‘नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजङु-दार्चुला’ टिमलाई प्रमाणपत्र वितरण

डिसी नेपाल
२२ असार २०८० १९:३९

काठमाडौं । ऐतिहासिक ‘नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ’दार्चुला’ टिमलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ । टूरको संयोजन गरेको एनटीपी मल्टिमिडिया ग्रुपले बिहीबार नेपाल टुरिजम बोर्डको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा प्रमाणपत्र वितरण गरेको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत डा. धनञ्जय रेग्मी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज पोख्रेल, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत गुरागाइँ, नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्मा र टूरका संयोजक विष्णु विवेक विश्वकर्माले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

पत्रकार र कलाकार सम्मिलित एक टोलीले २०८० जेठ १० देखि ३२ गतेसम्म (२३ दिन लामो) ऐतिहासिक मोटरसाइकल यात्रा गरेको थियो । पर्यटन प्रवर्द्धन, दिगो पर्यटन र पर्यटनमा जलवायु परिवर्तनको असरको अध्ययन गर्ने उद्देश्यले मोटरसाइकल यात्रा गरिएको हो । जेठ १० गते काठमाडौंबाट यात्रा सुरु गरेको टोलीले करिब चार हजार किलोमिटर र ४५ जिल्ला पार गर्दै यात्रा सम्पन्न गरेको थियो ।

पत्रकार र कलाकार सम्मिलित टोलीले गरेको पहिलो ऐतिहासिक टूर हो । टूरमा विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, राजाराम पौडेल –रियाज, पवित्रा खड्का, चन्द्रकला कार्की, रितास्मा सुनुवार थिए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले यस टूरले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । “तपाईँहरूले गर्नुभएको यस ऐतिहासिक यात्राले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने छ । यसरी नै सबैले आ–आफ्नो ठाउँबाट पर्यटन प्रवर्द्धनमा योगदान दिने हो भने नेपालको पर्यटनले गति लिने छ ।” उनले भने ।

युवा पत्रकार र कलाकारहरुद्धारा गरिएको यात्राले आफू निकै उत्साहित भएको उनले बताए । पर्यटन बोर्ड नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले स्थापना भएको हुनाले आन्तरिक पर्यटन प्रवर्द्धनमा काम गर्न नसकिएको उनले बताए । “पर्यटन बोर्डले नेपाललाई विदेशमा चिनाउने हो, आन्तरिक पर्यटनको प्रवर्द्धनमा यसरी नै युवाहरूले गर्ने हो ।” रेग्मीले भने ।

पर्यटन मन्त्रालयका उपसचिव सरोज पोख्रेलले पर्यटनको विकास गर्न विभिन्न निकायहरुबीच समन्वय हुन जरुरी रहेको तर पर्याप्त समन्वय गर्न नसकेको बताए ।

नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाइँले नेपालको पर्यटन विकासमा पर्यटन व्यवसायीहरूको छाता सङ्गठनहरूले काम गर्न नसकेको बताए । “पर्यटन व्यवसायीहरूको छाता सङ्गठनहरू धिक्कार छ, कामै गर्दैन ।” उनले भने । त्यसैगरी पर्यटन मन्त्रालयले समय अनुकूल नीति नियम बनाउन नसकेको गुरागाइँले बताए ।

पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्माले पर्यटन बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *