मलामी बोक्न निःशुल्क बस

डिसी नेपाल
३ जेठ २०८० ७:४२

विराटनगर। विराटनगर-१, पोखरिया शंमर चोकका करिम अन्सारीको मोबाइलमा मंगलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उहाँलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।

अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग हुन्छ। अन्सारीले कसैको निधनमा घाटसम्म मलामी लिएर जान निःशुल्क बस सेवा दिने घोषणा गरेका छन्।

तीन महिनायता अन्सारीको बसमा चढेर थुप्रै मलामी घाटसम्म पुगिसकेका छन्। “दुई वटा बस धरान–विराटनगर रुटमा चलिरहेका छन्,” अन्सारीले भने, “एउटा बसलाई मलामी लैजान निःशुल्क उपलब्ध गराउँदै आएको छु।”

तीन महिनामा आफ्नो बस ४२ पटक मलामी बोक्न प्रयोग भएको अन्सारीले जानकारी दिए। निःशुल्क बस उपलब्ध गराउँदै आएको कुरा थाहा हुनेले फोन गरेर जानकारी गराएपछि अन्सारीले सहयोग स्वरूप पठाउने गरेका छन्।

अन्सारीले दस वर्षको उमेरदेखि गाडीमा सहयोगीका रूपमा काम गर्न सुरु गर्नुभएको थियो। उहाँका अनुसार अहिले तीन वटा बसको मालिक आफैँ भएपछि सामाजिक सेवा गर्ने इच्छा जागेको हो। यो सेवासँग पनि फरक संयोग रहेको उहाँले सुनाउनुभयो। कसैले मलामी बोक्नका लागि गाडी भाडामा भनेका थिए। आफूले मलामी जाने भनेपछि सुहाउँदो भाडा भने पनि घरमा दुःख झेलिरहेका परिवारसँग धेरै पैसा मागेर कमिसन खाएको उनहाँले थाहा पाएका थिए। त्यसपछि मलामी बोकेर घाट जाने गाडीमा समेत कमिसन खानेलाई बुद्धि सिकाउन मन लागेर निःशुल्क सेवा दिने घोषणा गरेको करिमको भनाइ छ।

३७ वर्षीय अन्सारी ‘गाडीकै बास, गाडीकै भात’ गरेर पनि आफू तीन वटा बसको मालिक हुन सकेको स्मरण गर्दै कसैले कसैसँग अनुचित लाभ लिएको देख्दा चित्तमा नरमाइलो लाग्ने बताउँछन्।

दस वर्षकै उमेरमा पढ्ने इच्छा खोसिएर गाडीमा काम गर्नुपरेको दिनदेखि अहिलेसम्म परिवारलाई पुग्ने रकम कमाएको करिम बताउँछन्। मेहनत गरे एक दिन सफलता मिल्छ भन्ने सोच राखेर अगाडि बढेको बताउँदै उनले सामाजिक सेवा गर्नुपर्ने परिस्थितिमा समेत कमिसन खाने प्रवृत्ति रोक्न निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको स्पष्ट पारे।

विराटनगर बजार क्षेत्रदेखि मलामी घाटसम्म पुग्न धेरै टाढाको दूरी नभएकाले कसैसँग पनि आफूले पैसा माग्ने काम नगरेको उनले बताए। उनका अनुसार जसले जुन बेला फोन गरे पनि आधा घण्टाभित्र बस सेवा उपलब्ध गराउन सक्ने बताए।

करिमले विराटनगर बसपार्क आसपासमा रोकेर राखेको बसको अगाडि मलामी जानेका लागि निःशुल्क सेवाको ब्यानर राख्नुभएको छ। जसमा रहेको फोन नम्बर हेरेर पनि आवश्यक पर्दा फोन आउन थालेको उनले बताए।

करिम मुसलमान भए पनि मलामी घाट लाने परम्परामा यो हिन्दु, यो मुस्लिम भनेर विभेद गर्दैनन्। “मैले घोषणा गरेदेखि कसैसँग पैसा मागेको छैन,” करिमले भने, “हिन्दु धर्म अनुसार अन्तिम संस्कारका लागि शवसँगै मलामी पनि बोकेर लैजाँदा भारा लाग्छ भनेर कसैले आफूखुसी पैसा दिने गरेका छन्।” त्यसरी दिनेसँग लिए पनि कसैले दिएनन् भन्ने आफ्नो मनमा कहिल्यै नरहेको उनले बताए। गाेरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *