घरभाडा नबढाउन उद्योग वाणिज्य संघको अपिल

डिसी नेपाल
२१ जेठ २०८० ११:५८

चितवन। व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र सकेसम्म छुट दिन उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ । देशमा चरम आर्थिक मन्दिका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको भन्दै संघले भाडा नबढाउन अपिल गरेको हो ।

संघले कोभिड–१९ पश्चात सिर्जित अवस्था एवम् बैँक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैँक ब्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको उल्लेख गरेको छ ।

औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको भन्दै आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमासमेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको जनाएको छ ।

संघले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको जनाएको छ ।

सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गर्नुभएको अपिलमा भनिएको छ “घर बहाल सम्झौता बमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घले सबैमा अपिल गरेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *