अध्यात्म

हात हेर्दै किन उठ्ने ? 

हरिप्रसाद सोडारी
२४ जेठ २०८० ७:०१

जीवनमा माथ, साथ र हातको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ। माथ (दिमाग) ले बुद्धि, संस्कार र जीवनयापनमा प्रत्यक्ष प्रभाव पार्दछ। उचितरूपमा माथलाई परिचालन गर्नेहरूको समाज र राष्ट्र विकसित, सभ्य, वैभव सम्पन्न छन्।

साथ नै व्यक्तिको उन्नति र विनाशको कारण हुन्छ। जस्तो मति र गति भएको साथ पाउँछ चिन्तन एवं जीवन त्यस्तै बन्दछ। यसैले गाँस छोड्नु साथ नछोड्नु भनिन्छ। हात नै जीवन हो, सृष्टि हो अनि भविष्यको आधार हो।

जन्मदा हात (मुठ्ठी) बाँध्छ। मुठ्ठी बाँध्दा विचारको प्रवाह हुँदैन, अरूको भाषा बुझ्दैनन्, प्रष्ट बोल्न सक्दैनन्। कुट्नु पहिले वा रिसाउँदा मुठ्ठी बाँद्धछन्। हातले परिश्रम गर्दछ, व्यक्तित्व उठाउँछ, राष्ट्रनिर्माण गर्दछ, संस्कारको जग बसाल्छ।

देश, काल, परिस्थितिअनुसार हात जोड्न, छोड्न र राख्न जान्नुपर्छ। जसको हातले पुरुषार्थ गर्दैन, त्यसको जीवन निरस र उजाड बन्दछ। दाहिने हातलाई पुरुष र बायाँ हातलाई स्त्रीकारक मानेर दुबै हातको संयोगलाई पूर्णताको प्रतीकका रूपमा लिइन्छ।

हातले लिन र दिन, थाम्न र थमाउन जान्नुपर्छ। परिश्रमी बन्नुपर्ने अर्थमा ‘हात खाली नराख्नु, हात बाँधेर नबस्नु’ भनिन्छ। लामो हात गर्नुले चोरी अर्थ बुझाउँछ। हातलाई पौरखी र पुरुषार्थी बनाउनुपर्छ। गाई, घोडा, सुन इत्यादि बहुमूल्य वस्तुहरू पुरुषार्थबाट प्राप्त हुन्छन्।

बुद्धको हात अध्यात्ममा बढ्यो, लक्ष्मीप्रसाद देवकोटाको कवितामा, पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा, बालागुरु षडाननको योगमा, यसैले उनीहरू कालजयी भए। हातकै तागतले मानिसलाई अरबौँ वर्षसम्म जीउन वा उत्तिखेरै विनष्ट गराउन सक्दछ।

हातमा लिएको आयुध वा वस्तुबाट देवीदेवताको समग्रता बुझिन्छ। वैदिक धर्मले हातलाई माग्न होइन दिनका लागि प्रेरणा दिन्छ। अझ ‘दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्’ भन्ने मान्यता छ।

हातले मन्त्र जप्यो, तन्त्र लेख्यो, यन्त्र बनायो र पौरस्त्य ज्ञानविज्ञानलाई चम्कायो। यही हातले बम बनायो अनि हिरोसिमा र नागासाकीलाई मरुभूमिमा रूपान्तरित गरिदियो। हातको ऊर्जा, हातको लगाव, हातको परिश्रम कस्तो छ, त्यसको प्रतिफल त्यस्तै हुन्छ।

विद्वान् र नेताका हात निकै लामा हुन्छन्। उनीहरूसँग शत्रुता भए नष्ट हुन र मित्रता बढे शिक्षा, पद, पदक आदि पाउन समय लाग्दैन। शास्त्रहरूले ब्रम्हमुहूर्तमा उठी हातको दर्शन, प्रार्थना गर्न अनेकौँ मन्त्र र श्लोकहरू ऋषिमुनि तथा शास्त्रज्ञहरूले निर्माण गरे।

कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती।
करमूले स्थितो ब्रम्हा प्रभाते कर दर्शनम्।।

अर्थात् “‘हातको अग्रभाग (आँैला)मा लक्ष्मी बस्दछिन्, हत्केलामा सरस्वती बस्दछिन्, मणिबन्ध (हत्केलाको फेदमा)मा ब्रम्हा बस्दछन्।” प्राणीका जन्मदाता ब्रम्हा हुन्, आमा-बुबा कारणमात्र हुन्।

डाक्टरले बच्चा जन्माउन सक्षम भनेका कैयौँ युवायुवतिहरू निःसन्तान भएका उदाहरण प्रशस्तै देख्न पाइन्छन्। कुन प्राणी  कहाँ? कसको सन्तान भएर जन्मने, कुन वनस्पति कहिले, कहाँ उमार्ने?, यसका निर्णयकर्ता ब्रम्हाजी हुन्। त्यसैले उनलाई हत्केलाको फेदमा दर्शन गरिन्छ।

विद्याकी देवी सरस्वतीको बासस्थान हत्केला मानिएको छ। हत्केला (सरस्वती) ले मणिबन्ध (बम्हा) र औँलाका टुप्पा (लक्ष्मी)लाई  जोडेको छ। हत्केलाका विभिन्न स्थानमा दबाएर अकुप्रेशरका डाक्टरले रोगहरूको निराकरण गर्दछन्, हस्तरेखाविद्ले भविष्यवाणी गर्छन्।

त्यसैले हत्केलाको महत्व र उपयोगिता धर्मका साथै व्यावहारिक जीवनमा उत्तिकै छ। औँलाको टुप्पामा लक्ष्मीको निबास हुने हुँदा बिहान दर्शन गरिन्छ। धार्मिक अनुष्ठानदेखि व्यावहारिक कार्य सम्पन्न गर्न पैसा चाहिन्छ।

योग एवं अकुप्रेसरका ज्ञाताहरूले दिमागसँग औँलाका टुप्पाको सम्बन्ध हुने बताउँछन्। मन्द बुद्धि हुनेलाई बिहानै आँैला र हत्केलामा बिस्तारै थिच्ने सल्लाह दिन्छन्। विद्या आर्जन गर्‍यो तर पैसा (लक्ष्मी) नहुँदा जीवन ओइलिन्छ, ज्ञान चाउरिन्छ, विवेकको टुसा भाँचिन्छ।

जीवनलाई अर्थपूर्ण बनाउन बिहानै ब्रमसहित लक्ष्मी र सरस्वतीको दर्शन हातमा गरिन्छ। मानवका विभिन्न अंगप्रत्यंगहरूमा देवीदेवताहरूको निबास हुन्छ जस्तै आँखामा सूर्य, मनमा चन्द्रमा, बुद्धिमा ब्रम्ह, मुखमा अग्नि आदि। हामीले यसको महत्व बुझ्न सक्यौँ भने रोग, शोक र भोकले छुन सक्दैन। हस्त संजीवनमा भनिएको छ-

शत्रुञ्जयस्तु तर्जन्यां मध्यमायां जयन्तकः ।

अर्बुदः खलु साविऽयां कनिष्ठायां समन्तकः ।।

अङ्गुष्ठेऽष्टापदगिरिः पञ्चतीर्थान्यनुक्रमात् ।

स्वहस्तदर्शनेनैव वन्द्यन्ते प्रातरुत्तमैः ।।

अर्थात् ‘“चोरऔँलामा शत्रुञ्जय, माझीऔँलामा जयन्तक, साहिँलीऔँलामा अर्वुद (आबू), कान्छीऔँलामा समन्तक, बूढीऔँलामा कैलाश गरी पाँच तीर्थहरूको निबासस्थल छ। बिहानै हात हेर्नाले सबै देवता र तीर्थस्थलको एकैपटकमा दर्शन गर्न सकिन्छ।”

बुढीऔँलाबाट कान्छीऔँलासम्म क्रमशः आकाश, वायु, अग्नि, जल र पृथ्वीतत्वको निबास हुन्छ। जसमध्ये चोरऔँलामा वायुतत्व, माझीऔँलामा तेजतत्व, साहिलीऔँलामा जलतत्व, कान्छीऔँलामा पृथ्वीतत्व हुन्छ।

यसकारण पितापुर्खाहरूले शिष्य र सन्तानका शिरमा हात राखेर आशीर्वाद दिन्छन्। बिहान उठेर दुई हात रगडी अनुहारमा लगाएर तेजिलो, दिमागलाई खँदिलो, दाँतलाई बलियो बनाउँछ। निधार, हत्केला र पैतालामा अटुटरूपमा शक्ति प्रवाह भएकाले रौँ पलाउँदैन।

निधारमा आत्माको निबास हुनाले दैवी ऊर्जाको प्रवाह अधिक हुन्छ। हातलाई नवग्रह, बाह्र राशि, सत्ताइस नक्षत्रको निबासस्थल मानिन्छ।

कान्छीऔँलाको फेदमा बुध, साहिँलीऔँलाको फेदमा सूर्य, माझीऔँलाको फेदमा शनि, चोरऔँलाको फेदमा बृहस्पति, चोरऔँला र बुढीऔँलाको बीच (मातृ र पितृरेखाको उद्गमस्थल)मा मंगल, बुढीऔँलाको फेदमा शुक्र, मातृरेखाभन्दा तल हत्केलाको छेउ एवं मणिबन्धमाथि चन्द्रमा, प्रेमरेखामाथि राहु त्यसभन्दा तल केतु ग्रहहरूको बासस्थल मानिन्छ।

वैदिक शास्त्रअनुसार ब्रम्हाण्डमा चौध लोक छन्। प्रत्येक लोकमा तेत्तीस कोटी देवीदेवता बस्दछन्। चौध लोकका सबै देवीदेवतालाई एकैपटक हातमा दर्शन गर्न सकिन्छ। पृथ्वीको केन्द्र मेरु पर्वतलाई मानिन्छ।

मानव शरीरको आधार मेरुदण्ड जो तेत्तीसवटा हड्डीका टुक्राबाट बन्दछ। यिनीहरूको सम्बन्ध तेत्तीस प्रकारका देवतासँग छ। हातका औँलामा (चारवटा औँलामा तीन खण्ड र बुढीऔँलामा दुई खण्ड छन्) चौध खण्ड छन्।

प्रत्येक खण्डले एउटा लोकको प्रतिनिधित्व गर्दछ। पाँच औँलालाई एक ठाउँमा जोड्दा शिवलिंगको आकृति बन्दछ, हत्केलाले जलहरीको आकार लिन्छ।

हातले मानिसको चिन्तनलाई बताउँछ, मनोभावलाई देखाउँछ, कार्यक्षमतालाई बुझाउँछ। औँला चलिराखेको छ, चिउडो हातमा अड्याएको छ, नाक-मुख आदि कन्याउँदैछ भने ध्यान अन्यत्र  गएको प्रष्ट हुन्छ। हातका औँलाबाट विभिन्न मुद्राहरूको निर्माण गरी सिद्धि, रोगको उपचार, दुष्टात्माको निवारण गराइन्छ।

ग्रहहरूको शान्ति, नित्य-नैमित्तिक पूजाआजा, श्राद्ध आदिमा औँलाबाट विभिन्न मुद्राहरू बनाइन्छन्। तन्त्रसाधनामा मुद्राको प्रचलन व्यापक छ। देवीदेवताको बासस्थान भएकाले मालाको अभावमा औँलालाई करमाला बनाएर मन्त्रहरू जपिन्छ।

हस्तेन पाणिग्रहणं पूजाभोजनशान्तयः ।
साध्या विपक्षविध्वंसप्रमुखाः सकलाः क्रियाः ।।
-हस्त संजीवन (दर्शनाधिकार १।११)

अर्थात् “हात सबै कार्य गर्ने साधन हो, हातबाट पाणीग्रहण (विवाह) र सन्तानको पालन गरिन्छ । पूजा, भोजन, शान्ति, शत्रुनाशलगायतका सबै कार्यहरू हातबाट सम्पन्न गरिन्छन् ।”

जिम्मेवारी, भूमिका,परिश्रम, कार्य क्षमता, देवीदेवताका निबास आदिका प्रतीक भएकाले बिहान उठ्नेबित्तिकै हात हेरी– ‘“दश नङ्ग्रा खियाएर, परिश्रमका पसिना बगाएर, मेरो धर्म, वंश र राष्ट्रको उद्धार गर्दछु। हात नै मेरा पहिलो देवता हुन्।

मेरो जीवनलाई यिनै हातले असल र सफल बनाउँछु।” भनी प्रतिज्ञा गर्छन्। हातलाई  भगवान् र भाग्य सम्झेर असल कर्म गर्नुपर्छ। ग्रन्थ लेख्ने, मूर्ति बनाउने, माला जप्नेलगायतका शारीरिक र मानसिक कार्य हातले गर्छ।

अरूको हातमाथि विश्वास गर्नेले धोका पाउँछ, भ्रष्टाचारको फन्दामा पर्दछ, अरूको परिश्रम र आँशुमा होली खेल्ने खलनायक बन्दछ। मुक्तिका लागि कतिपयले सूर्यलाई हात अर्पण  गर्दछन् । स्वाहा, स्वधा र जीवनयापनका काम हातले गर्दछ।

विज्ञहरूले हातकै रेखाबाट जातकको भविष्यवाणी गर्दछन्। हत्केला एवं औँलाका रेखा एक अर्को व्यक्तिमा बिल्कुल नमिल्ने हुँदा विशेष कागजपत्रमा औँला छाप लगाइन्छ।

हातमाथि कति सूक्ष्म विश्लेषण भएको रहेछ भन्ने तथ्य यसले समेत बताउँछ। नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले कालु पाँडेलाई आफ्नो दाहिने हात भनेका थिए। पृथ्वीनारायणले शालिकमा चोरऔँला ठड्याएका छन्। हात तल पार्नुलाई माग्ने वा पराजित मनस्थिति मानिन्छ।

कलमदेखि तरबारसम्म हातैले चलाउँछ, विकाशको फूल र विनाशको बगर हातकै कारण हुन्छ। हातले जीवनको प्रतिनिधित्व गर्छ, भविष्यको निर्माण गर्छ, त्यसैले हातलाई धर्मअनुसार धरा (पृथ्वी) को हितमा चलाउनुपर्छ।

अयं मे हस्तोभगवानयं मे भगवत्तरः ।
अयं मे विश्वभेषजोयं शिवाभिमर्शनः ।।
-ऋग्वेद (१०।६०।१२)

अर्थात् “मेरो यो हात भाग्यशाली छ, अत्यन्त भाग्यशाली छ, सम्पूर्ण औषधिले सम्पन्न छन्। यो हात कल्याणकारी छ।” ईश्वरले शरीरको शोभा बढाउन होइन जीवन र जगत् उद्धारका लागि हात बनाइदिएका हुन्।

विष्णुका चार हात, देवीका अठ्ठार हात देखाएर उनीहरूमा मानिसको भन्दा धेरै काम गर्ने सामथ्र्य रहेको बताउन खोजिएको हो। ब्रम्हा र सरस्वतीको हातमा पुस्तक, कृष्णका हातमा मुरली, परशुरामका हातमा बञ्चरो, बलरामका हातमा हलो, विष्णुका हातमा कमल-शंख-गदा-चक्र, महादेवका हातमा त्रिशूल छन्।

हातमा लिएको आयुध वा वस्तुबाट देवीदेवताको समग्रता बुझिन्छ। वैदिक धर्मले हातलाई माग्न होइन दिनका लागि प्रेरणा दिन्छ। अझ ‘दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्’ भन्ने मान्यता छ।

राजा बलि, राजा हरिश्चन्द्र, कर्ण आदिको नामबाटै इतिहासमा हातको महिमा कस्तो थियो थाहा हुन्छ। हाम्रा देवीदेवता, ऋषिमुनि र पुर्खाले मागेको थाहा छैन, दिएको इतिहासमात्र छ। दुलही माग्नुलाई हात माग्ने, अरूलाई कुट्नु-पिट्नुलाई हात हाल्ने भनिन्छ।

खाना खाने,  लेख्ने, पूजा गर्ने कार्यमा दाहिने तर दिसा धुन, फोहर आदि चलाउन देब्रेहातको प्रयोग हुन्छ। सुन, हीरा आदिको औँठी दाहिने हातमा लगाएर दैवीऊर्जालाई बढाइन्छ, खराव ग्रह र शक्तिलाई व्यवस्थापन गरिन्छ। देब्रे हातमा घडी लगाएर जीवनलाई ऊर्जाशील र गतिशील बनाइन्छ।

शास्त्रअनुसार समयानुकूल हातलाई उठाउन, चलाउन, राख्न, टेक्न, थेग्न प्रयोग गर्‍यौँ भने ऋषि र तपस्वी बन्ने दिन हाम्रै हातमा छ। कलियुगको प्रभावले वैदिक ज्ञानहरू रूढीबूढी र अवैज्ञानिकजस्ता लाग्न थालेकाले हामी अधोगतिका महायात्री बन्न पुगेका छौँ।

नमस्कार, ढोग, दर्शन गर्ने बानी छोड्दै गएपछि दाहिने हात मिलाउने परम्परा बढ्दैछ। हातले जोड्छ, तोड्छ, मोड्छ। अरूको हिम्मत र नियतलाई हातैले थाहा पाउँछ। यसैले हातलाई युगानुकूल चलाउनुपर्छ।

वादनदेखि बन्दनासम्म, अन्नदेखि अक्षरसम्मका कर्ममा हातकै प्रयोग हुन्छ। सिकिस्त बिरामीको हात रगडदिनाले आराम पुग्ने विश्वास अझै छ। सम्पूर्णको उन्नति, समग्रको हितका लागि लौकिक एवं आध्यात्मिक दृष्टिकोणले हातको महत्वपूर्ण भूमिका भएकाले बिहानै हात हेर्ने चलन धर्म र विज्ञानसम्मत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *