तराईका जिल्लामा कमाण्ड सम्हालेका एसपीहरुको कार्यक्षमता कमजोर
काठमाडौं । तराईका जिल्ला कमाण्ड गरिरहेका एसपीहरुको कार्यक्षमता कमजोर रहेको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा आइपुगेको छ । चार एआइजीहरुले केही दिन अघि मात्रै चार प्रदेशमा पुगेर तयार पारेको रिपोर्टमा तराईका जिल्लामा कमाण्ड गरिरहेका एसपीहरुको कार्यक्षमता कमजोर रहेको उल्लेख छ । चार एआइजीले चार प्रदेशमा अनुगमन गरेर आफ्नो रिपोर्ट पनि बुझाइसकेको र उनीहरुले दिएको रिपोर्टमाथि प्रहरी प्रधानकार्यालयले अध्ययन गरिरहेको छ ।
कोशीमा टेकप्रसाद राई, मधेसमा मिरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका थिए । उनीहरुले पनि विभिन्न जिल्लामा प्रहरी मिलेमतोमा तस्करी भएको रिपोर्ट दिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सोही रिपोर्टको आधारमा पश्चिम नवलपरासीका एसपी बिनोद सिलवाल चार महिनामै तानिएका छन् । कमजोर कमाण्डको आरोपमा उनलाई छोटो समयमै हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनीहरुले बुझाएको रिपोर्ट अनुसार मोरङका दीपक पोखरेल, धनुषाका विश्वराज खड्का, महोत्तरीका प्रकाश मल्ल, पर्साका कोमल शाह, सर्लाहीका नरेशराज सुवेदी, रुपन्देहीका भरतबहादुर विक, कैलालीका देवेन्द्र पाल, दाङका वीरबहादुर वली तथा बाँकेका सन्तोषसिंह राठौरको कार्यक्षमतामा प्रश्न उठेको छ ।
सिरहाका एसपी टेकुवानन्द लिम्बू र झापाका दुर्गा रेग्मीलाई पनि सचेत गराइएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेरसिंह कडायतले एआइजीहरुको रिपोर्ट आइसकेको बताए । ‘ चार प्रदेशको सीमा क्षेत्रका जिल्लाहरुको अनुगमनका लागि जानु भएको थियो फर्केर आएपछि त्यसको जानकारी दिइसक्नु भएको छ’, प्रवक्ता कडायतले भने । उनीहरु एक महिना अघि सीमा क्षेत्रका प्रदेशको अनुगमनमा खटिएका थिए ।
रिपोर्टअनुसार छानबिन गरी कारबाही गर्न आइजिपी बसन्तबहादुर कुँवरले उजुरी छानबिन शाखाका एसएसपी शेखर खनाललाई निर्देशन दिएका छन् । अनुगमनका क्रममा मधेस र लुम्बिनी प्रदेशमा व्यापक बिकृती देखिएको सो रिपोर्टमा उल्लेख छ । सीमामा चोरी तस्करी नियन्त्रण नहुँदा राजश्व संकलन प्रभावित भएको गृह मन्त्रालयको गुनासोपछि प्रहरीले सक्रियता बढाउदै एआइजीहरुलाई अनुगमनका लागि खटाएको थियो । एक साताको अवधि दिएर प्रधान कार्यालयले एआइजी नेतृत्वको टिमलाई नाकाहरूमा खटिएका उनीहरुले जेठको पहिलो साता नै रिपोर्ट बुझाईसकेका थिए ।







डिसी नेपाल







Facebook Comment