सरकारबारे निर्णय गर्न रास्वपा बैठक बस्दै

डिसी नेपाल
२२ वैशाख २०८० ९:५८

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ।

अपरान्ह पाँच बजे बस्ने बैठकले सरकारका विषयमा निर्णय गर्ने बताइएको छ। सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेको छ। तर अब सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्ने एक नेताले बताए।

आजको बैठकमा सहभागीहरुले आआफ्नो धारणा राख्ने र त्यसैका आधारमा पार्टीले निर्णय लिने महामन्त्री मुकुल ढकालले जानकारी दिए।
रास्वपा अध्यक्ष रवि लामिछाने चितवन-२ मा भएको उपनिर्वाचनमा सर्वाधिक मतान्तरले विजयी भएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए।

उनले सरकारले जनताका पक्षमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए।

त्यसयता प्रधानमन्त्री प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। सुरुमा फोनमार्फत रविसँग संवाद गरेका प्रधानमन्त्री प्रचण्डले पछि बालुवाटारमा बोलाएरै सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

उनले त्यसका लागि रास्वपालाई परानै मन्त्रालय दिन सकिने संकेत गरेका थिए। तर रास्वपाले प्रधानमन्त्रीलाई ठोस जवाफ दिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *