नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

डिसी नेपाल
२७ वैशाख २०८० ६:५०

काठमाडौं। नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन् ।

प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर भइसकेको र प्रहरीका सबै संयन्त्र खटाइएको बताए । ‘रायमाझीको खोजीका लागि हुलिया र फोटोसहित ७७ वटै जिल्लामा सर्कुलर भइसकेको छ, प्रहरीले खोजी गरिरहेको छ, यो पक्राउ पुर्जी जारी भएपछिको नियमित प्रक्रिया नै हो,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको छ । रायमाझी टोपबहादुरका छोरा हुन् ।

टोपबहादुरलाई भने प्रहरीले गत २० वैैशाखदेखि खोजी गरिरहेको छ । उनी प्रहरीको फरार सूचीमा छन् । पक्राउ पुर्जी जारी भएको एक साता बित्दासमेत उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । रायमाझीलाई पक्राउ नगर्न उच्च राजनीतिक तहबाट नै लबिइङ हुँदै आइरहेको छ । उनी भागेर भारत पुगेको हुनसक्ने समेत प्रहरीको अनुमान छ ।

प्रहरीले रायमाझीलाई पक्राउ गर्न नसकेपछि उनको निवासमा गएर खानतलासी गरेको हो । उनी काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकै दिन अर्घाखाँची हुँदै बुटवल आइपुगेका र त्यहाँबाट सम्पर्कविहीन भएका छन् ।

यसैगरी, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा फरार सूचीमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेकाहरूको बयान र एक अडियो क्लिपबाट पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत संलग्नता रहेको दाबी गरिँदै आइएको छ ।

सो प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राण देउवाको पनि नाम जोडिँदै आएको छ भने पूर्वगृहमन्त्री खाँणकी श्रीमती मञ्जु खाँणको पनि नाम जोडिएको छ । प्रहरीले उनीहरूको संलग्नताको थप आधार खोजी गरिरहेको प्रहरी स्रोत बताउँछ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *