मेस्सीलाई अंकमाल गर्ने फ्यान पक्राउ, १ वर्ष स्टेडियम प्रवेशमा प्रतिबन्ध

डिसी नेपाल
२ असार २०८० १४:५३
4.9k
Shares

काठमाडौं । गत वर्ष फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ । चीनको राजधानी बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले पराजित गरेको छ । यस खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पनि उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका थिए । यो खेलको क्रममा एक १८ वर्षीय युवा फ्यानले पनि धेरै हेडलाइन बनाएका थिए ।

उक्त फ्यानले सुरक्षा घेरा तोडेर खेलको क्रममा लियोनल मेस्सीलाई भेट्न मैदान प्रवेश गरेका थिए । मैदानमा पुगेर उनले आफ्नो आइडल लियोनल मेस्सीलाई अँगालो हालेका थिए । आफ्ना फ्यानको यो जोश देखेर मेस्सी पनि छक्क परे । पछि, फ्यानले अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजसँग पनि हाई-फाइभ गरे। यसैबीच सुरक्षाकर्मीले पनि ती फ्यानलाई पछ्याइरहेका थिए । भाग्न खोज्दा फ्यानको खुट्टा चिप्लियो र उनलाई सुरक्षाकर्मीले समातेर मैदानबाट बाहिर निकाले।

अब चिनियाँ मिडिया रिपोर्टका अनुसार ती फ्यानलाई हिरासतमा लिइएको छ। बेइजिङको चाओयाङ जिल्ला प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १८ वर्षीय फ्यानलाई कानुनबमोजिम हिरासतमा लिइएको जनाएको छ । यस फ्यानलाई आगामी १२ महिनासम्म स्टेडियममा प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ । खेलका नियम हुन्छन् र खेल हेर्ने फुटबलप्रेमीले पनि नियम पालना गर्नुपर्छ । नियम उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ ।

बेइजिङको वर्कर्स स्टेडियममा जुन १५ मा अर्जेन्टिना र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण खेलमा फुटबलका सुपरस्टार लियोनेल मेस्सीलाई अँगालो हाल्न एक चिनियाँ फ्यान पिचमा दौडेका थिए । लियोनल मेस्सीले अस्ट्रेलिया विरुद्धको खेलमा आफ्नो सुनौलो करियरको सबैभन्दा छिटो गोल (८१ सेकेन्ड) गरे। योसँगै मेस्सीले अर्जेन्टिनाका लागि लगातार सातौं खेलमा गोल गरेका छन्, जुन उनका लागि नयाँ व्यक्तिगत रेकर्ड हो । आफ्नो करियरमा लियोनल मेस्सीले सुरुवाती मिनेट बाहेक खेलको हरेक मिनेटमा गोल गरेका छन् ।

३५ वर्षीय लियोनल मेस्सी सात पटकको बालोन डी’ओर विजेता हुन् । मेस्सीले सन् २०२२ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । सन् २०२२ को फिफा विश्वकपमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त प्रतियोगितामा मेस्सीले सात गोल र तीन असिस्ट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *