कोशी प्रदेश : बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

डिसी नेपाल
१८ जेठ २०८० २१:५३

विराटनगर . कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सदनमा पेश गरेका थिए । बुधबार चार जना र आज २९ जनाले सो प्रस्तावमाथि आआफ्ना सुझाव तथा प्रतिक्रिया दिएका थिए ।

मुख्यमन्त्री कार्कीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउन यहाँका सबै सम्भावना र क्षेत्रमा सरकारले योजनाबद्धरुपमा विकास गर्ने भन्दै आजको छलफल जीवन्त भएको प्रतिक्रिया दिए । मुख्यमन्त्री कार्कीले छलफलमा उठेका प्रश्न, जिज्ञासा र सुझावले सरकारले बनाउने वार्षिक नीति तथा कार्यक्रमलाई अझ समृद्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै सरकारले राजस्वको दर होइन दायरा बढाउने जानकारी दिए ।

उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उत्पादन, उत्पादकत्व बढाई रोजगार र निर्यात बढाउने तथा आयातलाई विस्थापित गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै सरकारले चालु खर्च घटाई पुँजीगत खर्च बढाउने योजनामा रहेको धारणा राखे । प्रदेशलाई समृद्ध बनाउन निजी क्षेत्रलाई सहभागी बनाउने धारणा राख्दै मुख्यमन्त्री कार्कीले भने, “छलफल र सुझावले सरकारलाई मार्गदर्शन दिन्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *