युक्रेनले मस्कोमा ड्रोन हमला गरेको रूसको आरोप

डिसी नेपाल
१९ असार २०८० १७:२७
136
Shares

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको जनाएको छ । जसका कारण मस्कोको दक्षिणपश्चिमी छेउमा रहेको भानुकोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो।

मंगलबारको आक्रमणमा मस्कोमा पाँच ड्रोन प्रहार गरिएको बताइएको छ । यस हमलामा मस्को वरपरको ठूलो क्षेत्रलाई निशाना बनाइएको छ । रुसी रक्षा मन्त्रालयले सबै पाँच ड्रोन नष्ट भएको जनाएको छ । यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन ।

युक्रेनले यस कथित आक्रमणको कुनै जिम्मेवारी लिएको छैन। मस्कोको तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक भनुकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको उडान प्रतिबन्धहरू अब हटाइएको छ।

उडान प्रतिबन्धले टर्की, युएई र इजिप्टबाट आउने उडानहरू प्रभावित भएका छन्। रक्षा मन्त्रालयका अनुसार मस्कोको क्षेत्रमा उडेका चार ड्रोनलाई वायु रक्षा प्रणालीले नष्ट गरेको छ भने पाँचौं ड्रोन दुर्घटना हुनुअघि नै रोकिएको थियो।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा उक्त घटनाको बारेमा बताइन्, “युक्रेनले सिभिल इन्फ्रास्ट्रक्चर रहेको क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको थियो। यसमा अन्तर्राष्ट्रिय उडानहरू आउने विमानस्थल पनि छ। यो आतंकवादी कार्य हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *