अध्यात्म

प्रसाद किन खाने ? 

हरिप्रसाद सोडारी
१ असार २०८० ७:०२
176
Shares

तीर्थाटन, पूजाआजा, देवदर्शनपछि प्रसाद खाने र खुवाउने पुर्खादेखिको परम्परा छ। परिणाममा थोरै भए पनि प्रसादको महत्व, प्रसादप्रतिको श्रद्धा र विश्वास आजसम्म घटेको छैन। दैनिक पूजा गरेपछि प्रसाद खाएरमात्र भोजन गर्ने चलन थियो।

प्रसाद खानुपूर्व चिया, कफी खाने दैनिकीले हामीलाई शारीरिक र मानसिक रुपमा कमजोर बनाएको छ। धार्मिक अनुष्ठान एवं तीर्थाटनपछि टीका, चन्दन, तिलक लगाई आशीर्वाद लिइन्छ। आज्ञाचक्र (भृकुटी)मा टीका लगाउने वैदिक चलन छ।

सीमित साधकमात्र योगद्वारा आज्ञाचक्रसम्म पुग्न सक्छन्। आज्ञाचक्र त्यस ठाउँलाई भनिन्छ जहाँ महादेवको तेस्रो आँखा (अग्नि) हुन्छ। ज्ञान फैलियोस्, बुद्धिको वृद्धि होस्, साधना पूर्ण होस् भन्ने सांकेतिक अर्थमा भृकुटीमा टीका लगाई पञ्चामृत खाइन्छ।

पञ्चामृतमा गाईको दूध, दही, घ्यू, मह, चिनी (सखर) मिसाइएको हुन्छ। यसले स्वास्थ्य, शान्ति र शक्ति दिई विभिन्न रोगहरूको निराकरण गर्ने हुँदा अमृत मानिन्छ। पञ्च र अमृतबाट पञ्चामृत शब्द बनेको छ जसको अर्थ क्रमशः ‘पाँच (नमर्ने वा ऊर्जा प्रदान गर्ने) अमृत हुन्छ। पञ्चामृत खाँदा दिमागमा सद्विचार आउँछ, हृदयमा असल काम गर्ने प्रेरणा प्राप्त हुन्छ, मनका दुःखहरू हराउँछन्।

धार्मिक अनुष्ठानपछि पञ्चामृत र प्रसादका रूपमा विभिन्न पदार्थहरू बाँडिन्छन्। गीता (४।३१)मा भनिएको छ यज्ञशिष्टामृतभुजो यान्ति ब्रम्ह सनातनम्  अर्थात् ‘यज्ञ गर्दा बाँकी रहेको अमृतलाई प्राप्त गर्ने व्यक्तिले सनातन ब्रम्हालाई प्राप्त गर्दछ।’

सबैले खाएपछि खाइने, मन्त्रको ऊर्जा एवं भगवान्को स्पर्श हुनाले प्रसादमाथि कसैको आँखा लाग्दैन। प्रसादलाई परमात्माको शक्तिपुञ्ज, ईश्वरको आशीर्वाद एवं परम पवित्र पदार्थ मानिन्छ।

प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।

प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते। गीता (२।६५)

अर्थात् ‘हृदय निर्मल भएपछि सम्पूर्ण दुःखहरूको विनाश हुन्छ, प्रसन्न चित्त भए बुद्धि छिट्टै समाधिस्थ हुन्छ।” प्रसादले मानसिक र शारीरिक शुद्धि गर्छ, आध्यात्मिक शक्ति र दैवी कृपा मिल्छ। यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गरी मनलाई प्रसन्न बनाउँछ।

बुद्धि, शक्ति र प्रसन्नता बढाउन प्रसादले अचुक औषधिको काम गर्छ। चियाभन्दा पहिले प्रसाद खाने, फोनमा बोल्नुपूर्व वेद पाठ गर्ने, फेसबुक हेर्नु अघि देवीदेवताको दर्शन गर्नुपर्छ। प्रसादलाई उपयुक्त समयमा, विधिसहित, परमात्माको आशीर्वाद सम्झँदै खानुपर्छ।

हामीले खाने, पिउने, हेर्ने, लगाउने हरेक पदार्थलाई प्रसाद सम्झनुपर्छ। आश्रम, मठमन्दिर, गुरुकुल आदिमा खानालाई प्रसाद भनिन्छ। तनावले थलिएको, व्यवहारले गलेका, पीडाले पिल्सिएकालाई मात्र होइन अध्ययन र साधनामा प्रसादको अहंभूमिका हुन्छ।

हरेक दिन ज्ञानेन्द्रीय र कर्मेन्द्रीयहरुबाट प्रसादका रुपमा असल पदार्थहरु ग्रहण गर्नुपर्छ, जसबाट अन्तस्करण (मन, बुद्धि, चित्त, अहंकार) सत्व प्रधान बन्दछ। भगवान् र अतिथिलाई अर्पण गरेपछि हरेक पदार्थ अमृत बन्छन्।

प्रसाद जति धेरैलाई खुवाउन सक्यो उति नै पुण्य आर्जन हुन्छ। प्रसाद औषधिजन्य पदार्थबाट बन्ने हुँदा रोगलाई हटाउन, कमजोरीलाई भगाउन सहयोग गर्छ। देवता र राक्षसले समुद्रमन्थनबाट अमृत नै प्रसादको रूपमा पाएका थिए।

मीरावाईले श्रीकृष्णलाई अर्पण गरेर विष पिएकी थिइन्। भीष्मपितामहले युधिष्ठिरलाई भन्नुभएको थियो ‘हे युधिष्ठिर  भोकाएका एवं अतिथिलाई खुवाएपछि जसले खान्छ त्यसले अमृत खाएको तिमीले बुझ।” चिन्ता, रोग र पीडा नभएका मानिस छैनन्।

घरमा पूजा गर्ने, हरेक दिन प्रसाद खाने हो भने यसलाई न्यूनीकरण गर्न सकिन्छ। मानिसले त्यो खानुपर्छ जुन पदार्थ मन्त्रले ऊर्जावान्, भावले शक्तिवान् र देवीदेवताको स्पर्शले पवित्रतम बनेको होस्। मन्त्र शक्ति, भावना र ईश्वर कृपाले हरेक पदार्थ प्रसाद (अमृत) बन्छन्।

केही वर्षयता देवीदेवतालाई मद्य, मांस आदि चढाएर प्रसाद सम्झी खाने कुप्रथा बढेको छ। देवीदेवतालाई पशुपंक्षी होइन फल, फूल, पात, जल वा अन्नका परिकारमात्र चढाइन्छ।

प्रसाद खाँदासम्म चोरी र गरिबी थिएन, रोग र रोदन आएन, भय र भोकले मर्नुपरेन, भ्रष्टाचार र बलात्कारले अनुहार देखाएन। अरूलाई दिएर खाने, मिलेर बस्ने, सहयात्रा र सहयोगमा रमाउने गुणको विकाश गराउन प्रसादले भूमिका खेल्यो। प्रसादले दिन सिकायो, प्रेम र आत्मीयतालाई प्रबल तुल्यायो।

भगवान् विष्णुले ब्रमजीलाई भन्नुभयो “मेरो सामुन्नेमा राखेको नैवेद्य मैले चक्षु इन्द्रियद्वारा लिन्छु र भक्तको जिभ्रोबाट रसको रूपमा उपभोग गर्दछु।” भगवान्ले  भक्तका हृदयमा बसेर धूप, जल, फलफूललगायतका पदार्थहरूको सूक्ष्म तत्वलाई अदृश्यरूपमा लिनुहुन्छ।

दूधमा जसरी घ्यू देखिँदैन, बिजुली निकाल्दा जसरी पानीको परिमाण घट्दैन त्यस्तै गरी भगवान्ले खाएको प्रसादको तौल घटेको हुँदैन। ‘सद्’ धातुमा ‘ ‘प्र’ उपसर्ग लागेर प्रसाद शब्द बन्दछ । सद् धातुको अर्थ विशरण (कर्मवासनालाई शिथिल गर्ने), गति (ज्ञान गराउने), अवसाधन (अज्ञानलाई नाश) गर्ने हुन्छ।

प्रसादले भोक मेटाउने होइन रोग, शोकलाई हटाई मोक्ष दिने हो। परमात्मामा मन लगाई मन्त्रपाठसहित बनाइने हुनाले प्रसादमा ऊर्जा र शुद्धता हुन्छ।
देवीदेवताको प्रसाद नछुने भएको पाँच र पितृप्रसाद सात दिनमा खान हुन्छ, धार्मिक अनुष्ठानमा पितृलाई पहिलो प्राथमिकता दिइन्छ।

देवताले दिए पनि पितृले हरण गर्न सक्छन्। त्यसैले सोह्र श्राद्धपछि नवरात्रिको शुरु हुन्छ अर्थात् पितृको पूजापछि देवीको अनुष्ठान गरिन्छ। भिन्न धर्म मान्ने, श्रद्धा नभएका, जुठो र सुत्केरो परेकाले प्रसाद खानहुँदैन। विशेष प्रयोजनका लागि गरिएको पूजाका प्रसाद भने निश्चित व्यक्तिले मात्र खानुपर्छ।

जरासन्धका पिताले दुई श्रीमतीलाई प्रसाद आधा आधा खान दिएकाले आधा भाग एउटीले, आधा भाग अर्की श्रीमतीले जन्माएकी हुनाले दुबै भागलाई जोडेर जरासन्ध पूर्ण भएका थिए। पुत्रेष्टि यज्ञ सकिएपछि दशरथका श्रीमतीहरूले प्रसाद खाएको, पार्वतीले महादेव पति पाऊँ भनी स्वस्थानीको पूजा गरी प्रसाद खाएको पाइन्छन।

‘कतिपय स्थानमा कुलपूजाको प्रसाद वंशबाहेक अरुलाई दिने चलन छैन। यज्ञबाट बचेको अन्न खाने श्रेष्ठ भई सबै पापबाट मुक्त हुन्छ। पापीले आफ्नो शरीरको पोषणका लागि मात्रै पकाउँछ र त्यसले पापमात्र खान्छ। प्रसादले पापलाई नष्ट गरी संसारमा भइरहने जन्म र मृत्युको चक्रबाट मुक्त गराउँछ, मानवलाई महामानव बन्ने बाटो देखाउँदै शक्ति र सामथ्र्य दिन्छ।

प्रसाद जति धेरैलाई खुवाउन सक्यो उति नै पुण्य आर्जन हुन्छ। प्रसाद औषधिजन्य पदार्थबाट बन्ने हुँदा रोगलाई हटाउन, कमजोरीलाई भगाउन सहयोग गर्छ। देवता र राक्षसले समुद्रमन्थनबाट अमृत नै प्रसादको रूपमा पाएका थिए।

धार्मिक अनुष्ठानबाट प्राप्त, वैदिकमन्त्रले परिष्कृत, शुद्ध भावनाले चढाएका पदार्थमात्र होइन पसिना र परिश्रमको फल पनि प्रसाद हो। पश्चिमाको लहैलहैमा लागेर प्रसादलाई कतिपयले जुठो, अशुद्ध भनी अमृत लिनबाट बञ्चित भएका छन्।

होलिवाइन, घुस, कमिशन खाने परम्परासँगै प्रसादको महत्व ओझेलमा पर्न थालेको छ। प्रसाद खाँदासम्म परिवार टुक्रिएको थिएन, समाज फुटेको थिएन, राष्ट्रियता कमजोर भएको थिएन। मित्रराष्ट्रका मन्दिरमा पूजा गरेर प्रसाद खाने शासकहरुले वेद, त्रिपिटक र मुन्धुमअनुसार देवीदेवताको पूजा गरेर प्रसाद खाने हो भने राष्ट्रको शिर उच्च हुने थियो।

विदेश पाहुना आउँदा बौद्ध, लुम्बिनी, पशुपति, मुक्तिनाथ, पाथीभरा, शैलेश्वरी आदिको तस्विरसहित प्रसाद उपहार दिन सके मित्रता परिपक्व हुने थियो। प्रसादलाई परिवार, समाज र राष्ट्रले बुझ्न आवश्यक छ। आशीर्वादको मुठो, कृपाको बिटो, औषधि र जीवनको लहरो नै प्रसाद हो। प्रसाद खाएर प्रसन्नतापूर्वक जीवन बिताउँ, वैदिक परम्परालाई बचाउँ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *