दुईवटा घरका लागि बस्ती नै जोखिममा पारेर सडक खन्दै

डिसी नेपाल
१५ असार २०८० ११:३४

सुर्खेत। दुईवटा घरमा मात्र सडक निर्माण गर्नका लागि कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जाजरकोटमा असार लाग्नै लाग्दा बजेट पठाएर जंगल विनास गरेर सडक निर्माण गरेको खुलासा भएको छ।

भेरी नगरपालिका-४ का बोहरा गाउँका २ घरमा सडक पुर्‍याउनका लागि प्रदेश सरकारले १५ लाख बजेट कार्यालयमा पठाएको थियो।

भुन्की इबर बिरुली सडक नामाकरण गरी प्रदेश सरकारले बजेट पठाएपछि उक्त सडकबाट २ वटा घरधुरी मात्रै लाभान्वित हुने भएका छन्। स्थानीय हस्तबहादुर शाही र मानबहादुर चन्दको घरसम्म सडक पुर्‍याउन सरकारले १५ लाख खर्च गर्न उक्त बजेट मन्त्रालयबाट पठाएको हो। उक्त आयोजना कार्यान्वयन गर्नका लागि समिति पनि गठन गरि काम नै सुरु भइसकेको छ।

समितिले भेरी नगरपालिका ६ का वडा अध्यक्ष शशी बुढाको स्काभेटर प्रयोग गरेर सडक निर्माण थालिएको खुलासा भएको छ। ठेकेदार व्यवसायीसमेत रहेका वडाध्यक्षले बस्ती नै जोखिममा पर्ने गरी सडक निर्माणको काम सुरु गरेका छन्।

वन/जंगल क्षेत्रमा मनपरी रुपमा सडक खनिएपछि बस्ती नै जोखिममा परेको छ। कानुनतः वन क्षेत्रमा विकास निर्माणका काम गर्दा सम्बन्धित स्थानीय तहमार्फत सम्बन्धित डिभिजन वन कार्यालयबाट स्वीकृत लिएर काम सुरु गर्नुपर्दछ। तर असारे विकासको फाइदा उठाउँदै जनप्रतिनिधिहरुले आफूखुशी सडक निर्माण थालेका छन्।

भेरी नगरपालिका ४ बोहराका स्थानीयले सामुदायिक वनमा क्षेत्र दोहन भएको भन्दै विरोध जनाएका छन्। भेरी नगरपालिका ६ वडाध्यक्ष बुढाले वन क्षेत्रमा आफु खुसी स्काभेटरबाट वन क्षेत्रको दोहन गरेको भन्दै स्थानीयले डिभिजन वन कार्यालय जाजरकोटमा समिति र बुढाविरुद्ध उजुरी परेका छन्। नगरपालिका ६ का अध्यक्ष बुढा निर्माण व्यवसायी समेत हुन्।

स्थानीय तहमा हुने दोहनमा जनप्रतिनिधिकै संलग्नता रहेको स्थानीयहरू बताउँछन्। गत असार १० गते भेरी नगरपालिकाले सामुदायिक वन ऐन जारी गरेको छ। उक्त ऐन पारित हुँदा बुढा स्वम ऐनको पक्षमा मत जाहेर गरेका थिए।

तर आफैले बनाएको ऐन विपरित कार्य गर्दै जाँदा प्रहरी प्रशासन मूखदर्शक भएको स्थानीयको आरोप लागेको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा कार्यान्वयन गर्नका लागि गत जेठमा पूर्वाधार कार्यालयमा बजेट पठाएको थियो। प्रदेशबाट प्राप्त १५ लाख बजेटमा भुन्की इवर हुँदै बिरुली सडकका लागि बजेट आएको थियो।

पूर्वाधार कार्यालयले उपभोक्ता समिति मार्फत सञ्चालन गरेको कामले बोहरा बस्तीनै जोखिम पर्ने भएको छ। उक्त सडक निर्माण गर्दा बोहरा गाउँको २ सय ५० घरधुरी प्रभावित हुने भएका छन्।

सडक निर्माणका लागि बोहरा गाउँमा सञ्चालनमा रहेका ५ वटा खानेपानीका लाइनहरु समेत भत्काउन लागिएको प्रेम शाहीले बताए। गाउँमा बर्षेनी सिँचाई गर्दै आएको कुलोसमेत भत्काउन लाग्दा कुनै सुनुवाई नभएको बोहरा गाउँ सिचाई आयोजनाका अध्यक्ष पुतला चन्दले बताइन्।

बोहरा गाउँमा २ करोड लागतमा सञ्चालन भएको सिंचाई आयोजना भित्र समितिले डोजर लगाउन थालेको चन्दले बताइन्। पहिरो जाने क्षेत्रमा डोजर चलाउँदासमेत कुनै निकायले ध्यान नदिएको उनको भनाइ छ। सालको बुटेन क्षेत्र नाश गरी २ घरधुरीलाई सडक पुर्‍याउन वडाध्यक्ष बुढा नै लागि परेको स्थानीयहरु बताउँछन्।

सडक निर्माण हुँदा वन क्षेत्रमा सालका रुखहरु सखाप हुनेछन्। वडाध्यक्षले भाइ नाता पर्ने धन बहादुर बुढालाई परिचालन गरेर सडक निर्माण थालेका छन्।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पनि स्थानीयलाई हानी पुर्‍याएर सडक निर्माण गर्न नहुने बताए । डिभिजन वन कार्यालयले स्थलगत अध्ययन गरेर आवश्यक निर्णय लिने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *