नेपाली कांग्रेसको नयाँ नीति : को पहिले प्रधानमन्त्री बन्ने होडवाजी

विजयप्रसाद मिश्र
२८ असार २०८० ९:२७

नेपाली कांग्रेसले आफ्नो पछिल्लो महाधिवेशनका बेला आफूलाई नीति बनाउन खप्पिस ठान्नेहरुले पनि नीति भन्दा पहिले निर्वाचनलाई रोजे। महाधिवेशन सक्किएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएको थियो।

तर दुईवटै महामन्त्रीहरु नीति महाधिवेशनको कुरा गर्नुभन्दा आफ्नै पार्टीका निर्वाचित सभापति शेरवहादुर देउवाको सभापति पदबाट राजीनामा मागेर बसे। यसले कांग्रेसमा गुटउपगुट थपिने क्रम बाहेक अन्य कुनै ठूलो उपलब्धि हुन सकेको देखिएन।

हिजोआज फेरि नेपाली कांग्रेसको नीति कस्तो बनाउने भन्ने बहस शुरु भएको छ। सायद दशैं अघि नै नीति बनाउने महाधिवेशन नेपाली कांग्रेसले गर्नेछ।

तर त्यो नीति महाधिवेशन पनि शेरबहादुर देउवा र गगन थापाबीचमा पहिले को प्रधानमन्त्री बन्ने होडवाजी मै सीमित हुने हो कि भन्ने आम प्रजातन्त्रप्रेमी सोचमा परेका छन्।

महामन्त्री गगन थापाको रिस र षड्यन्त्र शेरवहादुर देउवाले नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल राष्ट्रपति बनाउन सफल भएपछि केही मत्थर भएकै हो।

नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा गगन थापाले विश्वप्रकाश, प्रदीप पौडेलसमेतको समर्थनमा २५ मतमात्र ल्याएपछि उनको पार्टी भित्रको पकड छताछुल्ल भयो।

महामन्त्रीमा पाएको लोकप्रिय मत भनेको उनका प्रतिस्पर्धी प्रकाश शरण महतलाई साइजमा राख्नका लागि उनकै गुटका केही नेताले खेलेको चालको परिणाम रहेछ भन्ने बुझिसकेपछि गगन थापा घरको न घाटको भएका छन्।

पछिल्लो नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले संसारमा कतै छ पटक प्रधानमन्त्री बनेको देख्नु भएको छ? भनी प्रश्न गरेर आफ्नै नेता शेरबहादुर देउवाप्रति अझै रिसको तुष ओकली रहेका छन् भन्ने सबैले बुझेकै छन्।

हुन त स्वयं गगन थापा आफै आफ्नै ससुरा विरुद्ध महामन्त्रीमा उठने, कहिले कृष्ण सिटौलाको गुटमा बस्ने त कहिले डा. शेखर कोइरालाको गुटमा बस्ने त कहिले आफैं गुट बनाएर हिँड्ने गरेका गगन थापाको पछिल्लो साँठगाँठ राष्ट्रिय स्वतन्त्र पार्टी तिर पनि बढी रहेको देखिन्छ।

कतिले त गगन जसलाई ‘गनगने’ भनेर उपनाम दिनेहरुसँगै सति जानसक्दछन् भन्दैछन्। यो सत्य नहोस्। तर उनको स्वभाव र पछिल्लो कृयाकलापले केही त गर्न लागेकै छन् भन्ने प्रष्ट हुँदै गएको छ।

डा. शेखर कोइरालाको केमेष्ट्री शेरवहादुर देउवासँग विस्तारै मिल्दै जानुले पनि गगन थापा विस्तारै कांग्रेस भित्र गनगनेकै रुपमा स्थापित हुने हुन कि भन्ने भय पनि छ।

जे होस, गगन थापा आफ्नै गुटका आफूभन्दा बरीष्ठको सुझाव र सल्लाह नसुनी आफू प्रधानमन्त्री बन्दछु भनेर घोषणा गर्ने कामले गर्दा उनी केही गैरसांसदहरुको झुण्डको प्यारो भएपनि नेपाली कांग्रेसकै डिग्गाहरुबाट आलोचित हुँदै गएका छन्।

अझ भर्खरै नेपाली कांग्रेस पार्टीका जिल्ला सभापतिहरुको काठमाडौंको नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बैठक बोलाएर आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई निमन्त्रणा समेत नगरेको भनेर पार्टी भित्रकै नेताहरुबाट आलोचित भइसकेका गगन थापाले नयाँ नीति भनेको आफू प्रधानमन्त्री बन्ने खालको मात्र बनाउने तर नागरिकको हितमा कुनै नीति ल्याउन नसक्ने भएकाले प्रजातन्त्रप्रति आस्था राख्ने आम नागरिकको कांग्रेसको नयाँ नीति के आउँदैछ भनेर मन्थन गर्नु आवश्यक ठानेको छ।

पहिले त विश्वमा ६ पटक प्रधानमन्त्री भएको सुन्नु भएको छ भन्ने गगन थापालाई व्यक्तिगत स्वार्थका आधारमा पटक पटक गुट परिवर्तन गर्ने मुसा प्रबृत्ति नेपाली कांग्रेस भित्र कसैको छ भने त्यो पहिलो नम्बरमा गगन थापाको नाम आउँछ भन्नेहरुलाई उहाँको जवाफ के आउला? त्यो त पछि जानकारी आउला नै।

तर अहिले भनेको नेपाली कांग्रेसले आगामी २०८४ सालमा हुने निर्वाचनमा कस्तो नीति लिएर गयो भने सफल हुन सक्दछ भन्ने धारणाहरु राख्नु आवश्यक छ। यसका लागि धारणाहरु राख्दा नत गगन थापाको स्वार्थलाई हेरिने छ न त सभापति शेरवहादुर देउवा कै।

तटस्थ भएर हेर्दा अहिले दुबै के नीति ल्याउनतर्फ लाग्ने छन् भन्दा शेरवाहादुर देउवालाई पनि कम्तिमा अब एक पटक प्रधानमन्त्री हुनुपर्ने छ। त्यो भनेको अहिलेको पुष्पकमल दहालको नेतृत्वको सरकार ढल्ने वित्तिकै सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएको कारणले संविधानको प्रावधान अनुसार नै शेरवहादुर देउवालाई कसैले प्रधानमन्त्री हुनबाट रोक्न सक्दैन।

उनी एकपटक प्रधानमन्त्री भएपछि बाँकी फेरि अर्को धारा सक्रिय भएर प्रधानमन्त्रीको उम्मेदवार कसैलाई बनाउनु परेमा डा. शेखर कोइराला वा डा. शशांक कोइरालालाई बनाउने छन्।

गगन थापालाई त आफ्नै ससुरा जसको विरुद्धमा गगन थापा उठेका थिए, लाई सहयोग गर्लान भन्ने अनुमान गर्न सकिँदैन। यहाँ कांग्रेसको आन्तरिक विवादको उठान नगरी नीति कस्तो बनाउने कुरालाई मात्र मन्थन गर्ने हो भने अहिलेसम्म कांग्रेसले जसको नाम बेचेर यहाँ सम्म आएको छ उसकै नीतिलाई अनुशरण गर्न पछाडी फर्किनुको विकल्प छैन।

त्यो भनेको वीपी कोइरालाको नीति हो। वीपी कोइरालाले संवैधानिक राजसंस्थाको वकालत गरेका थिए। कांग्रेसले पनि राजा सहितको संसदीय व्यवस्था मान्न सक्यो भने देशका सबै शक्तिलाई राजनीतिको मूल धारमा ल्याउन सकिन्छ।

दोस्रो नीति भनेको धर्मप्रतिको धारणा हो। नेपाली कांग्रेसको पुरानो विधानमा धार्मिक स्वतन्त्रतालाई स्वीकार गरिएको थियो। अहिलेको संविधानमा धर्म निरपेक्षता उल्लेख छ।

यस्तो अवस्थामा धर्मको बारेमा जनमत संग्रह गर्नुपर्दछ र सनातन हिन्दु धर्मलाई स्वीकार गर्दै सबै धर्मलाई राज्यले संरक्षण गर्ने नीति लागू गर्न धार्मिक स्वतन्त्रताको लाइनमा जानु पर्ने देखिन्छ।

यसमा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले हिन्दुधर्मका लागि जनमत संग्रह गराउँछु भन्नुलाई मात्र नीति कै रुपमा लागु गरेमा उहाँको सम्मान हुन्छ।

तेस्रो नीति जुन सबैभन्दा महत्वपूर्ण हो, त्यो आर्थिक नीति हो। पूर्ण पूँजीवादको अवधारणा भन्दा विपी कोइरालाले अपनाउन खोजेको समाजवादलाई अनुसरण गर्न कांग्रेसले ढिला गर्नु हुँदैन।

सकभर कर्जामा विदेशी लगानी नलिने, नेपालीको क्षमताले भियाउने गरी आर्थिक उन्नतीका क्रियाकलापहरु साना तिना भएपनि गर्ने, पर्यटन, पानी र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको संचालन गर्ने, गाँजाको उत्पादनलाई कानुनी मान्यता दिने, सामुहिक खेती प्रणाली, व्यवसायिक खेती प्रणाली, शुरुमा विदेशबाट किनेर ल्याइरहनु परेको तर नेपालमा पनि उत्पादन हुने कुराहरुमा केन्द्रित रहेर आयात घटाएर डलर बचाउने काममा ध्यान दिने गरी कांग्रेसले नीति बनाउनु पर्दछ।

त्यसैगरी राजनीतिका मोडलहरुमध्ये प्रजातन्त्र नभएर लोकतन्त्र वा गणतन्त्रमा गएको भएपनि संविधानमा समाजवाद तर्फ उन्मुख भनिएकोले नेपाली कांग्रेसले समाजवादको कुन खाका दिने हो त्यसलाई प्रष्ट पार्नु पर्ने देखिन्छ।

यसका लागि नेपाली कांग्रेसले अहिलेको निर्वाचन प्रणाली, कर्मचारी भर्नामा रहेको आरक्षण प्रणालीलाई अझ सुक्ष्म रुपमा बर्गिकरण गर्ने पद्दति बसाउनु पर्दछ।

जस्तो महिलालाई ५० प्रतिशत, दलित भित्रको कोटामा मधेसी दलितलाई जनसंख्याको आधारमा छुट्टै कोटा तोकेर बताउने, मधेसी भित्रको कोटामा समेत कुन कुन थरको समुदायलाई समताको सिद्धान्तका आधारमा बढी प्रतिशत दिनुपर्ने हो त्यसलाई पनि जनसख्याको आधारमा विभाजन गर्ने गरी नीति ल्याउने काम गर्नु पर्दछ।

कांग्रेसले शिक्षा र स्वास्थ्यलाई सरकारी करणगर्ने गरी नीति ल्याउनु पर्ने देखिन्छ। रोजगार सृजनाका लागि कांग्रेसले आफ्ना सक्रिय सदस्यहरुलाई अनिवार्य सामुहिक आर्थिक गतिविधिमा लाग्न नियम नै बनाउनु पर्दछ।

साथै समुदायमा आयआर्जन, स्वरोजगार, उद्यमी, व्यवसायी बनाउने र कृषिलाई व्यवसायीकरण गरेर अघि बढ्नका लागि नीति नै पारित गरेर अघि बढ्नु पर्ने देखिन्छ। अहिलेको अर्थमन्त्रीको बजेटले कांग्रेसलाई फाइदा गर्न सकेन।

अबका दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्तिमा केन्द्रित हुनेगरी नीतिमा परिवर्तन गर्नुपर्ने देखिन्छ। एक व्यक्ति एक सीप, सबै सीपका लागि रोजगारको अवसर हुने गरी नीति बनाउन सकियो भने र विदेशी विद्यार्थीहरु समेत नेपालमा पढ्न आउने गरी शिक्षा नीति बनाउने गरी अघि बढेको खण्डमा केही नयाँ रौनक आउन सक्दछ।

यसका लागि नेपाली कांग्रेसले गाउँका कांग्रेस समर्थक र आम मानिसहरुसंग छलफल र सम्वाद चलाउनु पर्दछ। हुनत नेपाली कांग्रेसले नीति महाधिवेशन अघि पार्टीको अभियान सञ्चालन गर्ने भएको छ।

यसको प्रारुप बनाउने काम कांग्रेसले केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाएको बैठकबाट गर्ला। तर ‘कस्तो प्रकृतिको अभियान गर्ने? कति अवधिको गर्ने? नारा के राख्ने कुराहरु शुरुमै तय गर्न सकियो भने कांग्रेसले नयाँ फड्को मार्न सक्दछ।

यसका लागि कांग्रेस एक भएर जान लागेको सन्देश तल्लो स्तरमा पनि दिनका लागि शेरबहादुर देउवा र डा. शेखर कोइराला एकै मञ्चमा देखिएर एकअर्काको सकारात्मक पक्षलाई प्रचार प्रसार गरेर शेरबहादुर देउवा एक पटकका लागि अन्तिम पटक प्रधानमन्त्री बन्ने र आगामी दिनमा डा. शेखर कोइरालालाई प्रधानमन्त्री बन्ने बाटो बनाइदिने गरी अघि बढ्नु पर्ने देखिन्छ।

गगन थापाले त कांग्रेसलाई भन्दा युवालाई र युवालाई भन्दा रबि लामिछानेको अभियानमा गोदी लिने बेर छैन। यसबाट सिंगो कांग्रेस होसियार हुनु पर्दछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *