रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

डिसी नेपाल
१८ वैशाख २०८० १६:५७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो।

यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो।

१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन्।

गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त उक्त पदमा लामिछानलाई चयन गरिएको हो।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए।

उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ। सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ।”

आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ। डा स्वर्णिम वाग्लेले अर्थनीति विभागको प्रमुखको जिम्मेवारी पाएका छन्। शिशिर खनालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी पाएका छन्।

डा मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन र दिपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन्।

मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *