अति व्यवस्थित शहर हुन पुगेको छ भने, हालका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकालमा धरानलाई बस्न लायकको शहर बनाउने र खानेपानीको अभावबाट उम्काउने प्रणका साथ रातदिन काममा खटिइरहेका छन्।

धरानको घण्टाघरको निर्माण सम्पन्न हुनुभन्दा केही समय अघि मैले आफ्नै लेखन, संगीत र स्वरमा भेडेटार बारेको एउटा म्युजिक भिडियो तयार गरेको थिएँ र सोको खुबै प्रचारप्रसार भइरहेको थियो।

त्यसैले एकदिन मनोज मेयाङ्बोले छिटै आयोजना गरिने धरान महोत्सव र घण्टाघर परिसरको उद्घाटन समारोहका लागि धरान बारेको एक गीत तयार गर्न मलाई आग्रह गरे।

मैले केही दिनमा नै एउटा धुन तयार गरे पछि युवा पत्रकार तथा उद्यमी भाई बासुदेव बरालको पहलमा धराने युवा गीतकार गोपाल देवानसँग केही समय बिताएर धरान बारेको एक सुन्दर गीत हामीले तयार गरी रेकर्ड पनि गरायौँ।

धरान महोत्सव र घण्टाघरको उद्घाटनको निम्ति निमन्त्रणा दिन मनोज मेयाङ्बोको साथमा मैले पनि दकमस्थित क्याप्टेन रामबहादुर लिम्बूको घर जाने अवसर पाएँ। निकै भलाद्मी तथा कम बोल्न रुचाउने भिक्टोरिया क्रस बिजेता लिम्बूले सहर्ष हाम्रो निमन्त्रणालाई स्विकार गरे।

निकै प्रचार, प्रसार र तयारी पश्चात हामी उद्घाटन समारोहको दिन बिहान नै उनलाई लिन दमक गयौँ र हाम्रो साथमा उनलाई सिधै धरानको भानुचोकमा बनाइएको मञ्चमा ल्यायौँ।

हजारौँ धरानवासी दर्शकहरूको बीचमा आयोजित विविध कार्यक्रमका साथै क्याप्टेन रामबहादुर लिम्बूले घण्टाघरको उद्घाटन गर्दा त्यहाँ उपस्थित दर्शकदिर्घाको तालीको कर्तल ध्वनीले पुरै कार्यक्रम स्थलमा एक प्रकारको असिम खुशियाली छाएको थियो भने त्यति नै बेला निकै शक्तिशाली स्पीकरहरूबाट मैले गाएको ‘यो शहर धरान शहर, यो शहर सुन्दर शहर’ भन्ने गीत बज्दा धरानको टाढासम्म यो गीत गुञ्जिएको थियो।

सो समारोहमा निकै तारिफ पाएको यो गीतका रचनाकार, गायक र संगीतकारको नाम कार्यक्रमका प्रमुख आयोजक मनोज मेयाङ्बोले घोषणा गरेपछि त्यहाँ उपस्थित दर्शक तथा कार्यक्रमका सहभागीहरूले हाम्रो सम्मानमा पुनः कर्तल ध्वनीका साथ लामो ताली बजाएका थिए। मेरो जीवनमा यो एक अविश्मरणीय क्षण थियो।

धरानवासीहरूको आग्रह र त्यहाँका केही उद्योगी तथा व्यवसायीहरूको आर्थिक सहयोगबाट पछि यो गीतको मैले म्युजिक भिडियो समेत तयार गरेको थिएँ, जुन अझसम्म पनि लोकप्रिय नै छ।

यो भिडियो मेरो युट्युव ‘कपिल लोहनी’मा गएर हेर्न सकिन्छ। यसकोे केही समय पछि म धरानबाट काठमाडौँमा सरुवा भएँ। एउटा कर्मचारीको हैसियतमा धरानमा करिव सवा ४ वर्ष बिताएको ममा धरान र यसको सेरोफेरोको वातावरण र संस्कृति तथा संस्कारले निकै प्रभाव पार्‍यो भने त्यहाँका धेरै बासिन्दाहरूले मलाई पछिसम्म पनि सम्झने र माया गर्ने गरे।

त्यसपछिको एउटा धरान महोत्सवमा मलाई आयोजकहरूले धरानमा आमन्त्रण गरेर सम्मान समेत गरे। आजको दिनमा पनि म बेला बखतमा धरानको भ्रमण गरिनै रहन्छु।

क्याप्टेन रामबहादुर लिम्बूसँग भेट्न र कुराकानी गर्न म पछि पनि उनको घर दमकमा गएँ। त्यतिबेला मैले मेरा ससुराबुवा क्याप्टेन मोतिलाल थापाको बारेमा पनि उनीसँग कुरा गरेको थिएँ।

उमेरले उस्तै भए पनि १३ वर्षको उमेरमा ब्वाईबाट सेनामा भर्ती भएका मेरा ससुराबुवाले उनीभन्दा करिव ६ वर्ष पहिले क्याप्टेनबाट नै अवकास प्राप्त गरेका रहेछन् तर कार्यक्षेत्र निकै वर्ष मलाया नै भएको दुवैजनाको।

पुराना कुराहरू गर्दा त्यतिबेला निकै रमाइलो भएको थियो। उनको भिक्टोरिया क्रस पदक देखाउँदै उनले सन् १९६७ तिर भारतबाट नेपाल आउने क्रममा रेलको सफर गर्दै गर्दा उनको खास भिक्टोरिया क्रस पदक र व्यक्तिगत सामान तथा लत्ताकपडा उनी रेलमा सुतिरहेको बेला चोरी भएको कुरा बताएका थिए। ती सामानका साथै उनले पाएको बहुमूल्य पदक कहिल्यै भेटिएन अरे।

पछि उनलाई बेलायत सरकारले त्यसैको कपि पदक प्रदान गरेको रहेछ। उनको सैनिक सेवा र पुरै जीवनकालमा वृटिश सेनाले उनलाई थुप्रै पदकहरूले विभूषित गरेको रहेछ। त्यस्ता थुप्रै पदक, सैनिक बर्दी तथा खेलकुदमा पाएका सिल्ड, कप तथा पदक र फोटोका थुप्रै अलबमहरू हेर्ने मौका मिलेको थियो।

गोर्खाली वा नेपालीहरू विश्वको जुनैसुकै ठाउँमा भए पनि उनीहरूले अनुशाषित भएर हाम्रा अग्रजहरूले कमाएको जस्तै इज्जत कमाउन सक्नुपर्छ। नाम कमाउन सेनामा नै जानुपर्छ भन्ने पनि होइन।

आजको युगमा नाम कमाउन इमानदार र विश्वासिलो व्यक्ति भए पनि पुग्दछ। हुनत अधिकांश विदेशमा बस्ने नेपालीहरू इमान्दार र विश्वासिलामा नै गनिएका छन् तर उनीहरूलाई विदेशमा जानुभन्दा अघि कुनै प्रकारको तालिम वा शिक्षा नदिइने भएकोले उनीहरू विदेशमा गएपछि विभिन्न प्रकारका हण्डर खान तथा दुख झेल्न बाध्य हुन जान्छन्।

पछिल्लो समयमा धेरै चेलीहरूले पनि यस्ता दुख झेलीरहेका छन्। छिमेकी राष्ट्र भारत हाम्रो सबैभन्दा नजिकको मित्र भएपनि त्यहाँ सानातिना कामको सिलसिलामा जाने नेपालीहरूलाई निकै सास्ती दिने तथा तिनको पसिनाको कमाई सीमा सुरक्षामा खटिएका भारतीय प्रहरीले समेत खोस्ने गरेका हालैका समाचारले मन निकै रुने गर्दछ।

त्यस्तै हाम्रो रोजगारीप्रदायक संस्थाहरूले पनि कुनै पनि खालको तालीम नै नदिइ एउटा काम र रकमको प्रलोभन देखाएर अर्कै काममा पठाउने गर्नाले पनि हजारौँ नेपाली विदेशमा अलपत्र परिरहेका घटनाहरू दिनहुँ सुन्नमा आउँछन्।

त्यसैले सरकारले यस्ता कुराहरूमा विशेष ध्यान दिनुका साथै नेपालको शिक्षा प्रणालीमा नै आमुल परिवर्तन गरेर शिपमूलक तथा व्यावसायिक शिक्षाको विकासमा पनि जोड दिनु पर्ने तथा हाम्रा राजदूतावासहरूलाई अझ बढी जनताको सेवामा लाग्ने खालको सेवा प्रदायक संस्था बनाउँदै जानु पर्ने बेला आएको छ।

वृटिश वा भारतीय गोर्खा पल्टनमा भर्ती गरेपछि त्यहाँको सरकारले गोर्खालीहरूलाई विभिन्न प्रकारका सैनिक तथा नैतिक तालिमहरू दिन्छन् तथा अवकासमा फर्केपछि पनि आफ्नो खुट्टामा अड्न सकुन् भनेर पेन्सन र औषधि खर्च मात्र नभई शिपमूलक र व्यावसायिक तालिम पनि उपलब्ध गराउँछन्। त्यस्तै व्यवस्था विदेशमा काम गर्न जाने तथा फर्केर आउने नेपालीका लागि पनि सरकारले गर्न सक्नु पर्छ।

विदेशबाट फर्किएका सोझा तथा परिश्रमी र अनुशाषित वर्गले कमाएर ल्याएको पसिनाको कमाई माथि आँखा गाडेर ठग्न यहाँ धेरै प्रकारका फटाहाहरू झुम्मिइरहेका हुन्छन्।

विमानस्थल र सीमा नाकादेखि मुलुकभित्र जहाँ तहीँ त्यस्ता जालीहरूको बिगबिगी नै छ। यहाँ रामबहादुर लिम्बूहरूदेखि सामान्य मजदूरी गरेर फर्केका निरीह नागरिक पनि ठगहरूको जालमा फस्न बााध्य हुनु पर्ने भएकाले त्यस्ताबाट उचित सुरक्षा दिन पनि सरकार सजग हुनु पर्दछ। आज नभए पनि नेपालमा त्यस्तो रामराज्यको दिन जरुर आउला। अलबिदा क्याप्टेन रामबहादुर लिम्बू (भिसी÷एमभिओ)।

लेखक विकास अर्थशास्त्री र पूर्व  बैंकर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *