लघुवित्त रुप एक, सेवा अनेक

डा. गोपाल दहित
९ जेठ २०८० ६:५२

लघुवित्तको लक्ष्य, उद्देश्य, मोडालिटी, मर्म र भावना बुझ्न जरुरी छ। लघुवित्त सेवा गरीव विपन्नको लागि हो, धनीको लागि पटक्कै होइन। आफूले जानेको ज्ञान, सीप र स्वपुँजीमा लघुवित्तबाट सानो कर्जा लिएर व्यवसाय गर्ने हो, न कि ठूलो कर्जा लिएर नयाँ ब्यवसाय गर्ने।

सानो तिनो दैनिक कमाई गरी लघुवित्तबाट लिएको कर्जाको मासिक किस्ता तिर्ने हो, न की कर्जा रकम लगानी गरेर त्यसैको प्रतिफलबाट।

लघुवित्त भनेको एकै चोटी ठूलो कमाईको सपना होइन, क्रमशः जीवनस्तर सुधार्ने, घरखाँचो पर्न नदिने, एक आपसमा सहयोगी र मेलमिलापको भावना विकास गर्ने साथै शिक्षित नयाँ पुस्ताको निर्माण गर्ने हो।

यी चार मूल उद्देश्यलाई पछ्याउनेहरु जहिले पनि सफलताको शीखर चुम्ने गर्दछन्।

समग्रमा सबैले बुझ्ने लघुवित्तको रुप एउटै छ, त्यो हो, सानो रकम कलमको कारोबार। सत्य हो, सानो पुँजीको कारोबार, ठूलो गर्न पनि हुँदैन। ठूलो वित्तीय कारोबार गर्ने त वाणिज्य र विकास बैंक छँदैछन् नि। यसर्थ लघुवित्तले दिने सेवा सोझै हेर्दा दुईटा देखिन्छन्, बचत र ऋण सेवा।

यो दुई वटै सेवा दिन लघुवित्तका कर्मचारी सदस्यको गाउँघरमा पुग्छन्, घरदैलो सेवा दिन्छन्, त्यसैले त सेवाग्राही सदस्यहरुले एक दुई रुपैयाँदेखि हजारौं रुपैयाँसम्मको बचत गर्ने समेत सेवा पाउने गर्दछन्। यस्तो सेवा ठूला बैंकबाट सम्भव छैन।

बचतको प्रकार अनुसार सेवा सुविधा पाइन्छ। त्यसैगरी आयमूलक कार्यकोलागि कर्जाको प्रकार अनुसार कर्जा सेवा पनि पाइन्छ। यसरी लघुवित्त संस्थाहरु गाउँ गाउँसम्म पुग्ने भएकोले गाउँ तहसम्म वित्तीय सेवाको पहुँच बढेकाे छ।

वित्तीय सेवाको अतिरिक्त लघुवित्तले अरु धेरै थरिका सेवा दिने गर्दछन्। त्यसमध्ये पहिलो हो, वित्तीय साक्षरता। समूह गठन गर्नु अघि लघुवित्तका कर्मचारीहरुले कम्तीमा सात दिन र बढीमा ११ दिनसम्म इच्छुक महिलाहरुलाई वित्तीय साक्षरता तालिम दिने गर्दछन्।

यो तालिम दैनिक एक घण्टा सदस्यहरुको गाउँघरमा उनीहरुले भनेको ठाउँ र समयमा प्रदान गरिन्छ। यस तालिममा बचत र ऋण सेवा, ऋण लिने र किस्ता बुझाउने विधि साथै केन्द्र बैठकको नियम, केन्द्र प्रमुख, उपप्रमुख, समूह अध्यक्ष र सदस्यहरुको काम, कर्तव्य र जिम्मेवारी, साथै निरक्षर महिलाहरुलाई कम्तीमा आफ्नो नाम लेख्न पनि सिकाइन्छ।

सम्बन्धित अभिभावकको समेत अनिवार्य मन्जुरीनामा लिने गरिन्छ। यसलाई लघुवित्तको भाषामा समूह प्रवेश तालिम भनिन्छ। समूह प्रवेश तालिम पूरा भएपछि शाखाको प्रमुखले सदस्यहरुको जाँच लिने गर्दछन्, जसलाई समूह मान्यता जाँच भनिन्छ। यसमा लघुवित्तको नीति नियम जाने नजानेको बारेमा सोधपुछ गरिन्छ, र उत्तीर्ण भएपछि मात्र लघुवित्तको समूहमा राखिन्छ।

शुरुवाती वर्षहरुमा साप्ताहिक रुपमा लघुवित्तको केन्द्र बैठक हुने अभ्यास थियो, पछि १४ दिने भयो, र अहिले अधिकांश १ महिने रहेको छ।

यही केन्द्र बैठकमा सदस्यहरुले आफ्नो बचत जम्मा गर्ने, कर्जा माग गर्ने, सानो ऋण भए त्यही बैठकमा लिने, र कर्जाको साँवा ब्याज बुझाउने गर्दछन्।

बैठक सकेपछि महिला चेतना, स्वास्थ्य, सरसफाई, चर्पी निर्माण, छोराछोरीहरुलाई विद्यालय भर्ना, आदिको बारेमा केही छलफल गर्ने अभ्यास रहेको छ।

जबकी यही कुरा सिकाउन, छलफल गराउन, सचेतना जगाउन विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले लाखौं रकम खर्च गरेका हुन्छन्। तर, लघुवित्त संंस्थाहरुले आफ्नो वित्तीय सेवासँगै सचेतना जगाउँदै आइरहेका छन्।

प्रत्येक साल प्रत्येक शाखाका छनौटमा परेका महिलाहरुलाई उनीहरुको माग अनुसार सीप विकास तालिम दिने गरिन्छ। यो तालिम नितान्त आवश्यकतामा आधारित हुन्छ। तालिम लिई सकेपछि सोही अनुसारको कारोबार गर्नकोलागि प्रतिबद्धता पत्र समेत बनाइन्छ।

आवश्यकतामा आधारित ब्यावसायिक तालिम पनि दिने गरिन्छ। जे.टी., जे.टि.ए. प्राविधिक कर्मचारीहरुले ऋणी ब्यवसायी सदस्यहरुलाई प्राविधिक सेवा दिने गर्दछन्।

यसैगरी प्रत्येक शाखाले सालाना छनौटमा परेका उद्यमी सदस्यहरुलाई अनेत्र शाखाका सदस्यहरुको सफल ब्यवसायको अध्ययन अवलोकन भ्रमणमा लगिन्छ। वार्षिक रुपमा फागुनदेखि जेठ महिनाभित्र सबै केन्द्र प्रमुख, उपप्रमुख र अभिभावकहरुको उपस्थितिमा वित्तीय साक्षरता र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिन्छ।

यो कार्यक्रममा समसामयिक विषयमा सदस्यहरुलाई प्रशिक्षण गर्नुको साथै उनीहरुको राय सुझाव लिने काम पनि गरिन्छ। सोही अवसरमा हरेक शाखाका कम्तीमा तीन उत्कृष्ठ केन्द्र, २ जना उत्कृष्ठ उद्यमी सदस्य, एक जना उत्कृष्ठ बचतकर्ता सदस्य र एक जना उत्कृष्ठ केन्द्र प्रमुखलाई पुरस्कार दिने, र फूलमाला तथा दोसल्ला ओढाई सम्मान गर्ने गरिन्छ।

यही अवसरमा उक्त शाखाका ७० वर्ष पूरा भएका जेष्ठ सदस्यहरुलाई ब्याज सहित सम्पूर्ण बचत फिर्ता, उपहार र ससम्मान बिदाई गरिन्छ।

विपन्न वर्गका सेवाग्राही सदस्यहरुको छोराछोरीहरुलाई शिक्षा आर्जनमा प्रोत्साहित गर्न हरेक वर्ष सरकारी विद्यालय तथा कलेजमा अध्ययन गर्ने छनौटमा परेका छात्रछात्राहरुलाई छात्रवृत्ति पनि प्रदान गर्ने अभ्यास प्रायः सबै लघुवित्तमा रहेको छ।

केहीले त नियमित वालशिक्षा पनि सञ्चालन गरी राख्नु भएको छ। यसर्थ घरपरिवारसँग पनि लघुवित्त जोडिएको हुन्छ।

लघुवित्तको सेवा यति मात्र कहाँ हो र?, अरु हिसावले पनि सहयोग गरी आएका छन्। प्रत्येक सदस्यलाई मोबाइलमा निःशुल्क एसएमएस सेवा दिँदै आएका छन्।

निःशुल्क डिजिटल पासबुक सेवा, छापेको पासबुक निःशुल्क दिने, गुनासो सुनुवाई सेवा, टोलफ्री टेलीफोन सेवा, आदि दिँदै आएका छन्। केही लघुवित्तले डिजीटल मेम्मर, मोबाइल बैंकीङ सेवा पनि शुरु गरेका छन्।

बीमा कम्पनीहरुको साथ सहयोगमा कर्जा सुरक्षा बीमा सेवा र अभिभावकहरुकोलागि रक्षावरण सेवा पनि दिँदै आएका छन्। यसबाट हजारौं ऋणी सदस्यहरुले करोडौं रुपैयाँ प्रत्यक्ष बीमा दाबी पाएका छन्, कर्जाको जोखिमबाट मुक्ती पाएका छन्।

यस सेवाबाट गाउँघरका सामान्य परिवारका सदस्यहरुको बीमा कम्पनीको सेवासम्म पहुँच पुगेको छ। कतिपय संस्थाले बचत, स्वास्थ्य र जीवन बीमा सेवा पनि दिएका छन्।

लघुवित्तको शाखा कार्यालयहरु गाउँ घरमा हुने गरेको, र त्यहाँ स्थित शाखाबाट विभिन्न विप्रेषण सेवा कम्पनीसित सम्झौता गरी विप्रेषण सेवा पनि दिँदै आएका छन्। यसबाट त्यस गाउँघरका नागरिकहरुले रकम पठाउने र पाउने सेवा सजिलै पाएका छन्।

कतिपय लघुवित्तले रेमिट बचत सेवा पनि शुरु गरेका छन्, र यो खाता खोली बचत गर्ने गरेका छन्, र पुँजी निर्माणमा मदत पुगेको छ। यसैगरी कर्जाको किस्ता भुक्तानी गर्न र बचत जम्मा गर्न निःशुल्क ईसेवा र खल्ती सेवा पनि दिन थालेका छन्। यसबाट गाउँघरका दिदीबहिनीहरुलाई प्रविधिमैत्री आर्थिक कारोबार गर्न अभ्यस्त हुँदैछन्।

ग्राहक संरक्षण कोषबाट सुत्केरी हुने सदस्यहरुलाई सुत्केरी भत्ता दिने गरी आएका छन्। आगलागी, बाढी पहिरो, आदिका कारण गासबास गुमाएका सदस्यहरुलाई प्रारम्भिक राहत दिने गरी आएका छन्।

सर्पको टोकाईका बिरामीहरुलाई प्रारम्भिक उपचार खर्च पनि दिने गरेको पाइन्छ। यी सबै मानवता र सामाजिक सेवालाई लघुवित्त संस्थाहरुले धेरै पहिलेदेखि निरन्तरता दिँदै आएका छन्। आफ्नो आम्दानीको ठूलो हिस्सा यस सामाजिक सेवामा खर्च गर्ने गर्दछन्।

शुरुमा आफ्नो नाम र परिचय भन्न नसक्ने महिलाहरुको लघुवित्तमा पहुँच पुगेपछि धेरै बाटो खुलेको छ, बोल्ने क्षमता बढेको छ, लाखौंको संख्यामा स्वरोजगार भएका छन्, सामाजिक र राजनैतिक नेतृत्व गर्न सक्ने भएका छन्, स्थानीय तहमा वडा सदस्यदेखि धेरै संख्यामा उपमेयर भएका छन्, प्रदेशसभा हुँदै संघीय ब्यवस्थापिकामा सांसद र मन्त्री पनि बनेका छन्। यी सबै योगदान लघुवित्तकै हो।

लघुवित्तको सेवालाई केवल कर्जा, ब्याज र सेवा शुल्क सितमात्र जोड्न मिल्दैन। यसले धेरै प्रकारका सामाजिक उत्तरदायित्वका कार्यहरु निरन्तर गर्दै आएका छन्। यस प्रकारको सेवाहरु वाणिज्य र विकास बैंकबाट विपन्न वर्गका ऋणी सदस्यहरुले प्रत्यक्ष पाउने गर्दैैनन्, तर लघुवित्तले दिँदै आएका छन्।

नेपाल सरकारको नीति अनुसार वडा वडामा लघुवित्त सेवा पुगेको छ। यसर्थ लघुवित्तको स्वरुप एउटा छ, तर विपन्नहरुकोलागि सेवा अनेकन रहेका छन्। लघुवित्तले दिने सेवाको दुरुपयोग होइन, अधिकतम सदुपयोग गरौं, घरघरबाट गरीवी उन्मुलन गरौं। सबैलाई चेतना भया।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *