देशको स्वाभिमान कायम राख्न ठूला भ्रष्टचारीलाई कारवाही गर्नैपर्छ

पूर्ण ओली
२० असार २०८० ७:५१

हाम्रा वीर पुर्खाले लडेर बचाएको यो सार्वभौम सम्पन्न देश अहिलेसम्म कसैको अधिनमा बस्नु परेको छैन। तर अहिले आएर अप्रत्यक्षरुपमा हामी बिदेशीको दवाव र प्रभावमा रहन थालेको देखिन्छ।

त्यतिखेर देशको स्वाभिमान बचाउन आफ्नो ज्यान उत्सर्ग गर्न पनि नहिचकिचाउने हाम्रा पुर्खा थिए। तर अहिलेका नेताहरु सत्ता जोगाउनको लागि बिदशीको दलाल बन्न तयार हुन्छन्।

त्यसबेला देशमा कुनै प्रकारको उद्योग नहुँदा हाम्रा युवाहरु बिदेशी सेनामा भर्ना भएर पैसा कमाउन बिदेश जाने प्रचलन ब्यापक थियो। खासगरि त्यतिखेरको शक्तिशाली राज्य बेलायती सेनामा भर्ना भएर उसैको लागि रगत पसिना बगाउने गरिन्थ्यो।

जुन अहिलेसम्म पनि यथावत् मात्र होइन ब्यापक भएर बढेको छ। देशमा भएका उद्योग बन्द गरिए र नयाँ उद्योगहरु नखोलिएपछि युवाहरु बेरोजगार भएर बिदेशी सेनामा मात्र होइन, श्रमिक भएर अरबका खाडी मुलुकदेखि मलेसिया, कोरियामा प्रशस्तै गइरहेका छन्।

उनीहरुलाई स्वदेशमा रोकेर राख्न सरकारसँग भाषण बाहेक कुनै राम्रा योजना छैनन्। अर्कोतर्फ भएका शिक्षण संस्थाहरुमा राजनीतिको चरम सीमा नाघेपछि विश्वविद्यालयदेखि स्कुलतहसम्मका सरकारी संस्थाहरुमा अनुशासनहिनताको परकाष्ठा नाघेको छ।

परिणाम स्वरुप शिक्षकलाई कुट्ने पिट्ने, कालो पोत्नेदेखि कार्यलयमा तालाबन्दी गरिने चलन सामान्या भइसकेको छ। त्यसमा सरकारमा बसेका नेता र सुरक्षा निकायसमेत मुकदर्शक मात्र भएर बसेका छन्।

प्रचण्ड सधैं जनहत्यारा भएर बद्नाम भइरहने हो कि ? लोकप्रिय र भ्रष्टाचार बिरोधी भनेर इतिहासमा सुनौला अक्षरमा नाम अंकित गर्ने हो त्यो उन कै अन्तिम तथा सही विवेकमा निर्भर रहनेछ। यी ठूला भ्रष्टाचार काण्डलाई किनारा लाएर सुशासनसहितको सरकार बनाउन सके हामी नेपाली स्वाभिमान पूर्वक शिर ठाडो पारेर बिदेशीका अगाडि हिम्मतसाथ उभिन सक्छौं।

त्यति मात्र होइन, अदालतमा परेको ज्यान मार्ने मुद्दासमेत खेपिरहेका ब्यक्तिहरुलाई पनि सरकारले मुद्दा फिर्ता लिएर देशमा अराजकता र गुण्डागर्दीलाई प्रोत्साहन गरिरहेको छ।

त्यसैले हुनेखानेका छोराछोरी विकसित देशका महँगा शिक्षण संस्थामा भर्ना भएर आफ्नो भविष्य सुनिश्चित गर्ने क्रम ज्यादै बढेर गएको छ। क्षमतावान् बिद्यार्थीहरु बिदेशिए पछि यहाँ भएका धेरैजसो बिद्यार्थी दलका झोले हुन बाध्य छन्। ती पनि सबै बेरोजगार छन्।

दलका नेता आफैं दलाल र बिदेशीका पक्षपोषक भएका बेला बिद्यार्थीले कसरी आफ्नो भविष्य राम्रो पार्न सक्छन्? यसरी धेरैजसो क्षमतावान् युवाहरु बिदेशिएपछि नेतालाई मनलाग्दो किसिमबाट धन कमाउन भ्रष्टाचार गर्न सजिलो भएको छ।

जनताका आवाजलाई पुरै बेवास्ता गरिएको छर्। आफ्ना आसेपासे चाकडीवाज र परिवार भन्दा बाहिर हेर्ने समय नै छन हाम्रा कथित नेताहरुलाई।

अहिले भ्रष्टाचारमा र हत्यामा नाम नपोलिएका इमान्दार दलका प्रमुख नेता पाउन अत्यन्त गाह्रो छ। केही साना दल र नयाँ आएका दलहरु भने अहिलेसम्म निस्कलंक नै देखिन्छन्। शायद सत्तामा पुगिसकेपछि यिनीहरु पनि ठूला दलका संगतले बिग्रने हुन् कि भन्ने शंका छ।

किनकि भ्रष्टाचार पनि सरुवा रोग नै रहेछ। एउटाले भ्रष्टाचार गरेर अकुत सम्पति कमाएको देखेपछि अर्कोले पनि त्यही सिको गर्ने रहेछ भन्ने कुरा हामी ठूला दल भनिएका काँग्रेस, कम्युनिष्टका बरिष्ठ नेताबाट देखेका छौं। य

ति गर्दा पनि केही नेताहरु अझैपनि इमान्दारिको कमाइ खाएको उनीहरुको सादगी जीवनबाट देखिन्छ। कतिको अहिलेसम्म शहरमा घर पनि नभएको र छोराछोरीलाई सरकारी स्कुलमा पढाइरहेकोबाट बुझ्न सकिन्छ। प्रमुख नेताहरु प्राय सबै ठूला भ्रष्टाचारमा चुर्लुम्म डुबेका देखिन्छन्।

अहिलेसम्म नेपालका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलाई कसैले पनि दोष लगाउन सक्दैन। भारतका पूर्वप्रधानमन्त्री गुलजारीलाल नन्दालाई घरबेटीले बहाल नतिरेको भनेर घरबाट निकालेको इतिहास पनि छ।

अरु देशका प्रायजसो पूर्वराष्ट्रपति राष्ट्रबाट कुनै सुबिधा नलिएर आफ्नो पहिलाको काममा फर्किन्छन्। हाम्रो जस्तो गरिब देशका धनि राष्ट्रपति उपराष्ट्रपति भने बाँचिन्जेल राष्ट्रको ढुकुटी लुट्न चाहन्छन् र अरु थप सुबिधा खोज्छन्।

अब यी बदनाम नेता सचिबहरुले देशको ढुकुटी स्वाहा मात्र नपारेर नेपाली नागरिकलाई अनागरिक बनाइ शरणार्थी बनाएर पैसा असुलेपछि राष्ट्रको अत्यन्त बदनाम भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण बिदेशमासमेत हल्ला भएपछि सुरु भएको छानवीनले धेरै ठूला भ्रष्टहरु कारवाहीको दायरामा परेका छन्।

पूर्वप्रधानमन्त्री पत्नी आरजू देउवा, पूर्वगृहमन्त्रीकी पत्नी मन्जु खाँणको नाम पनि रकम असुल्नेमा जोडिएकोले यिनीहरुलगायत पूर्वप्रधानमन्त्रीको पिएलाई बालुवाटारमा लगेर एक करोड बुझाएको समाचार आइसकेपछि यी शक्तिशाली महिला तथा शक्तिशाली पिएलाई पनि कारवाही गर्ने आँट अहिलेका प्रधानमन्त्रीले गर्न सके उनी र उनको दल माओवादीलाई जनताको धेरै समर्थन हुनेछ।

सँगसँगै ललिता निवास काण्डमा प्रमुख व्यक्ति पूर्वप्रधानमन्त्रीलगायतलाई पनि कारवाहीकोे दायरामा ल्याएको जनता देख्न चाहन्छन्।

यसपछि नेपालका सबै ठूला भ्रष्टाचार काण्डमा संलग्न भएका सबै पूर्वप्रधानमन्त्रीलगायतलाई कारवाहीको दायरामा ल्याउन पुनः छानवीन र अनुसन्धान गरेर सबै काण्डलाई तथ्यपूर्ण रुपमा किनारामा लाउन सबै दलका नेताको लागि उचित हुनेछ।

नत्र यी दल र प्रमुख नेतामाथि लागेको दाग उनीहरुको मृत्युपर्यन्त पनि कहिल्यै हट्ने छैन। नेपालको बद्नाम पनि भइरहने छ। त्यसैले वाइडबडी, न्यारोवडी, एनसेल, ओम्नी, यति कम्पनि, क्यान्टोन्मेन्ट, सुडान काण्ड तथा सशस्त्रको भ्रष्टाचार काण्डको पनि पुनः राम्रोसँग छानवीन गरि कारवाही गरिन आवश्यक छ।

बिशेष अदालतमासमेत सेटिङमा मुद्दाको फैसला भएको बिगतमा नाम चलेका भ्रष्टहरुलाई पनि सजिलै सफाइ दिएकोले यसमा सत्य तथ्य निकाल्न सक्ने सक्षम, इमान्दार, बिवेकशील तथा निडर न्यायाधीश राखेर फैसला गराउन आवश्यक छ।

यसपछि जेजस्तो फैसला आएपनि पूर्ब प्रधानमन्त्रीहरु तयार रहनु पर्छ। यसका लागि हालका प्रधानमन्त्री प्रचण्डले हिम्मत गरेर भएपनि वा पूर्वप्रधानमन्त्रीको सहमति लिएर कारवाही अघि बढाउन सके भ्रष्टाचारमा बद्नाम भएको राष्ट्रले केही राहत पाउने थियो।

सहमति नभएपनि प्रचण्डले भ्रष्टाचारका सबै ठूला काण्डलाई छिनोफानो गर्न सके भविष्यमा उनको छवि अवश्य राम्रो हुनेछ। परिणामस्वरुप आउँदो निर्वाचनमा अवश्य पनि राम्रो मत पाउन सक्नेछन्।

नत्र प्रधानमन्त्री प्रचण्डको यो अन्तिम अबसर त्यसै खेर जान सक्छ। त्यसैले प्रचण्ड सधैं जनहत्यारा भएर बद्नाम भइरहने हो कि ? लोकप्रिय र भ्रष्टाचार बिरोधी भनेर इतिहासमा सुनौला अक्षरमा नाम अंकित गर्ने हो त्यो उन कै अन्तिम तथा सही विवेकमा निर्भर रहनेछ।

यी ठूला भ्रष्टाचार काण्डलाई किनारा लाएर सुशासनसहितको सरकार बनाउन सके हामी नेपाली स्वाभिमान पूर्वक शिर ठाडो पारेर बिदेशीका अगाडि हिम्मतसाथ उभिन सक्छौं। नत्र हामी सधैं बिदेशीका अगाडि हेपिएर बस्न बाध्य हुनेछौं। जसरी हामीलाई भारतलगायत पश्चिमा मुलुकले अहिले उनीहरुको दवाव र प्रभावमा राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *