६४ वर्षदेखि भेडापालनमा, थाहा छैन कृषक अनुदान

डिसी नेपाल
२२ वैशाख २०८० २१:३९
176
Shares

ढोरपाटन। तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गरे । उमेर घर्कँदै गए पनि उहाँमा काम गर्ने जोस जागर भने तन्नेरीको भन्दा कम छैन ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेसी झरेका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थालेका छन् । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा छन्।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् ।

ठूलो भेडाको बथानमा केही काला र केही खैरो रङ्गका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आएका सिर्पालीको यात्रा अहिले पनि नडगमगाई निरन्तर चलिरहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित छन्। भाइ देवबहादुर पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आएका छन्।

६० वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नु भएको सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आएका छन् । उनीहरुले भेडा हुलमूलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रङ लगाइ दिएका छन्। भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ ।

उनले आफ्ना पालामा अहिलेको जस्तो पढ्नेलेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताए । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताए । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उनको भनाइ छ ।

“पहिलेपहिले एकै जनाको दुई÷तीन हजार भेडा हुन्थे, अहिले त भेडा पाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुर भन्छन्, “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नुप¥यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गोठनै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाहँदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रमा भेडा गोठालो र भेडा प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउँछन् ।

भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताए । उनले पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताए । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको देवबहादुर बताउँछन् । बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उनको भनाइ छ ।

देवबहादुर भन्छन्, “भेडा चराउन निकै टाढाटाढा पुग्नुपर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडिसम्म भेडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेडा गोठालाको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेडा पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।”

भेडाको सुरक्षाका लागि उनीहरुले तीन कुकुरसमेत पालेका छन्। उनीहरु जता जान्छन्, भेडा र कुकुर पनि र उतै लैजाने गर्छन् । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाइ छ ।

उनीहरुले अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आएका छन्। उनी राति सुत्ने बेला पनि भेडा उहाँहरुकै छेउछाउमा बस्ने गर्छन् । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

सरकारले कृषकलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकलाई अनुदान भनेको थाहा नै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा सुविधा दिन थालेको बताए । उनले तमानखोलामा धेरै पशुपालक कृषक रहेको भन्दै उनीहरुलाई पालिकाबाट प्रदान हुने कुनै पनि सुविधाबाट वञ्चित नगराएको बताए ।

“पशुपालनका लागि तमानखोला उर्बर मानिन्छ, यहाँ घना जङ्गल र भुई घाँसका लागि प्रशस्त ठाउँ छन्, परापूर्वकदेखि नै यहाँका स्थानीयले भेडापालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेसा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,” अध्यक्ष बुढा मगरले भने– “उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रबिधिसँग जोड्ने प्रयास पनि भइ रहेको छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *